मेरो अतित मेरो अनुभव

Read Time = 21 mins

✍️ रमेशप्रसाद गौतम
आफ्नै मौलिक संस्कृतिको धरातलमा उभिएर जीवनका अनेक उत्तार चढाव पार गर्दै आएको यो जीवन वर्चस्वशालीहरूको दबाबमा परेर कमजोर समुदायको रूपमा भोगाइ अनुभूत गर्दै आएको हो । प्रारम्भकालदेखि नै शक्तिशालीहरूको सर्वत्र थिचोमिचोविरुद्ध सार्थक आन्दोलन, इतर आवाज निकाल्दै आएको पनि हो । आफ्नै गाउँको माटोको गन्ध, भूगोलको रंग र संस्कृतिको मोहले कहिले नछाडेको जीवन हो मेरो । नजिक शहरका जञ्जालमा फस्दै अनेक अल्झनले बेरिएको जीवन । म जन्मे हुर्केको बस्तीमा राणा कालीन उत्पीडनको पीडा वेदना सहन गर्दै पानीको अभावमा काकाकूल वस्तिक रूपमा थियो त्यहाँ जीवन । मेरो गाउँ वर्चस्वशालीहरूको दबाबमा रहेको भए तापनि शिक्षाको उज्यालो घाम ताप्ने रहर भने तीव्र थियो ।

नजिकैको शहर भएर पनि हाम्रो लागि बिरानो थियो । केवल हाम्रो लागि शहर भन्न रहर चाहिँ थियो । सुनिन्थ्यो शहरभन्दा साथ योजनाबद्ध बस्ती, ठूलाठूला घर, ठाउँठाउँमा हरियाली पार्क र फूलबारी अनि फराकिला बाटा झिलिमिली अनेक तडकभडक हुने गर्थे तर ती हाम्रा शहर त्यस्ता थिएनन् । शान्त र मनोरम भने मान्नै पथ्र्यो । हाम्रो शहर हेर्ने रहरभित्र मन्दिर र कलापूर्ण देवालयले भरिएको रमणीय प्राकृतिक मनोरम भने थियो । यही शहर मन्दिरैमन्दिरको पुण्य थलोका रूपमा पहिचान थियो र छ पनि काठमाडौं ।

हाम्रो शहर हेर्ने रहरभित्र मन्दिर र कलापूर्ण देवालयले भरिएको रमणीय प्राकृतिक मनोरम भने थियो । यही शहर मन्दिरैमन्दिरको पुण्य थलोका रूपमा पहिचान थियो र छ पनि काठमाडौं ।

यही शहर नजिकको गाउँमा २६ फेब्रुवरी १९५० मा मेरा बाबु गोविन्दप्रसाद गौतम र आमा महकुमारीको कोखबाट म जन्मिए । मेरो जन्म शुभ-शुभ भनिन्थ्यो रे । हामी पाँच भाइ र एक बहिनी थियौं । हामी ६ जनामध्ये दुईको देहावसन भइसकेको छ । बाँकी चारजना छौं । मेरा बाबुका चार दाजुभाइका लस्करै घर थिए, तीमध्ये तीन घरको एउटै लामो आँगन थियो । त्यही लामो आँगनमा धुलीमाटोमा खेल्दै मेरो बाल्यकाल बित्यो । हामी खेती गर्ने भएकाले गाई, भैंसी र बाख्रा पालिएका थिए । दयालु जीउका बाच्छा, चुलबुले पाठा र कुकुरका छाउरासँग म रमाउँदै खेल्ने गर्थे ।

मेरो जन्मथलो किम्सी हाल नागार्जुन नगरपालिका अन्तर्गत ७ नं. वडामा पर्दछ । त्यसबेला त्यहाँ नजिक कुनै विद्यालय थिएन । घरमा दाइहरू लेखपढ गर्नुहुन्थ्यो । उहाँहरूभन्दा उमेरले सानै भएकाले मलाई पढ्ने बेला भइसकेको छैन भन्ने धारणा थियो तर ममा पढ्ने इच्छा तीव्र थियो । दाजुहरूले पढेलेखेको देखेर नजिक भने बस्थेँ । उहाँहरूले लेखपढ गरेको देखेर होला मैले पनि सजिलै अक्षर चिनेँ र पढ्न थालेँ ।

