‘बानेश्वरको सेरोफेरोमा’ विचरण गर्दा

हिमालय टाइम्स
Read Time = 16 mins

✍️ डा. रामदयाल राकेश
नामुद कानुनविद श्रीहरि अर्यालद्वारा लिखित ‘बानेश्वरको सेरोफेरो’ एउटा संस्मरणात्मक एवं विवरणत्मक कृतिको रूपमा बृहतताका रूपमा पाठकको समक्ष आउनु सुखद् कुरो हो । यसमा उहाँले अध्यात्म, समाज, संस्कृति र इतिहासको संस्पर्श दिनमा सफल हुनुभएको छ । म र उहाँ दुवैजना ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालमा सँगसँगै कार्यरत थियौं । उहाँ अध्यक्ष र म उपाध्यक्षको पदमा । उहाँको योगदान यस क्षेत्रमा पनि अविस्मरणीय छ तर दुई वर्षपहिला उहाँ एक्कासि यसबाट सदाका लागि उन्मुक्त हुनुभयो । उहाँले सँगै काम गर्दा पनि पुस्तक लेख्ने योजनाको सुइँको समेत दिनुभएन । एकैपल्ट विमोचनको कार्य घरमा हेर्दा म हर्षित भएँ तर विमोचन कार्यक्रममा सहभागी हुन सकिन ।
समीक्ष्य पुस्तक उहाँको लामो लेखन योजनाको प्रतिफल हो । बानेश्वर काठमाडौंको एउटा टोलमात्र होइन यसको लामो सांस्कृतिक, ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्व सर्वविदित छ तर आधुनिक शहरीकरणको प्रक्रियामा यसको महत्व ओझेलमा पर्न गएको थियो । तर श्रीहरि अर्यालज्यूको अथक प्रयास एवं प्रयत्नले गर्दा यसको प्राचीन महिमा र गौरव गरिमा अहिले पुनजीर्वित भएर प्रकाशमा आएको छ । संयोगबस म पनि बानेश्वरको बासिन्दा हुनपुगेको छु तर मलाई यसको ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पुरातात्विक पृष्ठभूमिको अल्प जानकारीमात्र थियो, समीक्ष्य पुस्तक आद्योपान्त पढेपछि यसको महत्वबाट परिचित हुन पुगेँ म उहाँलाई साधुवाद दिन्छु ।

समीक्ष्य पुस्तकको प्रारम्भमा प्रसिद्ध संस्कृतिविदहरू डा.गोविन्द टण्डन र नयनाथ पौडेलज्यूहरूको विद्वतापूर्ण विचार पनि पठनीय छ । डा.गोविन्द टण्डनले आफ्नो ‘सुभावना’ शीर्षकमा यसरी आफ्नो अभिव्यक्ति अभिव्यक्त गर्नुभएको छ जुन सही हो भन्न सकिन्छ ः ‘सम्पूर्ण पुस्तक पढिसक्दा थाहा पाएँ–यो बानेश्वरको एक प्रकारको इतिबृत्त नै तयार भएको रहेछ, साथै श्रीहरिजीका बाल्यकालका कतिपय प्रसंगहरू पनि यसमा जोडिएको पाएँ । पढ्दै जाँदा नछोडुँ नछोडुँ जस्तो लाग्ने । आत्मबृतान्त भनुँ आत्मबृतान्त होइन, बानेश्वरको इतिहास भनुँ सम्पूर्णमा त्यो पनि होइन तर एकपछि अर्को पढ्ने कौतुहलता जाग्ने किसिमको चाखलाग्दो कृति तयार भएछ । बानेश्वर भेगको कतिपय विषयमा व्यक्तिसँगको आफ्नो परिचय तथा तिनै विषयमा यस पुस्तकमा कहीँ विस्तृत कहीँ केही सूचनाको सन्दर्भ पाइनाले पनि पुस्तक पठनीय भएको छ ।’

