२३औं चलचित्र पत्रकार दिवस मनाइँरहँदा

Read Time = 17 mins

✍️ गीता अधिकारी
नेपालमा चलचित्र पत्रकार संघले हरेक वर्ष जेठ ७ गतेलाई स्थापना दिवस मनाउँदै आएको छ । ‘चलचित्र पत्रकारितालाई संगठित एवं मर्यादित बनाऔं’ भन्दै देशको संघीय राजधानी काठमाडौं र मोफसलका विभिन्न स्थानहरूमा यो दिवस मनाउँदै आइएको छ । २३ वर्षअघि भरत शाक्यको अध्यक्षतामा गठन भएको यो संघको छातामुनि अहिलेसम्म आइपुग्दा थुप्रै पत्रकारहरू जुट्नु भएको छ । संस्थापक अध्यक्ष भरत शाक्य हुँदै विदुर गिरी, शान्तिप्रिय, सन्दिप सापकोटाले अगाडि बढाउनुभएको यो संघ अहिले दिनेश सिटौलाको नेतृत्वमा रहेको छ ।
मोफसलमा बुटवल, दाङ, हेटांैडा, पोखरालगायत पूर्वदेखि पश्चिमसम्म चलचित्र पत्रकार संघ सक्रिय छ । २३औं चलचित्र पत्रकार दिवस मनाइँरहँदा चलचित्रका साथै रंगपत्रकारितालाई अझ कसरी मर्यादित बनाउने भन्ने कुराले स्थान पाएको छ ।

राजधानी काठमाडौं, हेटौंडालगायत ठाउँमा यो दिनको अवसर पारेर यस क्षेत्रमा काम गर्ने सञ्चारकर्मी र कलाकारलाई सम्मान एवं पुरस्कार प्रदान गर्ने गरिन्छ । चलचित्र पत्रकार संघ नेपाल केही दिनअघि २०७७, २०७८ र २०७९ को सम्मान तथा पुरस्कार घोषणा गरेको छ । संघले कोरोना प्रभावका कारण २०७७ र २०७८ सालमा वितरण गर्न नसकेको सम्मान तथा पुरस्कार वितरण पनि यसै वर्ष गर्ने लागेको हो । संघले तीन वर्षको पुरस्कार तथा सम्मान एकै पटक गर्न लागेको छ । संघले चलचित्र पत्रकारिता सम्मान पुरस्कार २०७७–शान्तिप्रिय र राजन घिमिरेलाई, चलचित्र पत्रकारिता पुरस्कार दिवाकर मैनाली र आरडी शृंखला तथा चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार रिना मोक्तानले प्राप्त गर्ने भएको छ ।

यसैगरी चलचित्र पत्रकारिता सम्मान २०७८ बाट सुव्रतराज आचार्य र सन्दीप सापकोटालाई र चलचित्र पत्रकारिता पुरस्कार कुमार आचार्य र गीता अधिकारीलाई तथा चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार मनोज न्यौपानेलाई र मोफसल चलचित्र पत्रकारिता पुरस्कार रेम विक (कास्की) लाई प्रदान गर्ने संघले जनाएको छ । त्यसैगरी संघले चलचित्र पत्रकारिता सम्मान २०७९ मा राजाराम फुयाँल र लक्ष्मण सुवेदी, चलचित्र पत्रकारिता पुरस्कार नेमिष गौतम र विष्णु सुवेदी, चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार उद्धव रसाइली र मोफसलमा श्रीराम अर्जुन (मकवानपुर)लाई प्रदान गर्ने निर्णय गरेको छ । संघले २०७८ देखि उपत्यका बाहिरका चलचित्र पत्रकारलाई पनि समेट्दै मोफसल चलचित्र पत्रकारिता पुरस्कारको व्यवस्था गर्न सुरु गरेको छ ।

त्यस्तै हेटौंडा, चितवनमा पनि चलचित्र पत्रकारिता सम्मान र पुरस्कार गर्ने गरिन्छ । मोफसलका अन्य संघले पनि विविध कार्यक्रम गरी यो दिवस मनाउँदै छन् । चलचित्र पत्रकारिताको यो २३ वर्षमा खोला-नाला र भँगालाहरू अनेकौं छन् । अहिले यो पेशा विभिन्न अवसर र चुनौतीको बीचबाट गुज्रिरहेको छ । समाचार लेखेकै कारण, प्रशारण गरेकै कारण समय समयमा आउने धम्की र अन्य समस्या छँदै छन् भने अझै पनि यो क्षेत्रमा लागेका पत्रकारको व्यावसायिक हुन नसकेको देखिन्छ ।

