अमेरिकी उपमन्त्री उज्रा जिया नेपालमा

Read Time = 6 mins

काठमाडौं । अमेरिकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार उपमन्त्री तथा तिब्बती मुद्दाका लागि अमेरिकी विदेश संयोजक उज्रा जिया नेपाल भ्रमणमा आउनुभएको छ । उहाँ शुक्रबार नेपाल आउनुभएको हो । परराष्ट्र मन्त्रालयका अनुसार अमेरिकी विदेश उपमन्त्रीको यो भ्रमण अमेरिकी अधिकारीहरूको एक दशकपछिकै उच्चस्तरीय भ्रमण हो ।

विदेश उपमन्त्री जिया भारतको नयाँ दिल्ली हुँदै नेपाल आउनुभएको हो । जिया भारतको तीन दिने भ्रमण पूरा गरी नेपाल आउनुभएको थियो । उपमन्त्री जियासँगै अमेरिकी सहयोग नियोग युएसएआइडीकी एसियालका लागि उपसहायक प्रशासक अञ्जली कौर पनि भ्रमणको प्रतिनिधिमण्डलमा आउने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालका अनुसार तीन दिने नेपाल भ्रमणमा आउनुभएकी अमेरिकी विदेश उपमन्त्री जियाले प्रधानमन्त्री, परराष्ट्रमन्त्री लगायतका उच्च पदस्थ व्यक्तित्वहरूसँग भेट गर्ने कार्यतालिका रहेको छ । भेटमा द्विपक्षीय सम्बन्धका विभिन्न आयाममा कुराकानी हुने प्रवक्ता लम्सालले बताउनुभयो ।

नेपाल–अमेरिका कूटनीतिक सम्बन्धको ७५ वर्ष पुगेको अवसरमा अमेरिकाबाट नेपालमा अर्को एक माथिल्लो तहको भ्रमण भएको छ । नेपालले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) अनुमोदन गरेसँगै नेपाल-अमेरिका कूटनीतिक सम्बन्धको ७५औँ वर्षगाँठ मनाउन जुटेका छन् । लगत्तै अमेरिकाबाट एकपछि अर्को भ्रमण हुन थालेका छन् ।

यसअघि वैशाखको ९ देखि ११ सम्म सिनेटर क्रिष्टन जिलिब्राण्डको नेतृत्वमा पाँच सदस्यीय सांसदहरूको टोलीले नेपालको भ्रमण गरेको थियो । वैशाख ६ देखि ८ सम्म दक्षिण तथा मध्य एसिया मामिला हेर्ने उपसहायक विदेशमन्त्री केली केइडरलिङले नेपालको भ्रमण गर्नुभएको थियो । त्यसअघि नेपालले फागुन १५ मा एमसिसी अनुमोदन गर्नुअघि दक्षिण तथा मध्य एसिया मामिला हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लुले नेपालको भ्रमण गर्नुभएको थियो । नेपाल–अमेरिकाको सन् १९४७ अप्रिल २५ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।

दलाई लामालाई भेटेर काठमाडौंमा
भारतमा रहँदा अमेरिकी उपविदेशमन्त्री जियाले भारतमा निर्वासित जीवन बिताउँदै आउनुभएका तिब्बती धर्म गुरु दलाई लामासँग भेट गर्नुभएको थियो । बिहीबार भएको भेटवार्ताकोे सार्वजनिक भिडिओमा उहाँले ‘विश्व शान्तिका लागि लामाले खेलेको भूमिकाको प्रशंसा’ गर्नुभएको थियो । यस्तै, उहाँले लामाको सुस्वास्थ्यको पनि कामना गर्नुभएको थियो ।

चीन तथा दलाई लामा वा उहाँका प्रतिनिधिबीच निःशर्त संवादलाई प्रोत्साहन गर्ने जिम्मेवारीसमेत पाउनुभएकी उपविदेशमन्त्री जिया भारतमा रहँदा हिमाचल प्रदेशको धर्मशालामा निर्वासित जीवन बिताउँदै आउनुभएका तिब्बती धर्म गुरु दलाई लामालाई भेट्नुभएको थियो । जिया र दलाई लामाको भेट बाइडेन राष्ट्रपतिमा नियुक्त भएयता तिब्बत हेर्ने वरिष्ठ अमेरिकी उच्च अधिकारी पहिलोपटक प्रत्यक्ष भेट हो । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनले जियालाई गत डिसेम्बर २० मा तिब्बती मामिला हेर्ने विशेष संयोजक नियुक्त गर्नुभएको थियो ।

यता, अमेरिकी उपविदेशमन्त्रीले दलाई लामासँग भेटेको समाचार सार्वजनिक भएपछि चीनले आपत्ति जनाएको छ । चिनियाँ विदेश मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता चाओ लिच्यानले भन्नुभएको छ, ‘तथाकथित ‘निर्वासित तिब्बती सरकार’ एक बाहिर र बाहिर पृथकतावादी राजनीतिक समूह हो र चीनको संविधान र कानुनको पूर्णरूपमा उल्लंघन गर्ने एक अवैध संगठन हो । यो संसारको कुनै पनि देशद्वारा मान्यता प्राप्त छैन ।’ दलाई लामाले धर्मको आवरणमा राजनीतिक गतिविधि गरिरहेको समेत प्रवक्ता लिच्यानले बताउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?