अनिल क्षेत्री/हिटा
काठमाडौं । बुधबार एक युवतीले आफूमाथि बलात्कार भएको घटना सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको विषयले संसद्मा प्रवेश पाएको छ । आठ वर्षअघि अर्थात् २०७१ सालमा ‘मिस ग्लोबल’ नामक एक सुन्दरी प्रतियोगितामा आफू आयोजकबाट बलात्कारमा परेको भन्दै बुधबार सोही प्रतियोगिताकी एक प्रतिस्पर्धीले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको विषयले संसद्मा प्रवेश पाएको हो ।
संघीय संसद् प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद गगन थापाले सार्वजनिक उक्त घटनामा संलग्न पीडकलाई कारबाही गर्न सरकार र संसद्को ध्यानाकर्षण गराउनुभयो । सांसद थापाको ध्यानाकर्षणपछि सभामुख अग्निप्रसाद सापकोटाले सार्वजनिक भएको बलात्कारको घटनाको छानबिन गरी पीडकलाई कानुनी दायरामा ल्याउन सरकारलाई निर्देशन दिनुभएको छ ।
सांसद थापाको ध्यानाकर्षणपछि सभामुख सापकोटाले सांसद थापाको कुराप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै उक्त घटनाको सम्बन्धमा शीघ्र छानबिन गरी सत्यतथ्य पहिचान गर्न र दोषीलाई कानुनी दायरामा ल्याउन सरकारलाई निर्देशन दिनुभएको हो । पीडकलाई कानुनी कारबाहीको दायरामा ल्याउन सरकारलाई निर्देशन दिँदै सभामुख सापकोटाले भन्नुभयो, ‘माननीय सदस्यहरू, माननीय सदस्यले आफ्नो भनाइ राख्दै गर्दा प्रारम्भमा प्रस्तुत गर्नुभएको यौन हिंसासम्बन्धी विषयमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ । सो सम्बन्धमा शीघ्र छानबिन गरी सत्यतथ्य पहिचान गर्न र दोषीलाई कानुनी दायरामा शीघ्र ल्याउन नेपाल सरकारलाई निर्देश गर्दछु ।’
सामाजिक सञ्जालमा एक युवतीले आठ वर्ष अगाडि बलात्कृत भएको घटना सार्वजनिक गरेको उल्लेख गर्दै अभियोग लागेको व्यक्तिलाई अनुसन्धानको दायरामा ल्याउन सरकारसमक्ष माग गर्नुका साथै बैठकमा सांसद थापाले बलात्कारको घटनाको हदम्यादको सम्बन्धमा पनि पुनर्विचार गर्नुपर्नेमा जोड दिनुभयो । सांसद थापाले बैठकमा भन्नुभयो, ‘सम्माननीय सभामुख महोदय, हिजो साँझ घर जाँदाखेरि श्रीमती र दुईवटा साना–साना छोरीहरू सामाजिक सञ्जालमा आएको एउटा नौजवान युवतीको भिडियो, जसमा आठ वर्षअगाडि आफूलाई बलात्कार गरेको घटना बताइरहेकी थिइन् । त्यो हेरिरहेको, त्यसको प्रतिक्रिया उनीहरूको अनुहारमा परेको, मेरो छोरी डराएको म त्यो क्षण अहिले सम्झिरहेको छु । त्यसैले म यो विषयमा प्रवेश गर्नुभन्दा पहिला सम्माननीय सभामुखमार्फत् नेपाल सरकारलाई यत्रो विषय सार्वजनिक भइसकेपछि जसलाई अभियोग लागेको छ, तत्कालै अनुसन्धानको दायरामा ल्याउनको निम्ति हार्दिक आग्रह गर्न चाहन्छु । यही संसद्बाट बनाएको बलात्कारसम्बन्धी कानुन हाम्रो फौजदारी संहिताको खासगरी हदम्यादसम्बन्धी विषयको सम्बन्धमा पुनर्विचार गर्न पनि सरकारलाई निर्देशन दिनका लागि सम्माननीय सभामुखसमक्ष हार्दिक अनुरोध गर्न चाहन्छु ।’
के हो घटना ?