खासगरी यस क्षेत्रमा प्रशंसामात्र सुन्न चाहने र सिर्जनात्मक आलोचनासम्म सुन्न र देख्न नसक्ने केही कलाकर्मीका कारण समय समयमा विभिन्न समस्या देखा पर्दछन् । रहर र लहैलहैमा यो क्षेत्रमा आएका केही छन् भने यसै क्षेत्रमा केही उल्लेखनीय काम गरौं भन्नेको संख्या राम्रै रहेको छ चलचित्र पत्रकारितामा । नेपाली चलचित्र उद्योगले पाँच दशकभन्दा बढीको यत्रा गरिसक्दा चलचित्र पत्रकारिता क्षेत्र भने त्यो भन्दा पुरानो थियो । नेपालमा चलचित्र न बन्दा पनि चलचित्रका समचारमा कलम चल्ने गरेको पाइन्छ । जुन अहिले उत्तिकै सक्रिय रहेको छ ।

हामीले आफूलाई सञ्चार क्षेत्रमा काम गर्ने भन्छौं । सञ्चार भनेको विचार र जानकारी (वा सूचना) को आदानप्रदान गरिने प्रक्रिया हो । वास्तवमा सूचना, तथ्यांक एवं जानकारी प्रवाह गर्ने प्रणाली तथा प्रक्रिया सञ्चार हो । सञ्चारका विविध रूप हुन्छन् । पत्रपत्रिका, टेलिभजन तथा अन्य सञ्चारकामाध्यम सुरु नहुँदा पनि विभिन्न माध्यमबाट एक अर्कोमा सूचना संप्रेषण गर्ने गरिन्थ्यो । सञ्चारका विभिन्न माध्यम हुँदै कागजमा छपाइ गरेर पढने नै विश्वजगतमा सबैभन्दा बढी प्रचलित रहृयो भने विद्युतीय सञ्चारमाध्यम पनि त्यतिकै शसक्त रहेको छ । अझ पछिल्लो समयमा त सामजिक सञ्जालको बाढीले यसलाई अझ विस्तृत बनाइदिएको छ ।

पत्रकारिताको विश्व इतिहास हेर्दा नेपालमा निकै नै पछिमात्र यसको विकास भएको देखिन्छ । सन् १५४० मा हस्त लिखित सिट छपाइ सर्वप्रथम डेनमार्कमा गरिएको इतिहास पाइन्छ । हामीकहाँ छापाखानाको विकास पनि निकै ढिलो भएको पाइन्छ । नेपालमा वि.सं. १९०८ (सन् १८५१)तिर जंगबहादुर राणा बेलायत भ्रणबाट फर्कंदा फलामे हाते प्रेस ल्याएपछि मात्र विधिवत् रूपले प्रवेश पाएकोे इतिहास छ । हाम्रो छिमेकी देश भारत भने त्यसभन्दा झण्डै तीन सय वर्षअघि नै छापाखानाले प्रवेश पाएको देखिन्छ ।

हामीकहाँ फेरि पनि छापाखाना नभएकै समयमा पनि हस्तलिखित कतिपय पुस्तक तयार पारिएको पाइन्छ । जंगबहादुरले बेलायतबाट ल्याएको गिद्धेप्रेसपछिको अर्को छापाखानाको नाम हो ‘मनोरञ्जन छापाखाना’ । गिद्धेप्रेस ल्याएको केही वर्षपछि त्यो प्रेस ल्याइएको थियो । गिद्धको जस्तो पँखेटा र सो अंकित लोगो भएकोले गिद्धप्रेस भनिँदै आएको हो भन्ने भनाइ छ ।