घरबाट झण्डै ६ किलोमिटर टाढा शान्ति निकुञ्ज स्कुलमा दाजु र भतिजाहरूलाई भर्ना गरिएपछि म पनि त्यहीँ पढ्छु भनी मैले बालहट देखाएँ । अनि त्यहीँ मलाई पनि भर्ना गरियो । म ग्रेड वानमा पढ्न थालेको थिएँ । एक दिनको कुरा हो चित्रकला पढाउने सरले पेन्सिल नल्याएको भनेर बेस्सरी कान निमोठी दिनुभयो । कान राता भए, दुख्न थाल्यो । विनागल्ती यत्रो सजाए पाएँ । रिस उठे पनि गुरुप्रति प्रतिक्रिया दिइनँ । घरमा आमालाई भनेँ । आमाले अब स्कुल नजाने सल्लाह दिनुभयो ।

म ग्रेड वानमा पढ्न थालेको थिएँ । एक दिनको कुरा हो चित्रकला पढाउने सरले पेन्सिल नल्याएको भनेर बेस्सरी कान निमोठी दिनुभयो । कान राता भए, दुख्न थाल्यो ।

विद्यार्थीलाई सजाय दिने घटनाप्रतिको विरोध मनमनै चलिनै रहृयो । पाठ नबुझाएका कारण धेरै गुरुहरूले साथीहरूको कान निमोठेका घटनाहरूको दृश्यले ममा अझै पनि गहिरो छाप परिरहेकै छ । म बच्चाहरूलाई दिने शारीरिक यातनाको विरुद्धमै छु । बालबालिकालाई दण्ड होइन माया गर्नुपर्छ भन्ने धारणा बनाउँदै आएँ । केटाकेटीलाई सुधार्न मीठो बोली र नम्र व्यवहारले नै सुधार्ने उत्तम उपाय हो । पाँच दशकको लामो शिक्षण यात्रामा मैले प्रारम्भिक कक्षादेखि कलेजका डिग्री कक्षासम्म पढाउँदा आफूले विद्यार्थीलाई कडा शारीरिक सजाय दिइनँ ।

काठमाडौंको शान्ति निकुञ्ज स्कुलपछि म सीताराम हाइस्कुलमा कक्षा चारमा भर्ना भएँ । त्यहाँ कक्षा ९ मा पढ्दापढ्दै स्कुल युनियनको चुनाव हुन लाग्यो । त्यतिबेला मेरो बालसखा सुशीलकुमार श्रेष्ठलगायतका साथीहरूले स्कुल युनियनको अध्यक्ष उठ्न जोड गर्न थाले । यसरी साथीहरूले करबल गरेपछि म उठेँ र अध्यक्षमा निर्वाचित भएँ । प्रत्येक शुक्रबार साहित्यिक कार्यक्रम, वादविवाद, कला प्रतियोगिता आदि गर्ने चलन थियो । आरम्भकै एक दिनको घटना हो वादविवाद कार्यक्रमको सभापतित्व मेरै भयो ।

हेडसरलगायत सबै शिक्षक विद्यार्थीहरू थियौं । अत्यमा मेरो मन्तव्यपछि मैले नै समापन गर्ने काम गरेँ । मैले बोलेको भाषणप्रति प्रशंसा गर्दै हेडसरले यसरी बोल्न कसले सिकायो भनेर सोध्नुभयो । मैले भनेँ म आफैंले जानेको हो । कहीँ सिकेको होइन । परिवारमा कोही राजनीति गर्ने तिम्रा अग्रज छन् भनेर सोध्नुभयो । मैले कोही छैनन् भनेँ । त्यसपछि उहाँ मौन हुनुभयो ।

कक्षा ४ देखि सीताराम हाइस्कुलमा पढ्दै आएँ । त्यहाँ शिक्षक विद्यार्थी साथीहरूबीच निकै सौहाद्र्रता थियो । पठनपाठन भने सन्तोषजनक देखिँदैनथ्यो । प्रायः हरेक दिनमा कुनै न कुनै शिक्षकको अनुपस्थिति र कक्षा खाली हुने गर्दथ्यो । म आफू विद्यार्थी युनियनको सभापति भएका नाताले हेडसरकोमा गएर शिक्षकको अनुपस्थितिलाई सुधार्न र कक्षा कोठाहरू सरसफाइ हुनुपर्ने कुरामा जोड दिइ नै रहेको हुन्थेँ । कक्षा ९ बाट उत्तीर्ण भएर कक्षा १० मा पुग्यौं तर पनि विद्यालयमा शिक्षकहरूको नियमितता देखिएन र विद्यालय परिचरहरूले सरसफाइ गर्ने कार्यमा पनि निष्क्रियता देखाइ नै रहे ।

