बुटवलमा एमालेको विरासत तोड्दै कांग्रेसका पाण्डेय मेयरमा विजयी

हिमालय टाइम्स
Read Time = 4 mins

-चन्द्रकान्त खनाल

बुटवल । बुटवल उपमहानगरपालिकामा नेकपा एमालेको विरासत तोड्दै नेपाली कांग्रेसका नगरसभापति समेत रहनुभएका खेलराज पाण्डेय विजयी हुनु भएको छ । १९ वटा वडा रहेको बुटवल उपमहानगरपालिकामा १२ वटा वडासहित मेयरमा नेपाली कांग्रेसले जितेको हो ।

२०४९ सालको निर्वाचनमा कांग्रेसबाट स्वर्गीय सूर्यप्रसाद प्रधान बुटवलको मेयरमा निर्वाचित हुनु भएको थियो । त्यसयता बुटवलमा कांगेसले जित्न सकेको थिएन । अघिल्लो निर्वाचनमा पनि पाण्डेयलाई दुई हजार तीन सय मत अन्तरले पराजित गर्दै बुटवलको मेयरमा एमालेका शिवराज सुवेदी निर्वाचित हुनु भएको थियो ।

पाँच दलीय गठबन्धनको तर्फबाट बुटवल उपमहानगरपालिकाको मेयर पदका उम्मेद्वार पाण्डेय सात हजार ५३३ मतको अन्तरसहित निर्वाचित हुनुभएको हो ।

बुटवलको मेयरमा निर्वाचित पाण्डेयले ३० हजार १३० मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्दी एमाले उम्मेदवार भट्टराईले २२ हजार ५९७ मत प्राप्त गर्नुभएको छ । त्यस्तै राप्रपाबाट मेयर पदका उम्मेदवार मृगेन्द्र शेरचनले चार हजार २९७ मत प्राप्त गर्नुभयो ।

त्यस्तै उपमेयरमा भने गठबन्धनका उम्मेदवार चिनबहादुर गुरुङलाई पछि पार्दै एमाले उम्मेदवार सावित्रा अर्याल विजयी हुनुभएको छ ।

उपमेयरमा निर्वाचित अर्यालले २४ हजार ९०४ मत प्राप्त गर्दा गठबन्धनको तर्फबाट एकीकृत समाजवादीका उम्मेदवार गुरुङले १६ हजार ९८० मत प्राप्त गर्नुभएको छ । उपमेयरमा राप्रपाकी उम्मेदवार भगवती पाण्डेले ६ हजार ५२९ मत प्राप्त गर्नुभयो ।

१९ वडा रहेको बुटवलमा ११ वटा वडा कांग्रेसले जितेको छ भने पाँच वटा वडा एमालेले जितेको छ । बुटवलमा माओवादी केन्द्रले एक, नेकपा एकीकृत समाजवादीले एक र एउटा वडा स्वतन्त्र उम्मेदवारले जितेका छन् । वडा नं. ४, ५, ६, ७, ८, ९, १२, १३, १५, १६ र १७ कांग्रेसले जितेको हो । जसमा ४ को अध्यक्षमा नरिशवर शर्मा, ५ को अध्यक्षमा हरिप्रसाद श्रेष्ठ, ६ मा लोकनाथ न्यौपाने, ७ मा पदमराज गाहा, ८ मा यज्ञप्रसाद पंगेनी, ९ मा प्रदिपकुमार श्रेष्ठ, १२ मा डिल्लीप्रसाद शर्मा उपाध्याय, १३ मा नारायणप्रसाद पुन, १५ मा शिव राना, १६ मा कृष्णप्रसाद पौडेल र १७ मा ज्ञानबहादुर रेश्मी विजयी हुनु भएको हो ।

त्यस्तै एमालेले १०, ११, १४, १८ र १९ वडा जितेको छ । एमालेले जितेको वडा नं. १० को अध्यक्षमा बलबहादुर पुन, ११ को अध्यक्षमा रामचन्द्र क्षेत्री, १४ मा दधिराम न्यौपाने, १८ मा गुरुप्रसाद पंगेनी र वडा नं. १९ को अध्यक्षमा चन्द्रसिंह थापा मगर निर्वाचित हुनु भएको छ । वडा नं. १ मा स्वतन्त्र उम्मेदवार नरेन्द्र बस्नेत विजयी हुनुभएको छ । उहाँले काँग्रेसबाट विद्रोह गरि स्वतन्त्र उम्मेदवारी दिनुभएको हो । वडा नं. २ मा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका सुनिल शाक्य र वडा नं. ३ मा पनि गठबन्धनबाट माओवादी केन्द्रका विष्णु ढकाल विजयी हुनु भएको छ । ढकाल रुख चिन्हबाट निर्वाचित हुनु भएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?