ग्रहशान्तिका अनेक उपाय

Read Time = 16 mins

✍️ डा. नारायणप्रसाद निरौला
ज्योतिष शास्त्रअनुसार हरेक व्यक्तिमा कुनै न कुनै ग्रह चलिरहेको हुन्छ । सोही ग्रहका आधारमा शुभाशुभ फल पनि प्राप्त भइरहेको हुन्छ । आकाशीय ग्रहहरूको पृथ्वीवासीमा पर्ने प्रभाव नै ग्रहजन्य प्रभाव हो । शुभ ग्रहले शुभ फल दिन्छन्, उन्नति प्रगति गराउँछन् भने अशुभ ग्रह चलेको समयमा दुःख कष्ट भोग्नुपर्ने कुरा ज्योतिषशास्त्रमा बताइएको छ । ग्रहजन्य प्रभाव व्यक्तिअनुसार भिन्न भिन्न हुन्छन् । जन्म समयका आधारमा कुन र कस्तो ग्रह चलिरहेको छ भन्ने कुरा पनि उक्त शास्त्रले नै निर्धारण गर्दछ । आकाशीय ग्रहको प्रभाव सूक्ष्म रूपमा हामीमा परिरहेको हुन्छ । जसरी सूर्यबाट न्यानोपन, चन्द्रमाबाट शीतलता, मंगलबाट साहसिक ऊर्जा नित्य प्राप्त हुने गर्दछ ।

ग्रहको शुभ प्रभाव हामीमा रहेको अवस्थामा ग्रहशान्ति आवश्यक हुँदैन तर खरब ग्रह चलेको, ग्रहजन्य कारणबाट जीवन असहज भएको खण्डमा भने ग्रहशान्ति गर्नपर्दछ । जसबाट उक्त विकृत ग्रहको प्रभव प्रतिरोधक क्षमता हामीमा प्राप्त हुन्छ । यसका साथै जीवनमा सुख, शान्ति र समृद्धि पनि प्राप्त हुने गर्दछ । ग्रहशान्तिका पनि अनेक उपाय छन् । जुन ग्रहअनुसार ग्रहको प्रकृति एवं प्रभावका आधारमा भिन्न भिन्न तरिकाले ग्रहजन्य दुष्प्रभावबाट मुक्त हुन सकिन्छ ।

ज्योतिष शास्त्रमा सामान्यतः सूर्य, मंगल, शनि, राहु र केतुलाई अशुभ ग्रह मानिएको छ । उक्त ग्रह चलिरहेको अवस्थामा सामान्यतः अशुभ फल दिइरहेका हुन्छन्, शुभ ग्रह पनि अस्त, नीच एवं निर्बल रहेका अवस्थमा शुभ फल प्रदान गर्न सक्दैनन् । यसैले प्रतिकूल ग्रहजन्य प्रभावबाट मुक्तिका निम्ति ग्रहशान्ति गरिन्छ । सामान्यतः ग्रहशान्ति गर्दा जप, हवन, तर्पण-मार्जन, औषधि, स्नान, ब्राहृमण भोजन आदि उपाय शास्त्रमा वर्णन पाइन्छन् ।

शान्ति गर्दा सूर्यादि ग्रहको जप, जपको दशांश हवन, हवनको दशांश तर्पण, तर्पणको दशांश मार्जन र मार्जनको दशांश ब्रहृमण भोजन गराउनु पर्छ । ग्रहजन्य वस्तुको दान गरेर पनि तद्जन्य प्रभाव कम गर्न सकिन्छ । यसैगरी औँठी, रत्नधारण, धातु धारणगरेर पनि ग्रहजन्य दोष निवारण गर्न सकिन्छ ।

सूर्य शान्ति गर्ने उपाय :
सूर्य सामन्यतः पाप ग्रह हुन् । सूर्य प्रतिकूल भई अशुभ फल प्रदान गरेको समयमा सूर्यको शान्ति आवश्यक हुन्छ । माणिक्य (रातो) अथवा तामा ३ वा ५ रत्तिको सुन वा तामाको औँठी धारण गरेर सूर्य शान्ति गर्न सकिन्छ । यसैगरी सूर्य शन्तिका लागि ‘ॐ ह्रीं घृणि सूर्याय नमः’ अथवा ‘ॐ आकृष्णेनरजसा....’ मन्त्र जप गर्नाले पनि सूर्य जन्य दोष निवारण गर्न सकिन्छ ।