सामाजिक सञ्जालमा पीडित युवतीले अपलोड गरेको भिडियोअनुसार २०७१ सालमा भएको मिस ग्लोबल इन्टरनेसनल नामक ब्युटी प्याजेन्टका क्रममा होटेलमा आफूमाथि बलात्कार भएको बताएकी छन् । भिडियोमा भनेअनुसार पाण्डे थरका युवकले ब्युटी प्याजेन्टमा सहभागी उनलाई सक्सेस पार्टी भनेर एभरेष्ट होटेलमा बोलाएका थिए । त्यसपछि पेय पदार्थमा नशालु पदार्थ राखेर बेहोस बनाई करणी गरेको उनको आरोप छ । ती युवतीले भिडियोमा भनेकी छन्, ‘मिस ग्लोबल इन्टरनेसनल’ प्रतियोगितामा फस्र्ट रनर–अप’ को विजेता बनेको र त्यसपछि प्रतियोगिताको आयोजकले फोन गरेर नयाँ बानेश्वरको एभरेष्ट होटलमा ‘सक्सेस पार्टी’ हुन लागेको भनेर बोलाए । त्यहाँ जाँदा अरू सहभागी पनि देखिएन । आयोजकले अरू पछि आउँछन् भन्दै फकायो, पेय पदार्थ दियो । केही समयपछि आफूलाई चक्कर आएर असहज भएपछि मैले घर जान चाहन्छु भनेकी थिएँ तर उसले तिमी विजेता भएर यस्तो भन्ने भन्दै बस्न दबाब दियो । अरू सहभागी आएपछि बोलाउने भन्दै आयोजकले केहीबेर आराम गर्न कोठामा पठायो तर त्यसपछि बेलाबेलामा होस खुल्दा आफूमाथि बलात्कार भइरहेको थाहा पाएँ प्रतिकार गर्न सकिनँ ।’
उनले भिडियोमा भोलिपल्ट बिहान होस खुल्दा आयोजक आफूसितै निर्वस्त्र सुतिरहेको थाहा पाएको र आफू चिच्याएर रुन थालेपछि पैसा देखाएर फकाउन खोजेको साथै भिडियो तथा फोटो खिचिसकेको भन्दै धम्क्याएको बताएकी छन् । ‘नग्न तस्बिर र भिडियोहरू लिएको छु, सार्वजनिक गरिदिन्छु भन्दै ब्ल्याकमेल गरेर ६ महिनासम्म यौन शोषण गरिरह्यो ।’ सार्वजनिक सञ्जालमार्फत भिडियोमा उनले भनेकी छन् । उनले २० वटा भिडियो सार्वजनिक गर्दै यस विषयमा पूर्व-मिस नेपाल माल्भिका सुब्बालाई पनि घटनाका विषयमा आफूले जानकारी गराउँदा उनीबाट कुनै सहयोग पाउन नसकेको आरोप लगाएकी छन् ।
के गर्दै छ प्रहरी ?
युवतीले सामाजिक सञ्जालमार्फत बलात्कृत भएको घटना सार्वजनिक गरेपछि पीडकलाई कारबाही गर्न संसद्, सडक र सामाजिक सञ्जालमा माग उठिरहेको छ । चौतर्फी दबाबपछि प्रहरीले यस घटना अनुसन्धान सुरु गरिसकेको जनाएको छ । प्रहरीले बिहीबार नै कानुन व्यवसायीसँग परामर्शसमेत लिएको छ । त्यस्तै, महानगरीय अपराध महाशाखाको टोलीले घटना आरोपी भनिएका ग्लोबल इन्टरनेसनल नामक ब्युटी प्याजेन्टका आयोजकलाई निगरानीमा राखेको जनाएको छ । आयोजक प्रहरीको निगरानीमा भए पनि कानुनमा भएको हदम्यादको व्यवस्थाका कारण प्रहरीले पीडक भनिएका व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्न सकिरहेको छैन । मुलुकी ऐनमा बलात्कारविरुद्ध उजुरी गर्न एक वर्षे हदम्याद तोकेको छ । प्रचलित कानुनले बन्धक बनाएर बलात्कार गरे पनि, बन्धकमुक्त भएको एक वर्षभित्रमा कानुनी उपचारमा पुग्नुपर्छ । मुलुकी अपराधसंहिता २०७४ मा बालबालिकासम्बन्धी ऐनले हदम्याद तोकिदिएको छ ।
