नवनिर्वाचित जनप्रतिनिधिका थरिथरि वाचा, कोही तलब भत्ता नलिने, केहीको भ्रष्टाचार नगर्ने कसम

Read Time = 9 mins

डिबी भण्डारी/शर्मा
काठमाडौं । मुलुकका विभिन्न स्थानीय तहमा नवनिर्वाचित जनप्रतिनिधिले कार्यभार सम्हाल्न थालेका छन् । मतगणना सम्पन्न भएका अधिकांश पालिका प्रमुखहरूले पदभार ग्रहण गरेका हुन् । उनीहरूले शुक्रबारदेखि पदभार ग्रहण गर्न थालेका हुन् । मंगलबार यसअघि निर्वाचित जनप्रतिनिधिको कार्यकाल सकिएको थियो । ६ महानगरसहित कतिपय पालिकामा भने मतगणना जारी छ । पदभार ग्रहण गर्दै नवनिर्वाचित जनप्रतिनिधिले विभिन्न वाचा र प्रतिबद्धता गर्न थालेका छन् । पदभार ग्रहण गर्दै उनीहरूले विभिन्न घोषणा गर्न थालेका हुन् ।

कसैले आफ्नो कार्यकालमा कुनै पनि भ्रष्टाचार नगर्ने भन्दै देउताको घण्ट छोएर पदभार ग्रहण गरेका छन् भने कसैले राज्यकोषबाट कुनै प्रकारको तलब सेवा सुविधा नलिने घोषणा गरेका छन् । केहीले आफूले पाउने तलब तथा सेवासुविधा सामाजिक सेवामा लगाउने घोषणा गरेका छन् भने केहीले निःशुल्क बिजुली, खानेपानी र पालिकाका जनतालाई स्वास्थ्य बिमामा ५० प्रतिशतसम्म छुट दिने, एम्बुलेन्स खरिद गर्नेलगायत निर्णय गरेका छन् ।

भ्रष्टाचार नगर्ने भन्दै देउताको घण्ट छोएर पदभार ग्रहण
मुगुको छायानाथ रारा नगरपालिकाका नवनिर्वाचित मेयर विष्णुकुमार भामले थार्पमष्टो, ऋणमोक्ष र छायानाथ ठाकुरी देवताको घण्ट छोएर पदभार ग्रहण गर्नुभएको छ । पाँच वर्षे कार्यकालमा सेवाग्राहीलाई दुःख कष्ट नदिने, भ्रष्टचार कमिसन नखाने भन्दै नगर प्रमुख भामले देउताको घण्ट छोएर पदभार गर्नुभएको हो । भामले जनताको नाममा आएको रकमप्रति नजर नलगाउने, स्थानीयलाई सेवाप्रवाह छिटो छरितो गर्ने कसम खाएर प्रसिद्ध देवताका दुई वटा घण्ट समाती पदभार सम्हाल्नुभयो । नगरबाट प्राप्त हुने कुनै पनि सेवा सुविधा नलिने, पाँच वर्षको पारिश्रमिकबाट १ देखि १४ वडाका बिरामीका लागि एम्बुलेन्स उपलब्ध गराउने प्रतिबद्धता उहाँले गर्नुभएको छ ।

हेटौँडामा विपन्न घरधुरीलाई ३०० युनिट बत्ती र १० हजार लिटर पानी निःशुल्क
हेटौँडा उपमहानगरपालिका मेयर मीना लामाले हेटौँडालाई महिला र बालमैत्री नगर बनाउने प्रतिबद्धता गर्नुभएको छ । शनिबार निर्वाचित भएलगत्तै उहाँले महिलामैत्री नगर बनाउनका लागि उपयुक्त सार्र्वजनिक शौचालय बनाउने बताउनुभयो । शौचालयहरूमा सेनिटरी प्याड भेन्डिङ मेसिन जडान गर्ने र बजार क्षेत्रको विभिन्न स्थानमा स्तनपान कक्ष निर्माण गर्ने उहाँको योजना छ । सेफहाउसका साथै महिला छात्रावास निर्माण गर्ने योजनासमेत नगर प्रमुख लामाले सुनाउनुभयो । नगरलाई बालमैत्री बनाउँदै घोषणा गर्ने सपना उपप्रमुख हुँदैमा देखेकाले त्यो कार्य पूरा गर्ने उहाँको भनाइ थियो ।