यसरी सुरु भएको नेपाली मुद्रण कार्यमा नेपाली पत्रकारिताको प्रारम्भ भने मोतिराम भट्टद्वारा भएको हो । साहित्यको माध्यमबाट नेपाली भाषाको सेवा गर्ने भट्टले विसं १९५० ताका सुधासागरको प्रकाशन गर्ने प्रयत्न थाले । यसैबीच उनको १९५२ मा निधन भए पनि पण्डित नरराजहरूले १९५५ मा सुधासागर प्रकाशित गरे । जुन नेपालबाट प्रकाशित पहिलो पत्रिका हो । यसअघि विसं १९४२ मा ‘गोर्खा भारत जीवन’ नामको पत्रिका मोतिराम भट्टले नै बनारसबाट प्रकाशन गर्नुभएको थियो । त्यसलगत्तै नेपाली पत्रकारिता सुरुवात र यसको विकासक्रम भएको देखिन्छ ।

यसरी हेर्दा नेपाली पत्रकारिताको प्रारम्भिक स्थल भारतको बनारसलाई नै सम्झनुपर्दछ । नेपालमा जंगबहादुरले बेलायतबाट प्रेस ल्याएको झण्डै ५० वर्षपछि मात्र पत्रिकाको प्रकाशन भएको पाइन्छ । ‘सुधा सागर’ पछि नेपालबाटै नेपाली भाषामा प्रकाशित दोस्रो पत्रिका ‘गोर्खापत्र’ हो । यो सन् १९०१ मा प्रकाशित भएको थियो । यसरी प्रकाशित हुनथालेको नेपाली पत्रिका अहिलेसम्म आइपुग्दा ठूलै फड्को मारेको छ । आमसञ्चारका साधनहरूले परापूर्वकालदेखि सुरु भएको भाषिक तथा मौखिक सञ्चार प्रक्रिया होस् वा आधुनिक पत्रपत्रिका, रेडियो, टेलिभिजन, इमेल, इन्टरनेट, फ्याक्स आदि जस्ता सबै सञ्चार साधनलाई जनाउँछ ।

विद्युतीय सञ्चारमाध्यमको कुरा गर्दा सन् १९३० को दशकमा प्रसारण सुरु भएको टेलिभिजन प्रविधि यतिबेला सशक्त सञ्चारमाध्यमका रूपमा विकास भएको छ । सन् १८८८ अक्टुबर १३ का दिन हेलन्सवर्गमा जन्मिएका जन लागी बयर्डले १९२५ मा लण्डनमा टेलिभिजनको आविष्कार गर्नुभएको हो । हामीकहाँ नेपाल टेलिभिजन २०४१ सालमा स्थापना भएको हो ।

नेपाली पकारिताको वर्तमान स्थितिलाई हेर्दा पत्रकारिताको विकासक्रम तीव्रगतिमा अगाडि बढेको देखिन्छ । नेपालमा लोकतन्त्र आए पश्चात् विचार र अभिव्यक्ति स्वतन्त्रता, प्रकाशन, प्रसारण र छापाखना र सूचनाको हकको उल्लेख गरियो र श्रमजीवी पत्रकारको हक र हित र अधिकार संरक्षणगर्ने उद्देश्यले श्रमजीवी पत्रकार ऐन २०६४ जारी गरियो । त्यसपछि क्रमिक रूपमा लोकतन्त्र बहालीपछि देशमा एफएम रेडियो, निजी र सामुदायिक र टेलिभिजन खुल्ने क्रमले तीव्रता पायो । वर्तमान अवस्थामा अनलाइन मिडिया र सामुदायिक सञ्चाजलले झनै पत्रकारितालाई निकै माथि उठाएको छ ।

हामीकहाँ पत्रकारिताले केही फड्को त मारेको हो तर सञ्चारमाध्यममा दलगत स्वार्थ कुनै समूहको प्रभावमा रहेका कारण नेपाली पत्रकारिताले कतै बाटो त बिराएको छैन भन्ने प्रश्न पनि उब्जिने गर्दछन् । त्यसैले पत्रकारिताको तीव्रतासँगै केही विकृति पनि भित्रिएको पाइन्छ । अर्थात् यस्ता गुनासा बेला-बेलामा सुन्ने गरिन्छ । नेपाली पत्रपत्रिकाहरूमा चलचित्र पत्रकारितालाई हरेक पत्रिकाले स्थान दिएका छन् । सबै पत्रिकाहरूले चलचित्रसम्बन्धी समाचारलाई आफ्नो प्रमुखतामा राखेको पाइन्छ भने ठूला सञ्चारमाध्यमले यससम्बन्धी साप्तिाहिक अंकहरू प्रकाशन गर्ने गरेका छन् ।

