विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता माथिको छलफल, उत्पादनमा जोड दिन सांसदहरूको सुझाव

Read Time = 11 mins

डिबी शर्मा/हिटा
काठमाडौं । प्रतिनिधिसभामा आर्थिक वर्ष २०७९/८० को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता माथिको छलफल चलिरहेको छ । विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि बुधबारदेखि प्रतिनिधिसभामा छलफल सुरु भएको हो । मंगलबारबाट सुरु भएको संसद्को ११औँ अधिवेशनअन्तर्गत प्रतिनिधिसभाको पहिलो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल गरियोस् भनी प्रस्ताव पेस गर्नुभएको थियो । प्रस्तावमाथि बुधबार, बिहीबार र शुक्रबार पनि छलफल भएको छ । सांसदहरूले आ-आफ्नो धारणा राखिरहेका छन् । छलफलका क्रममा सांसदहरूले विभिन्न सुझाव दिएका छन् । उनीहरूले विदेशी मुद्रा सञ्चिति घटेको भन्दै आन्तरिक उत्पादनमा जोड दिएका छन् । कृषि उत्पादनमा जोड दिएर बजेट ल्याउनसमेत सांसदहरूको सुझाव छ ।

सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम यही जेठ १० गते मंगलबार प्रस्तुत हुने भएको छ । जेठ १० गते दिउँसो ४ बजे बस्ने संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट नीति तथा कार्यक्रम प्रस्तुत हुनेछ । शुक्रबारको प्रतिनिधिसभा बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउँदै सभामुख अग्निप्रसाद सापकोटाले जेठ १० गते नीति तथा कार्यक्रम प्रस्तुत हुने जानकारी गराउनुभएको हो । राष्ट्रपति भण्डारीले सम्बोधन गर्नुहुने बैठकमा उपस्थितिका लागि प्रतिनिधिसभाका सम्पूर्ण सदस्यलाई सभामुख सापकोटाले आ≈वान गर्नुभएको छ । सभामुख सापकोटाले बैठक सुरु हुनुभन्दा १५ मिनेट अगाडि उपस्थित हुन सबै सदस्यलाई अनुरोधसमेत गर्नुभयो । नीति तथा कार्यक्रम प्रस्तुतपछि त्यसैको आधारमा सरकारले जेठ १५ गते अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्नुहुनेछ । १५ जेठमा आगामी आर्थिक वर्षको आयव्यय (बजेट) प्रस्तुत गर्नुपर्ने संवैधानिक बाध्यता छ ।

विदेशी मुद्रा सञ्चितिमा समस्या : पुन
नेकपा (माओवादी केन्द्र)का सांसद वर्षमान पुनले शिक्षाका लागि देशबाहिर पुग्ने रकम रोक्नलाई देशमै गुणस्तरीय शिक्षा दिनुपर्ने बताउनुभएको छ । शुक्रबार विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफलमा भाग लिँदै सांसद पुनले विदेश पढ्न जानेले पैसा लिएर जाँदा विदेशी मुद्रा सञ्चितिमा समस्या भएको बताउनुभयो । उहाँले विश्वविद्यालय शिक्षालाई गुणस्तरीय बनाउनुपर्नेमा जोड दिनुभयो । ‘शिक्षामा विदेश गएको रकम गत वर्ष २१ अर्ब रहेछ । यो वर्ष त्यो बढेर २४ अर्ब पुगेको छ,’ उहाँले भन्नुभयो, ‘विदेशी मुद्राको सञ्चितिमा अलिकति समस्या त्यसले पनि पारेको छ । माध्यमिक तहमा शिक्षा गुणस्तरीय भयो र विश्वविद्यालय स्तरको शिक्षालाई गुणस्तरीय बनाउनेबित्तिकै हाम्रो शिक्षाको गुणस्तर बढ्छ । विदेशी मुद्राको सञ्चितिलगायत धेरै कुरा एकैसाथ सुधार गर्छ ।’

नेपाल मान्छे बेच्ने र मालसामान किन्ने देश भएको छ : थापा
नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले नेपाल मान्छे बेच्ने र मालसामान किन्ने देश भएको टिप्पणी गर्नुभयो । उहाँले कृषिप्रधान देश भएर कृषि उत्पादन आयात गर्नुपरेको उल्लेख गर्दै आयातलाई घटाउनुपर्ने बताउनुभयो । ‘हामीले लगाउने लत्ता कपडादेखि भान्सामा चाहिने सबैकुरा हामी किन्छौँ । किन्नका लागि हाम्रा केटाकेटी बहिर पठाउँछौँ । नेपाल वास्तवमा मान्छे बेच्ने, मालसामान किन्ने देश भएको छ,’ उहाँले भन्नुभयो, ‘हाम्रो भान्सामा पाक्ने सबै कुरा विदेशबाट आएर साँझ हामी कृषिप्रधान देश भनेर बस्ने हाम्रो अवस्था छ ।’ उहाँले नेपाली उद्योग प्रवद्र्धन गर्ने गरी बजेटको व्यवस्था गर्न अर्थमन्त्रीलाई आग्रहसमेत गर्नुभयो ।
थापाले आगामी बजेटबाट एक दशकलाई राष्ट्रिय उत्पादन दशक घोषणा गर्न सरकारसँग प्रस्ताव गर्नुभयो । अब केही निर्वाचन क्षेत्रमा बजेट केन्द्रित गर्ने र लोकप्रिय नारामा मात्र सीमित नराखी प्रवृत्ति बुझेर तत्काल र दीर्घकालीन रूपमा गर्नु कामको सुरुवात गर्न उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो ।