यसैगरी हरिको पूजा वा हरिवंश पुराण पाठ गरेर, आइतबारको व्रत बसेर, तामालाई दुई टुक्रा गरी एक टुक्रा बगेको पानीमा बगाएर र आर्को आजीवन साथै राखेर, घरको मुख्यद्वार पूर्वतर्फ पारेर, शिवजीको उपासना गरेर, रातो फूल, केशर, देवदारुको पत्ता, इलाइचिका साथ स्नान गरेर वागहुँ, गुड, मुसुरो, रातो वस्त्र, सुन, गाई, माणिकवस्तु दान गरेर, वाल्मीकि रामायणको आदित्य हृदयस्तोत्र नियमित पाठ गरेर, श्रीसूक्त नियमित पाठ गरेर वा गायत्रीको उपासना, पूजा अर्चना गरेर, सूर्य सूक्त पाठ गरेर पनि सूर्यको शान्ति गर्न सकिन्छ ।

चन्द्रमा शान्ति गर्ने उपाय :
सामान्यतः चन्द्रमा शुभ ग्रह हुन् । कृष्णपक्षको सार्ध सप्तमीदेखि शुक्लपक्षको सार्ध सप्तमीसम्म चन्द्रमा पाप फल प्रदान गर्ने हुन्छन् । चन्द्रजन्या दोषको निवारण मान्यजनको चरण छोएर, आशीर्वाद लिएर, दुध वा पानीले भरिएको भाँडो सिरानीको नजिकमा राखेर सुत्ने र बिहान किंकरको फेदमा जल चढाएर, शिवको उपासना गरेर, सोमबारको व्रत बसेर, चामल, दूध, एवं चाँदीको दान गरेर, मोती वा चाँदीको लकेट लगाएर, पूर्णिमामा गंगा स्नान गरेर, चाँदीका दुई टुक्रा गरी एउट पानीमा बगाउने र अर्को सधैं आफ्नो साथ राखेर, नियमित ७, ११ वा २१ दिन पञ्चगव्य, शंख, चन्दन, चाँदीको टुक्रा, मोती, कमलको फूलका साथ स्नान गरेर, प्रतिदिन बगेको पानीमा स्नान गर्नाले पनि चन्द्रजन्य दोष निवारण हुन्छ ।

यसैगरी सेतो रङका वस्तु दान गर्नाले, बाँसका सामग्री दान गर्नाले, ललित सहस्रनाम पाठ गरेर, पञ्चधातुको शिवलिंग बनाई यथायोग्य पूजा अर्चना गर्नाले, पञ्चमुखी रुद्राक्षको नियमित पूजा गरी श्रीसूत्तका १५ मन्त्र जप गर्नाले घ्यू, सुन, दही, जनै, सेतो चामर (चमर), कपुर, दही, चामल, शंख, श्रीखण्ड, सेतो कपडा, वंशपात्र (बाँसको भाँडा), मोती दान गर्नाले अथवा ‘ॐ सों सोमाय नमः ।’ ‘ॐ श्रां श्रीं श्रीं एः चन्द्रमसे नमः’ वा ‘ॐ इमन्देवा...’ भन्ने वैदिक मन्त्र दस हजार जप गर्नले अथवा सोमसूक्त पाठ गरेर पनि चन्द्रजन्य दोष निवारण गर्न सकिन्छ ।