चलचित्रसम्बन्धी नेपालको पहिलो पत्रिका ‘सिनेमा’लाई लिइन्छ भने नियमित प्रकाशनको दृष्टिले लामो समयदेखि काठमाडौंबाट प्रकाशित भइरहेको साप्ताहिक पत्रिका ‘फिल्मी खबर’ हो । जसलाई शान्तिप्रियले प्रकाशन तथा सम्पादन गर्दै आउनुभएको छ । कोरोना संक्रमणपछि यसको नियमित प्रकाशन भएको छैन । मैले पनि यसमा सुरुवाती वर्षदेखि नै जोडिएर काम गर्ने अवसर पाएँ ।

नेपाली चलचित्र पत्रकारितामा देखिएका अन्य पत्रिकाहरूमा उर्वशी, चाँदनी, श्री, अप्सरा, प्रिया, रोशनी, पूर्णिमा, सिने स्टार, मञ्जुषा, सिनेमा टाइम्स, कुमारी, मनको तरङ्ग, मधुरी, गीताञ्जलि, भावना, ढुकढुकी, सिमल, स्क्रिन, वारपार, कलिउड स्टार, प्राइम म्यागजिन, सानो पर्दा, कलाश्री, सिने सम्झना, कलापुञ्ज, सिनेमा समर्पण, सिने हट लाइन, स्टारडम, सिनेयात्री, शृंगार, ग्लामर प्लस, कामनालगायत छन् । केही नियमित प्रकाशनमा रहे भने कुनै आक्कलझुक्कल प्राकशनमा रहे साथै केही इतिहासमा सीमित भएका छन् । पछिल्लो समय मनोरञ्जन बिटमा रहेर धेरै अनलाइन न्यूज प्रोटल आएका छन् ।

पत्रकारितालाई समाजमा सूचनामार्फत सत्य, तथ्य सामग्री प्रस्तुत गर्ने सचेत जिम्मेवारी पेशाकर्मीका रूपमा लिइन्छ । यस्तो पेशा अँगाल्ने मान्छे गैरजिम्मेवार भयो भने यो पेशा बदनाम हुनपुग्छ । यो संवेदनशील पेशा हो । यसको मर्यादा राख्नका लागि आफू नै बढी जिम्मेवारी हुनुपर्दछ । पछिल्लो समयमा अनलाइन र केही युट्युब च्यानलले पैसा आउँछ भन्दैमा संवेदनशीलताको ख्याल नगरेको गुनासा धेरै पाइन्छन् । हामीले समाचार र सूचना सम्प्रेषित गर्दा विश्वासयोग्य, तथ्यपरक, निश्चित, उत्तरदायी हुन आवश्यक छ ।

हामी सबैले बुझ्नुपर्ने मुख्य कुरा के हो भने पेशाको मर्यादा राखेमात्र पेशामा संलग्नको मर्यादा रहन्छ । तथ्यांकअनुसार पछिल्लो समय विश्वमै धेरै पढिने विधामा मनोरञ्जन समाचार पर्ने गर्दछ । सायद अन्य क्षेत्रभन्दा यो ग्ल्यामर क्षेत्र भएर पनि होला । कलाकारका हरेक कुरा समाचार बन्ने गर्दछन् त्यसैले विश्वमै यो एक नम्बरमा पर्न सफल भएको । यस्तो क्षेत्रमा काम गर्ने हामी अझ बढी जिम्मेवार बन्नुपर्दछ । यसवर्ष चलचित्र पत्रकार संघ दिवसका अवरमा केन्द्र र मोफसलबाट सम्मानित र पुरस्कृत हुने सबैमा हार्दिक बधाई तथा शुभकामना । हाम्रो नारा जस्तै चलचित्र पत्रकारिता अझ संगठित एवं मर्यादित होस्, यही कामना ।

सन्दर्भ सामग्री :
१) प्रेस काउन्सिल नेपाल । २०७४ । संहिता । काठमाडौं ।
२) नेपालको आमसञ्चार- विकिपिडिया ।
(अधिकारी चलचित्र पत्रकार संघ नेपालकी निर्वतमान उपाध्यक्ष हुनुहुन्छ ।)

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?