त्यस्तै मत्तव्य डा.नयनाथ पौडेलज्यूले लेख्नु भएको छ : ‘आत्मबृतान्तको रूप यस पुस्तकमा यता उति समाहित नभएको होइन, छ । यसो हुनु स्वाभाविक हो । किनभने आफूले देखेका, भोगका, सुनेका कुरालाई समष्टिगत रूपमा प्रस्तुत गर्न खोज्दा आफू देखा पर्न परिहाल्यो नि । यस किसिमले हेर्दा प्रस्तुत पुस्तक बानेश्वरको सेरोफेरोको विषयमा लेखिएको देखिए तापनि यसले तात्कालिक शासन-व्यवस्था, सामाजिक, आर्थिक एवं सांस्कृतिक परिवेशको विषयसमेत जानकारी गराउन सफल भएको छ ।’

विद्वान लेखकले बडो विवेकपूर्ण ढंगबाट समीक्ष्य पुस्तकलाई चौध खण्डमा विभाजित गरेर पाठकलाई पढ्न सजिलो होस् भनेर प्रस्तुत गर्नु भएको छ । विभिन्न शीर्षक र उपशीर्षकमा प्रस्तुत सामग्री विचारणीय त छँदैछ मननीय पनि छ । खण्ड एकमा-बानेश्वर न नयाँ न पुरानोमा सामान्य परिचय दिनुभएको छ । बानेश्वरसम्बन्धी किंबदन्तीबाट पनि पाठकलाई सुसूचित गराउनमा सिपालु हुनुहुन्छ । बानेश्वरको महादेवस्थान, पुस्तकालय, विद्याश्रम र पीपलको बोट आदिको व्यवस्थित जानकारी पस्किनु भएको छ भने यहाँ कसरी कूटनीतिक नियोग र हवाई मैदान नबन्नुको कारण पहिल्याउनु भएको छ ।

खण्ड दुईमा-बानेश्वरको दूरबीनबाट देखेको काठमाडौंको राणाको दरबारको अवस्था, सामाजिक उत्तरदायित्व र आफ्नो अविस्मरणीय सम्झना आदिको, झझल्को झल्काउनुभएको छ । खण्ड तीनमा- हात्तीगौंडादेखि पीपलको बोटसम्म, सेतीदेवी गणेशस्थान, कालेश्वर शिवमन्दिरको बारेमा बन्दाबन्दीमा घरघर घुम्दै रोचक जानकारी दिनु भएको छ । खण्ड चारमा-महादेव स्थान पश्चिम उत्तरको बानेश्वर र बानेश्वरको पहिलो मुण्डाघर, पहिलेको थुनुवा घरको साथ साथै र प्रौढ शिक्षलयको स्थापना बारे प्रस्ताव आदिको जानकारी पाइन्छ ।
खण्ड पाँचमा–लाखेचौरको सेरोफेरो, पृथ्वीजयन्ती मनाउने परम्परा, त्रिभुवनका दौतरी, कर्णेल झपटबहादुर राणाको प्रसंग र विज्ञान कलेजको प्रयासमाथि प्रकाश पार्नुभएको छ । खण्ड छ मा-थापागाउँको सरोफेरो, जातिपिच्छेको गाउँ, पध्मध्वजसँग जोडिएको प्रसंग, गंगादेवी टोलको सेरोफेरो आदिको चियोचर्चा गरिएको पाइन्छ । खण्ड सातमा–छक्कुबक्कु भगवतीको सेरोफेरोमा छक्कुबक्कु भगवतीसँग जोडिएको प्रसंग धेरैजसो पाठकलाई थाहा छैन । पुरानो सार्की गाउँको साथसाथै बोगटी गाउँको इतिहास बहुचर्चित लक्ष्मीको पसल, बानेश्वरको हृवाइटहाउस र ब्यारेकमा चतुर्मासा पुराणको प्रसंग रोचक छ ।