मंगलशान्तिका उपाय :
मंगल समान्यतः पाप ग्रह हो । मंगलको ग्रहजन्य दोष निवारण तामो वा मुगाको औँठी ८ रत्तिको साहिली औंलामा धारण गरेर, गायत्रीमन्त्रको जाप गर्नाले, हनुमानको उपासना गर्नाले, मसुरो, मिठाई, अथवा मीठो भोजन दान गरेर, दाजुको सेवा गरेर, मंगलबारको व्रत गरेर, मंगलबार नदीमा स्नान गरेर, तामाका भाँडावर्तन प्रयोग गरेर वा तामाको औँठी धारण गरेर, तामाको भाँडामा राखेको जल बिहान सर्वप्रथम पिउनाले, गणेशजीको ध्यान उपासा गरेर, मुगा (रातो) ८ रत्तिको सुनको औँठीमा धारण गरेर, ‘ॐ अं अंगारकाय नमः ।’ वा ‘ॐ अग्न्मिूर्धा...’ मन्त्र दस हजार जप गर्नाले अथवा मुगाको औँठी धारण गरेर पनि भौमदोष निवारण गर्न सकिन्छ ।

बुधशान्ति गर्ने उपाय :
सामान्यतः बुध शुभ ग्रह हुन् । शुभ ग्रह भए पनि बुध बलहीन भएको समयमा शान्ति गर्नुपर्दछ । बुध शान्तिका निम्ति बुधबारको व्रत धारण गरेर, पन्ना नामक रत्न धारण गरेर, भगवतीको उपासना गरेर, दुर्गा सप्तशती पाठ गरेर, ‘ॐ ह्रीं बुधाय नमः’ वा ॐ उद्दबुद्धयस्वाग्ने...’ भन्ने वैदिक मन्त्र आठ हजार जप गरेर, प्रातः कालमा ॐ गं गणपतये नमः को मन्त्र नित्य पाठ गर्नाले, बुधबार वा एकादशीको व्रत बस्नाले, निवासस्थान वा कर्यस्थलको वरिपरि हरियाली रूखबिरुवा रोपेर अथवा बुधसूक्त पाठ गरेर पनि बुधजन्य दोष निवारण गर्न सकिन्छ ।

बृहस्पति शान्तिका उपाय :
बृहस्पति शुभ ग्रह हुन् । बृहस्पति प्रतिकूल भएको अवस्थामा शान्ति गर्नुपर्दछ । गुरु शान्तिका निम्ति बिहीबारको व्रत धारण गरेर, निधारमा पँहेलो चन्दन लगाएर, हरिवंश पुराण पाठगरेर, ब्रहृमाजीको उपासना गरेर, पँहेलो पूmलको बिरुवा बगैँचामा लगाएर, साधु वा ब्राहृमणको सेवा गरेर वा आशीर्वाद लिएर, पुष्पराज ९ रत्तिकोे चोरी औंलामा धारण गरेर, चनाको दाल वा सुन दान गरेर, रुद्राष्टाध्यायी, शिवसहस्रनाम वा रुद्राभिषेक गरेर ‘ॐ ग्रां ग्रीं ग्रों सः गुरवे नमः ।’ वा । ‘ॐ बृहस्पतेद्रअतियदøर्योद्र...’ वैदिक मन्त्र १९ हजार जप गर्नाले पनि बृहस्पति शान्ति गर्न सकिन्छ ।

शुक्र शान्तिका उपाय :
शुक्र सामान्यतः शुभ ग्रह हुन् । शुक्र निर्बल रहेको अवस्थामा तत्जन्य शान्ति गर्नुपर्दछ । शुक्रबारको व्रत बसेर, गोदान गरेर, लक्ष्मीको उपासना गरेर, सेतो एवं स्वच्छ वस्त्र धारण गरेर, सुगन्धित पदार्थको प्रयोग गरेर, घ्यू, दही, कपुर र मोतीको दान गरेर, कुमकुम, इलाइची, अमला, केशर, जाइफल आदिले स्नान गरेर, दूध, दही, चामल, मिश्री, सखर, सेतो फूल, मोतीको माला, हीरा, आदि दान गर्नाले, श्रीसूक्त, लक्ष्मीसूक्त र कवच पाठ गरेर वा श्रीयन्त्रको नित्य पूजा अर्चनाका साथै तत् मन्त्रोच्चारण गर्नाले, दुर्गासप्तशतीको विधिवत् पारायण गर्नाले, नित्य गायत्री जप गर्नाले, सरस्वतीको उपासना गर्नाले, दुर्गा उपासना गर्नाले, ‘ॐ शुं शुक्राय नमः’ वा ‘ॐअन्नात्परिस्रुतो....’ मन्त्र जप गरेर शुक्र शान्ति गर्न सकिन्छ ।