नाबालिगका हकमा बालिग भएको एक वर्ष हदम्याद तोकिदिएको छ । उनी घटना हुँदा १६ वर्ष भएकाले त्यतिखेरको कानुनअनुसार उनी नबालिग नै थिइन् । तर, अहिले उनको उमेर २४ वर्ष पुगेको छ । अर्थात् हदम्यादसमेत नाघिसकेको छ । नेपाल प्रहरीका प्रवक्ता एसएसपी विष्णुकुमार केसीले यस घटनाका विषयमा कानुनी र प्राविधिक पक्षका बारेमा छलफल गरेर अगाडि बढिसकेको जानकारी दिँदै हिमालय टाइम्सलाई भन्नुभयो, ‘यो विषयमा अनुसन्धान भइरहेको छ । भिडियो बाहिर आएको रहेछ, हामी पनि हेर्दै छौँ, बुझ्ने काम भइरहेको छ ।’ जबरजस्ती करणीको केसमा हदम्यादको व्यवस्थाप्रति सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ ।
एसएसपी नेतृत्वमा छानविन समिति गठन
घटनाको छानविनका लागि समिति गठन भएको छ । गृह मन्त्रालयले छानविन समिति गठन गर्न निर्देशन दिएपछि प्रहरी प्रधान कार्यालय, नक्सालले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्तबहादुर कुँवरको नेतृत्वमा समिति बनाएको हो । समितिमा एसपी कृष्ण कोइराला, डीएसपी कोपिला चुडाल, हरि बस्नेत र इन्स्पेक्टर सपना खड्का सदस्य रहनुभएको छ ।
एसएसपी कुँवर नेतृत्वको समितिका सदस्य एसपी कोइराला नेतृत्वको टोलीले शुक्रबार पीडितको घरमा पुगेर भेट गरेको छ । काउन्सिलरसहितको टोलीले उनीसँग कुराकानी गरेको हो । कुँवर भन्नुहुन्छ, ‘सामान्य कुराकानी गर्ने काम भयो, कानूनी परामर्श लिएर अघि बढ्छौं ।’
के भन्छ कानुन ?
यौन दुव्र्यवहारको घटनालाई लिएर अधिवक्ता रुद्र शर्मा हदम्यादको कुरा उठाएर पीडकले उन्मुक्ति पाउन सक्ने बताउनुहुन्छ । हदम्याद भएन भने न्याय प्रशासन हुन गाह्रो हुन्छ । हदम्याद राखियो भने गल्ती गर्ने मान्छेलाई उन्मुक्ति जस्तो भयो, यो दुई कुरा उजागर भएको छ, उहाँले हिमालय टाइम्ससँग कुरा गर्दै भन्नुभयो । घटना भएको भए जति पुरानो भए पनि पीडकलाई कारबाही हुने भन्दै उहाँ भन्नुहुन्छ, ‘यौन दुव्र्यवहार भएपछि कानुनले कारबाही गर्छ, यो घटना आठ वर्ष भइसक्दा गाह्रो छ । घटना भएपछि अदालतमा हदम्यादमा पुग्नुपर्ने हुन्छ । नत्र न्याय पाइँदैन, भन्ने कानुनको अभ्यास हो । कानुनमा हदम्याद हुनु हुँदैन भन्ने सुनियो । हदम्याद अनन्त कालसम्म रह्यो भने न्याय निरूपण कसरी गर्ने भन्ने प्रश्न आउँछ । यो प्रश्न समाजमा आए राज्यले, समाजले र प्रशासनले जवाफ खोज्दै जाने अवस्था छ ।
प्रधानमन्त्री निवास अगाडि प्रदर्शन
बलात्कारका घटनामा संलग्नलाई कारबाही र पीडितलाई न्याय दिन माग गर्दै काठमाडौंमा प्रदर्शन गरिएको छ । शुक्रबार बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासनजिकै स्वस्फूर्त प्रदर्शनमा उत्रिएका युवायुवतीले बलात्कार र यौनजन्य हिंसासम्बन्धी कानुनमा हदम्यादको व्यवस्था हटाउन र दोषीलाई कारबाही गर्न माग गरेका छन् । प्रदर्शनमा सहभागीहरूले यौन हिंसामा परेकी किशोरीलाई न्याय दिलाउने पहलकदमी लिन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् । उनीहरूले मुलुकी अपराधसंहिता २०७४ मा बालबालिकासम्बन्धी ऐनले तोकेको हदम्यादको व्यवस्था हटाउन जोडदार माग गरेका हुन् ।