कविता : ऊ मुस्कुराउँदा

प्रा. पुरुषोत्तम दाहाल
Read Time = 2 mins
A A- A+

✍️ पुरुषोत्तम दाहाल
अलिकति स्वर्गको ढोका खुले जस्तो
पातला कलिला ओठको चेपबाट
आफ्नै पुर्खाहरू आएर चियाए जस्तो
काखमा लुटुपुटु भएर बस्दा
गुलाफको फूल जस्तो
सुकोमल अनुहारमा
उसको आगमनले
सुगन्ध छरे जस्तो
अनुभव बाँड्नै सकिँदैन
कस्तो कस्तो ?

आकाशको अनन्तताले
सृष्टिको नियतिलाई
कता बांगोटिंगो बनाइ रहेको छ ।

ताराहरूले मात्रै सृष्टि थेग्न सकेनन् जस्तो
सूर्य, बृहस्पति र मंगलले पनि
सृष्टिको पूर्णता दिन सकेनन् जस्तो
सुन्दर पृथ्वीलाई अर्को एउटा
विलक्षण मान्छे चाहिएको जस्तो
कस्तो कस्तो
इतिहास कुन भूगोलमा थियो
र अब कुन भूगोलमा बन्ने हो
पुर्खाहरूको पसिना
कुन जमिनमा पोखिएको थियो
अब कुन जमिनमा सिंचन गर्न पुग्ने हो
प्रकृतिले निर्धारण गरेको यात्रा
उसले कसरी हिँड्ने हो
ऊ बलियो छ कि कमजोर
ऊ घिस्रिन्छ कि कुद्छ
थाहा छैन तर मुस्कुराउँछ
दिव्यतारा जस्तो
भन्नै सकिँदैन
कस्तो कस्तो ?

धर्ती फेरिएपछि धर्मको कुरा हुँदैन
संगत फेरिएपछि
संस्कृतिको कुरा हुँदैन
कुरा फुर्सदमा हुने होला
पूरा हुने कुनै सम्भावना रहँदैन
तर, आफ्नै मौलोमा उभिएको
आफ्नै भूगोलमा हुर्किएको
उज्यालो तारा यता कतै
कुदिरहे जस्तो
लाग्छ कस्तो कस्तो ।

लाखौं भूगोलका गोलहरूको
सानो अंशमा उभिएको उसभित्र
सिंगै भूगोल अटाए जस्तो लाग्छ
सिंगो तर अज्ञात सृष्टि लयको गुफा
उसैमा अटाएको जस्तो
आकाशभन्दा पर
अर्को आकाश हो कि जस्तो
थाहा छैन भोलि
उसको भाग्यमा के लेखेको छ
नियतिको कलमले
तर आज ऊ
लाग्छ : आफैं आफ्नो नियति जस्तो ।
२०७८/ १२ / १६ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
कलानिधि दाहाल
कलानिधि दाहाल
2022-05-24 1:08 pm

वर्तमानको केन्द्र काठमाडौँको राजनैतिक व्यञ्जनात्मक सङ्केतमा कलात्मक गद्यकविता उछाल यो

कलानिधि दाहाल
कलानिधि दाहाल
2022-05-24 1:11 pm

वर्तमानको केन्द्र काठमाडौँँको राजनैतिक सन्दर्भ साङ्केतिक कलात्मक गद्यकविता उछाल

छुटाउनुभयो कि ?