खण्ड आठमा–शंखमूलबारीको बस्ती जोशी परिवारको पृष्ठभूमि र बुद्धनगरको नामकरण कसरी भएको जानकारी पस्किएको छ । खण्ड नौमा–यसमा शंखमूलको सम्झना, यता फाँट उता घाट बागमती सभ्यता, बागमतीमा तीर्थयात्राको साथसाथै पानीको प्रदूषणको बेलीविस्तार पाइन्छ । खण्ड दशमा-मीनभवनको सेरोफेरो मीनभवनको चौर, धनकुटा मुगाका थापा बानेश्वरमा एकतीस वर्ष बडाहाकिम र जुद्धशमशेरका निकट उद्धीमसिंह आदिको साथसाथै सबैभन्दा रोचकघोचक जानकारी ‘दर्जा कप्तानको काम अनुवादकको’ रहेछ ।

खण्ड एघारमा-लेखकले पञ्चकुमारीको सेरोफेरोमा पञ्चकुमारीको बारेमा अनुसन्धानात्मक ज्ञानको परिचय दिनुभएको छ । जुद्धशमशेरसँग गोठालाको संवाद बडो रमाइलो छ । पञ्चकुमारीसँग जोडिएका अन्य प्रसंगहरूमाथि प्रकाश पार्नुभएको छ । उपन्यास लेखक तोयनिधि पौडेलको साहित्यिक परिचय दिइएको छ । पञ्चकुमारीको छमछम्ती नाच्दै खरीको बोटतिर जिज्ञासामूलक जानकारी पस्किनुभएको छ । खण्ड बाह्रमा–पञ्चकुमारीको खोजीमा र पञ्चकुमारीको परिचय प्रस्तुत गर्दा लेखकले देवी-गीताको रहस्य, सप्तशती चण्डीमा देवी आदि अनुसन्धानात्मक जानकारी पस्केर प्रशंसनीय काम गर्नुभएको छ ।

खण्ड तेह्रमा-भीमसेनगोलादेखि वाणगंगासम्म भीमसेनगोला स्थान, रणबहादुर शाह वनारस गएपछि दाम राख्न जाँदा, मोहन समशेरले थुनिनु पर्ला भनेपछि बिस्कुट बाँड्न डाइरेक्टरको स्वीकृति र भूतको प्रसंग धेरै रोचकढंगबाट वयान गरिएको छ । बहादुर शाहको सन्तान, भीमसेनगोलातिरको पुरानो अवस्था भीमसेनगोलामा राणा परिवार आदि प्रसंगहरू पठनीय छन् । खण्ड चौधमा-पहिलो हवाई दुर्घटनाबाट उम्किएका एक आस्थावान मान्छेमा सुशील झाको चारित्रिक चित्रण चित्ताकर्षक छ । सुशील झामार्फत लेखकले काठमाडौं र तराईबीचको पुरानो सम्बन्धलाई उजागर गरेर नयाँ पुस्तालाई विशेष जनाकारी दिन खोज्नुभएको छ ।

समीक्ष्य पुस्तकमा विद्वान लेखकले भूत, प्रेत र किचकन्नीको चियोचर्चा आफूले गरेको प्रायजसो धेरै मानिससँग जान्ने उत्सुकता लिन खोज्नुभएको छ । हुँदा-हुँदा हजुरबाका भूतका कुरालाई समेट्नु भएको छ । तराई मधेसमा मात्र होइन काठमाडौंमा भूतप्रेतको उपद्रो र गतिविधिसित पाठकलाई परिचित गराउनु भएको छ । म अहिले बसेको ठाउँ शान्तिनगरसम्म भूतप्रेत, किचकन्नी, स्याल आदिको जगजगी एवं बिगबिगीबाट मानिस परिचित छन् ।

भूतप्रेत र किचकन्नीको प्रसंगबाट समीक्ष्य पुस्तक भरिएको छ जुन पहिला पहिलाको सत्य अनुभूतिको अभिव्यक्ति भन्न सकिन्छ । पञ्चकुमारीको छमछम्ती नृत्यबाट चकमन्न भरिएको दृश्य बुढापाकाबाट सुनिनु कम रोचक छैन । यिनीहरूको अस्तित्वलाई पूर्णअस्वीकार गर्न सकिन्न । यस्ता प्रसंगबाट पाठकलाई अवगत गराउनु पनि लेखकको प्रयास प्रशंसनीय भन्न सकिन्छ ।