दोस्रो हप्तामा पनि भुइँ लिप्ने काम भएन । कक्षामा धेरै धुलो उड्न थाल्यो, साथीहरूको नाक मुखबाट धुलो निस्कन थाल्यो, साथीहरू कराउन थाले अनि युनियनले आवाज उठाउनु पर्‍यो भन्न थाले । त्यसपछि विद्यालयको सरसफाइ र कक्षा नियमित सञ्चालन गराउने सम्बन्धमा माग राखी हेडसरको समक्ष प्रस्तुत गरेँ ।

हामी बस्ने कोठाहरू माटाका भुइँ भएकाले हरेक हप्ता लिप्ने चलन थियो, नत्र भने धुलो उड्दथ्यो तर शैक्षिकसत्रको आरम्भ कालमै कुनै सुधार देखिएन । दोस्रो हप्तामा पनि भुइँ लिप्ने काम भएन । कक्षामा धेरै धुलो उड्न थाल्यो, साथीहरूको नाक मुखबाट धुलो निस्कन थाल्यो, साथीहरू कराउन थाले अनि युनियनले आवाज उठाउनु पर्‍यो भन्न थाले । त्यसपछि विद्यालयको सरसफाइ र कक्षा नियमित सञ्चालन गराउने सम्बन्धमा माग राखी हेडसरको समक्ष प्रस्तुत गरेँ । हाम्रा माग लिखितै प्रस्तुत गरिएका थिए । मागपछि विद्यालय प्रशासन मदेखि रुष्ट भयो । तथापि मैले यस किसिमको अव्यस्थित रूपमा विद्यालय सञ्चालन हुन सक्दैन भनेर हेडसरलगायत शिक्षकहरूसमक्ष विरोध दर्शाएँ । हेडसरले मलाई आफ्नो कक्षामा जाऊ भन्नुभयो । म कक्षामा फर्किएँ ।

भोलिपल्ट बिहान १० बजे पहिलो घण्टीमा हेडसर हाम्रो कक्षामा आउनु भयो । उहाँ आउनासाथ हाजिर उठाउन थाल्नुभयो । हाजिर गर्दा गर्दै उहाँले मेरो नाम रातो कलम निकालेर स्वार्र काट्नुभयो । उहाँले ममाथि पोख्नुभएको आक्रोसले म त असन्तुष्ट भएँ नै अरू साथीहरूले पनि यो त राम्रो भएन भन्नथाले । हामीले विद्यालयको सामान्य सुधारको मागमात्र गरेका थियौं । यो विद्यालयप्रतिको कुनै नराम्रो कुरा थिएन । यसरी हेडसरले हाम्रो अध्यक्षमाथि किन यति ठूलो एक्सन लिनुभयो भनी साथीहरू हल्लीखल्ली गर्नथाले ।

त्यस बेलाको राज्य व्यवस्थाको निरंकुशता र विद्यार्थीको अनुशासित र आफ्नो गुरुप्रतिको आदरभावका कारण बढी विद्रोही हुनुभन्दा नामै काटेपछि विद्यालय छाड्ने विकल्प रोजे । त्यसपछि मेरा शुभचिन्तक देवीप्रसाद चापागाईं जनप्रभात मावि कालिमाटीमा शिक्षक हुनुहुन्थ्यो उहाँले त्यहाँ भर्ना हुने सल्लाह दिनुभयो । त्यसको लगतै चैत महिनाको दोस्रो हप्तादेखि जनप्रभात मावि कक्षा १० मा भर्ना भएँ र त्यहाँ पढ्नथालेँ ।