शनि शान्ति उपाय :
सामान्यतः शनिलाई पापग्रह मानिन्छ । यसैले शनि शान्तिका निम्ति प्रत्येक शनिबार बिहान शरीरमा तेल घस्नाले, फलाम, आलमारी पलंग, चिम्टा, कालो वस्तु (वस्त्र, जुत्ता, भैंसी, फूल आदि) सुन, कालो गाई, कस्तुरी, सस्र्युंको तेल, नीलम दान गर्नाले, शिवजीको नित्य उपासना गरेर, हनुमानको प्रार्थना गर्नाले, भैरवको उपासना, भगवती महाकालीको उपासना गर्नाले, श्रीमद्भागवत्को नल चरित्र पाठ गर्नाले, रोगले ग्रसित भएको खण्डमा मृत्युञ्जयको पाठ गरेर अथवा ‘ॐ प्रां प्रीं प्रों सः शनैश्चराय नमः’ वा २३ हजार जाप गर्नाले । अथवा निलम धारण एवं शनिसूक्त पाठ गरेर पनि शनिजन्य दोष निवारण गर्न सकिन्छ ।

राहु शान्तिका उपाय :
राहुलाई सामन्यतः पापग्रह मानिन्छ । राहुजन्य दोषको निवारण कन्यादान गरेर, गोमेद माझी औँलामा लगाएर, सस्र्युं, बेसार, लाजा, कस्तुरी, हात्तीको दाँत, आदिका साथ ८ मंगलबारसम्म स्नान गर्नाले, सिसा, सस्र्युंको तेल, तिल, सुन, गोमेद, कालो फूल, अभ्रख, तरवार, घोडा, नीलो वस्त्र, कम्बल, माछो आदि दान गर्नाले, सुरमर्दिनी भगवतीको उपासना गर्नाले, दुर्गा सप्तशती उच्च स्वरमा पाठ गर्नाले, बटुक भैरबको उपासना पूजा एवं पाठ गर्नाले, नाग देवताको उपासना गर्नाले, नागलाई दूध चढाउनाले वा प्रत्येक पञ्चमी वा नाग पञ्चमीमा चाँदीका नाग नागिनी बनाई विधिवत् स्थापना गरी पूजा अर्चना गर्नाले वा, श्रावण महिनामा लघु रुद्राभिषेक गर्नाले, शिव दर्शन गर्नाले वा ‘ॐ भ्रां भ्रीं भ्रौं सः राहवे नमः’ वा ‘ॐ कयानश्श्चित्रद्रआभुवदूती....’ मन्त्र १८ हजार जप गर्नाले वा राहु सूक्त पाठ गर्नाले राहुजन्य दोष निवारण गर्न सकिन्छ ।

केतु शान्तिका उपाय :
केतु पनि पाप ग्रह हुन् । केतु शान्तिका लागि गणेश चतुर्थीको व्रत धारण गरेर, गणेशजीको उपासना गरेर, सातप्रकारका अन्न, फलामको शस्त्र, कम्बल, कालो फूल, तिल, खैरो कपडा, कस्तुरी, सुन, तेल, नरिवल, अमिलो फल, हात्तीको दाँतबाट बनेका वस्तु, बाख्रो, लहसुनिया दान गरेर वा गणेश सहस्रनाम पाठ गर्नाले वा गणेश अथर्वशीर्ष पाठ गर्नाले अथवा ‘ॐ कें केतवे नमः’ वा ‘ॐ केतुङ्कृण्वन्नकेतवे....’ मन्त्र जप गरेर, केतुजन्य ग्रह शान्ति गर्न सकिन्छ । यसरी ग्रहअनुसार कुन के र कति कार्य गर्ने भन्ने बारेमा विशेषज्ञको सल्लाह लिनु उपयुक्त हुन्छ । विधिवत् रूपमा गरिएको ग्रहशान्ति फलदायी रहन्छ । अतः यस्ता कार्य गर्दा विधि विशेषज्ञ पनि हुनु आवश्यक हुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?