यसबाहेक बानेश्वरमा बसोबास गर्ने केही विशिष्ट व्यक्ति, जस्तो शिक्षक, चिकित्सक, विकासप्रेमी, शिक्षाप्रेमीहरूको बारेमा वर्णन गरिएको जानकारी पाठकलाई विशेष मन पर्ने छ । नेपालमा प्रजातन्त्रको पृष्ठभूमिको प्रारम्भिक ज्ञान पनि यहाँ पाइन्छ । जस्तो : ‘नेपाली कांग्रेसले देशमा प्रजातन्त्रका स्थापनाकालमा गरेको संघर्षमा धेरै मानिसले योगदान दिएका थिए आआफ्नो ठाउँबाट । त्यसमध्येमा शीर्षस्थ नेताहरूको अलावा सुन्दरराज चालिसे, बद्रीविक्रम थापासमेत अग्रणी भूमिका थियो । त्यसबेला यिनीहरूलगायत केही व्यक्तिले सेनाका कैयौं व्यक्तिलाई आफ्ना पक्षमा मिलाउन सकेका र हातहतियारको बन्दोबस्त पनि गर्दै गरेका रहेछन् । त्यसै सिलसिलामा तोरणसमशेर, प्रतापविक्रम शाह, कृष्णविक्रम शाहका साथै चेतबहादुर क्षत्रिय (केसी) का अतिरिक्त धेरै मानिस यस कामका लागि गोप्य रूपमा सामेल भएछन् । पृ.१२२

लेखकको आँट र लेख्ने अभिरुचिले बन्दाबन्दीको बेलामा पनि यो पुस्तक लेखन पूरा गरिएको छ । लेखकको आत्मबल र आत्मविश्वासलाई अभिन्न्दनीय मान्न सकिन्छ । जसले गर्दा उहाँ आफ्नो लेखन अभियानमा अग्रसर हुँदै यसलाई पूरा गरेर पाठकलाई एउटा प्रेरणाप्रद उदाहरण प्रस्तुत गर्नुभएको छ । पुस्तक लेखन एउटा ठूलो चुनौती हो । त्यो तथ्य स्वीकार गर्दै आफ्नो लेखन कार्यमा कोरोनाकालमा पनि घरघरमा गएर सम्बन्धित मानिससित कुराकानी गरेर आवश्यक जानकारी पुस्तकमा संकलित गर्नु कम साहसको काम होइन ।

त्यसबेलाको समाजले तीन किसिमका दानलाई महादान भन्ने गथ्र्यो-त्यो भनेको कन्यादान, भूमिदान र विद्यादान । लेखकले पनि यहाँ आफ्नो अनुभव, ज्ञानको दान पाठकहरूलाई पस्किन पछाडि पर्नुभएको छैन । लेखकको भषाशैली-लेखकको भाषा शैली सरल र संप्रेषणीय छ । उहाँको कानुनी भाषामाथि मात्र पकड होइन साहित्यिक भाषा पनि सराहनीय छ । भाषामाथि आफ्नो पकड छ । यस सन्दर्भमा लेखकका केही पंक्तिहरू प्रस्तुत गर्न सान्र्दभिक नै होला : ‘हिमालहरू नजिकै भएजस्तो सेतै देखिन्छन् । सडकहरू वा बाटो काट्न समस्या छैन । राजमार्गका बोटबिरुवा चिल्ला देखिन्छन् । कतिपय बोटहरूमा राम्राराम्रा फूल फूलेका छन् । मानिसका घरका छानाहरू धुलोविहीन भएकाले सफा देखिएका छन् । काठमाडौं सुन्दर, शान्त देखिएको छ भन्ने कुरा पञ्चकुमारीदेखि मीनभवनको आसपास जाँदासम्मको अनुभवबाट अन्दाज गर्न सकिन्छ ।’ पृ.३२२ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?