मैले साथीहरूलाई म अब यो विद्यालय छाड्नु पर्‍यो भनेर आफ्नो कुरा बताएर छाडेको थिए । साथीहरूलाई चित्त बुझिरहेको थिएन । त्यसैले मभन्दा अगाडि फष्ट ब्वाई सुशीलकुमार श्रेष्ठलगायत सबैजसो साथीहरू तँ पढ्ने स्कुलमा पढ्छौं भनेर आए । जनप्रभात हाइस्कुल त्यसै साल स्वीकृत भएकोले त्यहाँ विद्यार्थी संख्या बढाउनु नै थियो । त्यस उसले गर्दा मेरा सबै साथीहरूलाई सजिलै भर्ना गरिदिए । त्यस वर्ष १० कक्षा सीताराम हाईस्कुलमा अत्यन्त न्यून साथीहरूमात्र रहे । यस घटनाले विद्यालयको आन्तरिक प्रशासनबीच मनमुटाब उब्जियो । तत्कालीन हेडमास्टरलगायत शिक्षकले पनि विद्यालय छाड्ने काम गरेछन् । विद्यालय सुध्रिनुको सट्टा अरू अस्थिर र कमजोर हुँदैगयो ।

अब त्यसतर्फ चासो लिनुभन्दा आफ्नो करियर बनाएर पवेशिका परीक्षा राम्रो गर्नेतर्फ ध्यान दिन थाल्यौं । छोटै अवधिमा जनप्रभात हाइस्कुलका साथीहरू निकै घनिष्ट हुन थाले । साथीबीच रमाएर हाँसखेल गरी दिनहरू बित्न थाले । विद्यालयका हरेक क्रियाकलापमा सहभागी भयौं । यसैबीच हाम्रो एसएलसी टेष्ट परीक्षा आयो । हामी सबै परीक्षाको तयारीमा लाग्यौं टेष्ट उत्तीर्णपछि लगतै एसएलसी परीक्षा आयो । परीक्षा हामीले मिहिनेतका साथ दियौं । मलगायत साथीहरू सफल भयौं । हाइस्कुल पार गरेपछि आएर महेन्द्ररत्न कलेजमा बिहान पढ्न थालेँ । दिउँसो फुर्सद भयो ।

सीताराम हाइस्कुलमा पढाउन त्यहाँका हेडसरले बोलाउनुभयो । आफूले अध्ययन गर्दा छाडेको विद्यालयमा के जानुजस्तो लाग्यो तैपनि स्कुलप्रतिको मोह भने ममा छँदैथियो । त्यस उसले गर्दा म त्यहाँ पढाउन गएँ । हेडसरले सुरुकै दिनदेखि कक्षा ९ र १० मा पढाउन अनुमति दिनुभयो । तिनताका म गणित र विज्ञानबाहेक सबै विषय पढाउन सक्थेँ । विद्यार्थीले मैले पढाएको चित्त बुझाए । यसैबीचमा २०२२ सालदेखि बेलुका जनप्रभात रात्री प्रौढमा पढाउन त्यहाँका हेडसरले बोलाउनु भयो । त्यहाँ पनि २०२२ सालदेखि २०२८ सालसम्म पढाएँ । २०२६ सालमा सरस्वती कलेजमा बिए पढ्दै गर्दाको अवस्थामा मलाई अंग्रेजी पढाउने मेरा आदरणीय गुरु प्रा.आशाराम शाक्यले परोपकार हाइस्कुलमा पढाउन जोड गरेर लग्नुभयो ।

२०२२ सालदेखि बेलुका जनप्रभात रात्री प्रौढमा पढाउन त्यहाँका हेडसरले बोलाउनु भयो । त्यहाँ पनि २०२२ सालदेखि २०२८ सालसम्म पढाएँ । २०२६ सालमा सरस्वती कलेजमा बिए पढ्दै गर्दाको अवस्थामा मलाई अंग्रेजी पढाउने मेरा आदरणीय गुरु प्रा.आशाराम शाक्यले परोपकार हाइस्कुलमा पढाउन जोड गरेर लग्नुभयो ।

त्यहाँ झण्डै ५ वर्ष पढाउँदै गर्दाको बीच स्कुलमा तत्कालीन सञ्चालक समितिमा शिक्षक प्रतिनिधि निर्वाचनबाट चुनेर पठाउने चलन थियो । त्यसमा प्रजातान्त्रिक शिक्षकका तर्फबाट म उठेँ भने अर्का वामविचारक पुरुषरत्न बज्राचार्य पनि उठ्नुभयो । पुरुजी पनि मिलनसार र सहयोगी साथी नै हुनुहुन्थ्यो । हामी दुईबीचको निर्वाचनमा अत्यधिक मतले मैले जिते । सरस्वती कलेजमा पढ्दा पनि नेविसंघको विद्यार्थी थिएँ । सरस्वती कलजेमा पहिलोपटक मछिन्द्र पाठकलाई अध्यक्ष जितायौं भने दोस्रो पटकको चुनाव नारायणनरसिंह केसीलाई जितायौं । यसरी विद्यार्थी कालमा ने.वि.संघप्रति प्रतिबद्ध हुँदै आएको हुँ ।