पश्चिमा मुलुकहरूको मोडेलबाट मुलुकको आर्थिक क्षेत्रको विकास हुन सक्दैन : खनाल
नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले पश्चिमा मुलुकहरूको मोडेलबाट मुलुकको आर्थिक क्षेत्रको विकास हुन नसक्ने बताउनुभएको छ । सरकारको आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटबारे शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता खनालले आफ्नै मुलुकको आर्थिक स्थितिमा आधारित रहेर मुलुकको आर्थिक विकास गर्ने गरी आगामी आर्थिक वर्षको बजेट ल्याउन जरुरी रहेको बताउनुभयो ।

‘पश्चिमाहरूले आफ्नो मोडेल सिकाउने गरेका छन् । ती मोडेलहरू हाम्रो देशका लागि काम लाग्ने छैनन्,’ उहाँले भन्नुभयो, ‘काम लाग्ने कुराहरू मात्रै हामीले सिक्नुपर्दछ । हाम्रो दशको आर्थिक स्थितिमा आधारित मोडेल विकास गरेर मात्रै मुलुकको आर्थिक अवस्थालाई सुदृढ बनाउन सकिन्छ ।’ नेता खनालले मुलुकको आर्थिक विकासका लागि शिक्षा र स्वास्थ्य क्षेत्रको गुणस्तर विकासमा पनि जोड दिनुपर्ने आवश्यक्ता औँल्याउनुभयो ।

अर्थतन्त्रमा तस्करीतन्त्र बढ्यो : गौतम
प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का सांसद राजेन्द्रप्रसाद गौतमले अर्थमन्त्रीले प्रस्तुत गर्नुभएको विनियोजन विधेयकको सिद्धान्त स्पष्ट नभएको बताउनुभयो । अर्थतन्त्रमा तस्करीतन्त्र बढेको र पुँजी पलायन भइरहेको उहाँले उल्लेख गर्नुभयो । ‘यो विनियोजन विधेयकको सिद्धान्त पनि स्पष्ट छैन । बाटो पनि स्पष्ट छैन,’ उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीजीको बजेट सिद्धान्त, नीति, कार्यक्रम र अर्थमन्त्रीजीको बजेट सिद्धान्त, नीतिमा नै आधारभूत रूपमा मत भिन्नता, विपरीत सिद्धान्तको जगमा उभिएको छ ।’ उहाँले सरकारले आयात प्रतिस्थापन गर्न नसकेको बताउनुभयो ।

आगामी बजेटले कृषि क्षेत्रलाई प्राथमिकता दिन्छौँ : अर्थमन्त्री शर्मा
अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेटले कृषि क्षेत्रलाई प्राथमिकता दिने बताउनुभएको छ । आगामी बजेटको सिद्धान्त र प्राथमिकतासम्बन्धी संसद्मा भएको छलफलमा उठेको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री शर्माले कृषि क्षेत्रले नै राष्ट्रलाई आत्मनिर्भर गराउन सक्ने धारणा राख्नुभयो । कृषि क्षेत्रलाई प्राथमिकता दिँदा त्यसले गरिबी निवारण गर्ने, रोजगारी सिर्जना गर्ने र आयात प्रतिस्थापन गर्ने बताउनुभयो । मन्त्री शर्माले सांसद विकास कोषको नामले चिनिने स्थानीय विकास साझेदारी कार्यक्रमलाई थप व्यवस्थित गर्दै निरन्तरता दिने पनि बताउनुभयो । अर्थमन्त्री शर्माले कोरोना कहर, बेमौसमी वर्षा र रुस तथा युक्रेनको संघर्षका कारण मूल्य शृंखलामा परेको प्रभावका कारण मुलुकका आर्थिक चाप र दबाब परेको भए पनि त्यसलाई सामान्यीकरण गरेर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । अर्थतन्त्र समस्यामा पर्‍यो भनेर त्यसलाई राजनीतिकरण गर्नुभन्दा पनि समाधानका लागि पहल गर्नुपर्ने उहाँको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?