शुभाकर विश्वकर्मा/हिटा
नेपालगञ्ज । बाँकेको बैजनाथ-४ का मानबहादुर सुनार ७३ वर्षको हुनुभयो । उहाँले १० वर्षको उमेरबाट आफ्नो पुख्र्यौली पेसा आरनको काम सुरु गर्नुभएको थियो । ६ दशक त उहाँले आरन पेसामै बिताइसक्नु भएको छ । निम्न वर्गीय शिल्पी समुदायमा जन्मिनुभएका उहाँले लामो समय पढ्न पाउनुभएन । आर्थिक कारण पढ्न छाड्नुभएका उहाँले आफ्ना पुर्खाको बिडो समात्नुभयो । उहाँले औपचारिक शिक्षा २ कक्षासम्म मात्रै अध्ययन गर्नु भएको छ ।
आरनका पारंगत उहाँ अहिले पनि रामायण, गीता खरर पढ्न सक्नुहुन्छ । दैलेखको खड्काबाडा भन्ने स्थानमा जन्मिनुभएका मानबहादुरको सिंगो समुदाय नै आरनबाट जीविकोपार्जन गर्दथ्यो । सानैमा विवाह गर्नुभएका उहाँले परिवारको खर्च टार्नकै लागि आरन पेसा राज्नुभएको थियो । कमाइ खान प्रशस्त जग्गा र जीविकोपार्जनको गतिलो स्रोत नभएका उहाँलाई आरन पेसा कहिल्यै मागिखान दिएन । उहाँले कर्म गर्दै जानुभयो । आरन विभिन्न प्रकारका अनाज (अन्न) दिइरह्यो । ‘दैलेखमा हुँदा जग्गा जमिन थिएन । आरनबाटै मनग्य आम्दानी हुन्थ्यो । आम्दानीको मुख्य स्रोत नै यहीँ थियो । यतिसम्म कि कहिलेकाहीँ घरमा अन्न राख्ने ठाउँ पनि हुन्थेन ।’ उहाँले भन्नुभयो ।
दैलेखमा आरनबाट राम्रै आम्दानी गरिरहनुभएका उहाँ २०३१ सालमा सपरिवार सुदूर तराई (कञ्चनपुर)तिर झर्नुभयो । श्रीमती र दुई छोरासहित कञ्चनपुरको तत्कालीन लक्ष्मीपुर गाविसमा उहाँले बसाइँ सर्नुभएको थियो । उहाँ भन्नुहुन्छ, ‘सन्तानका भाइ छोराहरू सबै यतै आएका थिए । मेरो ससुराली पनि यतै थियो । एक्लै बस्नुभन्दा यतै केही गरौँला भन्ने सोचले तराईं झरेको हो ।’
कर्णालीबाट सुदूरपश्चिम भारतीय सीमा क्षेत्रमा बसाइँ सरेर मानबहादुरले यही पुख्र्यौली पेसालाई निरन्तरता दिनुभयो । दैलेखमा हुँदा फलामका औजार बनाउनमा उहाँ निपूर्ण भइसक्नुभएको थियो । कञ्चरपुरमा समेत उहाँ बस्तीमा प्रसिद्धि कमाउँदै जानुभयो ।
आफ्नो आरनमा भारतीयहरू समेत फलामे औजार बनाउनको लागि आउने गरेको उहाँ बताउनुहुन्छ । हाल कञ्चनपुरको बेलौरी नगरपालिकाको फटियाँ बस्ती भारतसँगको सीमा जोडिएको दशगजा क्षेत्रको बस्ती हो । त्यहाँ अक्सर नेपालीहरू किनमेलको लागि भारतीय बजार बसाइँ जाने गर्दछन् । त्यहाँ पनि फलामे औजार बनाएको पहिला अन्न नै दिन्थे । पछिपछि भने पैसा दिन थाले । आरनको कमाइबाटै उहाँले पाँच छोराछोरीलाई हुर्काउनुभयो, बढाउनुभयो । उहाँका एक छोरी र चार छोरा छन् । जेठो छोरा नगरपालिकाको गाडी चलाउँछन् । दुई छोरा भारतमा मजदुरी गर्छन् । कान्छो छोरा भने १० वर्षदेखि साउदीमा छन् । उहाँकी श्रीमतीको आठ वर्षअघि निधन भइसकेको छ ।
हाल कान्छा छोरा बुहारीसँग उहाँ बस्दै आउनुभएको छ । वैदेशिक रोजगारीमा गएका कान्छा छोराले बैजनाथ-४ तिलकपुरमा घर बनाएका छन् । दुई महिनाअघि कञ्चरपुरबाट बाँकेमा आउनुभएका उहाँले यहाँ पनि आरन पेसालाई छाड्नुभएको छैन । ७४ वर्ष लाग्दै गर्नुभएका उहाँ बिहान ५ बजे नै उठेर आफ्नो काममा लाग्नुहुन्छ । ‘खाली बस्नै सक्दिनँ । काम गरिरहनुपर्छ’, उहाँले भन्नुभयो, ‘तर अहिले त मनले काम गर्न सक्छु भन्ने आँट गरे पनि बल गर्न सक्दिनँ । फलाम धेरै पिट्दा खोकी लाग्छ, पसिना आउँछ । थकान धेरै लाग्छ ।’ श्रीमतीको मृत्युपछि रक्सीको नशामा फस्नुभएका उहाँ एकमुठी सास रहुञ्जेलसम्म आरनमै रमाउन चाहने बताउनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच