गठबन्धनका उम्मेदवारलाई हराउँदै धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवार हमाल र उपमेयरमा एमालेकी राना विजयी

Read Time = 3 mins

-गोविन्द बीसी
कैलाली । धनगढी उपमहानगरको मेयरमा गठबन्धनका उम्मेदवारलाई हराउँदै स्वतन्त्र उम्मेदवार गोपाल हमाल विजयी हुनु भएको छ । उहाँले गठबन्धन दलबाट उम्मेदवार हुनु भएका नेपाली काँग्रेसका नृपबहादुर वडलाई दोब्बर मतान्तरमा पराजित गर्नुभएको हो ।

निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार स्वतन्त्र उम्मेदवार हमालले २६ हजार ८ सय ६५ मत प्राप्त गर्नु भएको छ । उहाँले निकटतम प्रतिस्पर्धी काँग्रेसका केन्द्रीय सदस्य तथा निर्वतमान मेयर वडले १४ हजार ८ सय १७ मत प्राप्त गर्नुभयो । तेस्रोमा एमालेका रणबहादुर चन्दले ९ हजार ११५ मत प्राप्त गर्नु भएको छ । धनगढी उपमहानगरमा कुल ६३ हजार ७१५ मत खसेको थियो । आँप चुनाव चिन्हबाट चुनावी प्रतिस्पर्धामा रहनु भएका हमालले प्रारम्भिक चरणदेखि नै दोब्बर मतान्तरमा अग्रता कायम गर्नु भएको थियो । २०७४ को स्थानीय निर्वाचनका पनि स्वतन्त्र उम्मेदवार हमाल र काँग्रेसका वडबीच प्रतिस्पर्धा भएको थियो । त्यसबेला वडले हमाललाई २ हजार ७ सय ९७ मतान्तरमा पराजित गर्नु भएको थियो ।

यसपटक हमालले वडलाई १२ हजार ४८ मतान्तरमा पराजित गर्नुभएको हो । यसपटकको चुनावमा कांग्रेसले माओवादी केन्द्र, एकीकृत समाजवादीको साथ पाउँदा पनि वडले फराकिलो मतान्तरमा हार व्यहोर्नु परेको छ ।

यस्तै, उपमेयरमा एमालेकी कन्दकला राना विजयी हुनु भएको छ । रानाले १५ हजार ४ सय ७९ मत प्राप्त गर्दै माओवादी केन्द्रबाट उम्मेदवार शान्ती अधिकारीलाई पराजित गर्नु भएको हो ।

अधिकारीले १२ हजार ६ सय ७० मत प्राप्त गर्नु भएको छ । माओवादी केन्द्रकी अधिकारीलाई रानाले उपमहानगरका ८ , ९, ११ र १२ वडाको मतगणनापछि पछाडि पार्नु भएको थियो । १९ वटा वडा रहेको धनगढीमा काँग्रेसले ११ वटा वडा जितेको छ भने एमालेले ६ वटा र माओवादी केन्द्रले २ वटा वडा जितेको छ ।

वडा नम्बर १,२,३,४,५,१४,१५,१७,१९,९ र १३ कांग्रेसले जितेको छ । एमालेले ७, ८, १०, ११, १२ र १८ र माओवादी केन्द्रले ६ र १६ नम्बर वडा जितेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?