घोषणापत्रमा उल्लेख गरिए अनुसारको सबै काम गर्ने उहाँले दोहोर्‍याउनुभयो । सुरुवाती रूपमा विपन्न घरधुरीलाई ३०० युनिट बत्ती र १० हजार लिटर पानी निःशुल्क उपलब्ध गराउने उहाँको योजना छ । यो सुविधा सबै घरधुरीमा पु¥याइने योजनालाई कार्यान्वयन गरेरै छाडिने उहाँको भनाइ छ ।

न्यूनतम विद्युत् महसुल निःशुल्क
रुरु क्षेत्र गाउँपालिकाले गाउँपालिका भित्रका प्रत्येक घरधुरीलाई न्यूनतम विद्युत् महसुल निःशुल्क गर्ने भएको छ । आगामी आर्थिक वर्षको सुरुदेखि नै सबै घरको न्यूनतम विद्युत् महसुल पालिकाले तिरिदिने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले जानकारी दिनुभयो ।

छत्रकोट गाउँपालिकाका नयाँ जनप्रतिनिधिले दुई एम्बुलेन्स खरिद गरेर सेवा विस्तार गर्ने निर्णय गरेको छ । चन्द्रकोट गाउँपालिकाले गरिब तथा विपन्न परिवारलाई स्वास्थ्य बिमा गर्दा लाग्ने शुल्कको ५० प्रतिशत गाउँपालिकाले व्यहोर्ने पहिलो निर्णय गरेको छ । त्यस्तै, पालिकाबाट बाहिर प्रसूतिका लागि जाने गर्भवतीहरूको एम्बुलेन्स शुल्क पालिकाले उपलब्ध गराउने निर्णय गरिएको गाउँपालिका प्रमुख युवराज केसीले जानकारी दिनुभयो ।

मालिका गाउँपालिकाले आगामी पाँच वर्षभित्र प्रत्येक घरमा खानेपानीको धारा पुर्‍याउने निर्णय गरेको छ । वृद्ध, अपांग र अशक्तको लागि टोल-टोलमा सामाजिक भत्ता वितरण गर्ने निर्णय गरेको गाउँपालिकाका सूचना अधिकारी जगत पौडेलले जानकारी दिनुभयो ।

कतै कक्षा १० सम्म निःशुल्क शिक्षा, कतै इञ्जिनियर र चिकित्सक पढ्न छात्रवृत्ति
दैलेखको आठबिस नगरपालिकाका नवनिर्वाचित मेयर र उपमेयरले आगामी तीन वर्षमा नगरपालिकाका सबै नागरिकको घरमा विद्युत् पुर्‍याउने प्रतिबद्धता जनाएका छन् । मेयर तर्कबहादुर बडुवालले पदभार ग्रहण गर्दै हरेक नागरिकको घरमा विद्युत् बाल्ने पहिलो निर्णय गर्नुभएको हो । यस्तै, उपप्रमुख कल्पना थापाले आठबिसका गर्भवती तथा सुत्केरी महिलाहरूका उद्धारका लागि निःशुल्क एम्बुलेन्स सेवा सुरु गरिने बताउनुभयो । दुल्लु नगरपालिकामा नवनिर्वाचित नगर प्रमुख भरतप्रसाद रिजालले पहिलो निर्णय गर्भवती तथा प्रसूति महिलाहरूलाई यातायात सुविधा निःशुल्क दिने निर्णय गर्नुभएको छ ।

यस्तै, राप्ती गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष प्रकाश विष्टले कक्षा १० सम्मको पठनपाठन निःशुल्क बनाउने पहिलो निर्णय गर्नुभएको छ । नयाँ आर्थिक वर्षदेखि लागू हुनेगरी सामुदायिक विद्यालयमा कक्षा १० सम्मको पठनपाठन निःशुल्क गराउने निर्णयमा हस्ताक्षर गर्नुभएको हो ।

त्यस्तै, रुकुमपश्चिमको सानीभेरी गाउँपालिकाले आगामी आर्थिक प्राविधिक शिक्षातर्फ इञ्जिनियर र डाक्टर लगायतका विषयमा छात्रवृत्ति प्रदान गर्ने, छात्रवृत्तिबाट पढेकाले निश्चित समयका लागि गाउँमा निःशुल्क सेवा गर्नुपर्ने गरी निर्णय गरेको छ । सहकारीमार्फत सबै वडामा सस्तो पसल सञ्चालन गर्ने र खाद्य सामग्री उपलब्ध गराउने, दुई वर्षभित्र गाउँपालिकाका सबै खरका छानामुक्त गराउने निर्णय पालिकाले गरेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?