२०३० सालमा नयाँ शिक्षा योजना लागू भएपछि परोपकार स्कुलको बिहानी सिफ्टमा नारी प्रौढ स्कुलको इन्चार्ज सहायक प्रधानअध्यापक परोपकारका हेडसर हितकरवीरसिंह कंसाकार र प्रा. आशाराम सरको बलजोडले मलाई बनाइयो । सबैको साथ सहयोगले बिहानको पठनपाठन कार्य राम्रो गर्दै थिएँ । अचानक मेरो इच्छाविपरीत परोकारबाट दरबार हाइस्कुलमा सरुवा गरियो र परोपकारको विद्यालय सहयोग समिति र विद्यालय प्रशासनले मलाई परोपकारमै राख्न बलजोड गर्दा पनि शिक्षा कार्यालयले सुनुवाही नगर्दा म बाध्य भएर दरबार हाइस्कुल जानुपर्‍यो । त्यहाँ पनि दिवा सिफ्ट इञ्चार्ज सहायक प्रधानाध्यापकको रूपमा काम गर्ने जिम्मेवारी दिएको थियो ।

त्यहाँ काम गरेको झण्डै ३ वर्षपछि कीर्तिपुर माविमा प्रअको रूपमा सरुवा गरियो । यो विद्यालय पनि अव्यवस्थित थियो र बघभैरव मन्दिरमा निम्नमाध्यामिक कक्षा चलाउनु पर्दथ्यो भने तल बेंसीमा हाइस्कुलका कक्षाहरू ठाउँको अभावमा चलाउनुपरेको थियो । तीन वर्षे मेरो कार्यकालमा सबै प्राथमिकदेखि हाइस्कुल एकै भवनमा सञ्चालन गर्ने व्यवस्था गरियो । सबैको साथसहयोगमा विद्यालयको शैक्षिक स्वरूप नै बदलियो ।

यसैबीचमा २०३५/०३६ सालको कुरो हो एक्कासि शिक्षा सचिवले बेलुकी पद्योदयको भवनको विस्तारित शिक्षा क्याम्पसमा पढाउँदै गर्दा फोन गर्नुभयो । उहाँले तपाईं भोलि १० बजे शिक्षा मन्त्रालय आउनु भन्नुभयो । भोलिपल्ट शिक्षा मन्त्रालय पुग्दा सचिवज्यूले तपाईंलाई हेडमास्टरबाट शिक्षा अधिकारीमा नियुक्ति गरिएको छ तयार भएर सिन्धुली जिल्लाको जिल्ला शिक्षा अधिकारीमा जानु भन्नुभयो । म धेरै अकमक्क परे । मेरा आफन्तहरूले पनि नजान सल्लाह दिइरहेका थिए ।

यसैबीच नयाँ सडकको पिपलबोटमुनि हरिदाइ र जनकनाथ प्याकुरेल सरसँग भेटभयो । उहाँहरू दुवैले ढुक्क भएर जानू राम्रोसँग चलाउन सक्छौं, यहाँबाट हाम्रो सहयोग हुन्छ भन्नुभयो । जनक दाइले हाम्रो कान्छो हेडमास्टरले कसरी प्रशासन चलायो हेर भनेर हामी मन्त्रालयदेखि जिल्लासम्मका अधिकारीलाई भन्ने मौका दिन्छौं जाऊ जाऊ भन्नुभयो । आफन्तहरूले नजा भनिरेको अवस्था थियो । त्यसपछि केही हौसाला बढ्यो र सिन्धुली गएँ । क्रमशः

(रमेश गौतम शिक्षाविद् हुनुहुन्छ । उहाँ नेपालको चर्चित विद्यालय पद्यमोदय माविको पूर्वप्रधानअध्यापक पनि हुनुहुन्छ । काठमाडौंका बासिन्दा गौतमको जीवनका विभिन्न पाटाहरूलाई केलाएर उहाँले नै लेख्नुभएको यो जीवनवृत्त पाठकवर्गका लागि शिक्षाप्रद हुने विश्वासका साथ क्रमशः शृंखलाबद्ध रूपमा प्रस्तुत गरेका र्छौं । (सम्पादक ।)

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?