धनुषाका १०मा कांग्रेस, तीनमा जसपा,दुईमा एमाले र एकमा माओवादी केन्द्र विजयी

हिमालय टाइम्स
Read Time = 5 mins

जनकपुरधाम । गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचन अन्तर्गत धनुषाका १८ पालिका मध्ये १६ पालिकाको मतपरिणाम सार्वजनिक भएको छ भने दुईवटाको मतगणना जारी छ ।
ती मध्ये १० मा नेपाली कांग्रेस, तीनमा जनता समाजवादी पार्टी ९जसपा०, दुईमा नेकपा (एमाले) र एकमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवारले विजयी हासिल गर्न सफल भएका छन् ।

जनकपुरधाम उपमहानगपालिका र क्षीरेश्वरनाथ नगरपालिकाको मतपरिणाम आउन बाँकी रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । सार्वजनिक भएको पछिल्लो मतपरिणामअनुसार लक्ष्मीनियाँ गाउँपालिका अध्यक्षमा कांग्रेसका भोगेन्द्र मिश्र र उपाध्यक्षमा पनि सोही पार्टीका फूलकुमारी यादव विजयी हुनुभएको छ ।

औरही गाउँपालिकाको अध्यक्षमा एमालेका उमाशङ्करप्रसाद साह र उपाध्यक्षमा सोही पार्टीका पुनम साह निर्वाचित हुनुभएको छ । धनौजी गाउँपालिकामा कांग्रेसका अध्यक्षमा राजकुमार साह र उपाध्यक्षमा रामवतीदेवी मण्डल दुवै पदमा विजयी भएका छन् । त्यस्तै जनकनन्दिनी गाउँपालिकाको अध्यक्षमा जसपाका दिपीन देव निर्वाचित हुनुभएको छ भने उपाध्यक्षमा कांग्रेसका कमला सहगल निर्वाचित हुनुभएको छ ।

विदेह नगरपालिकाको प्रमुखमा दोस्रो कार्यकालका लागि पुनः एमाले उम्मेदवार बेचन दास तत्मा निर्वाचित हुनुभएको छ भने उपप्रमुखमा पनि सोही पार्टीका आशा झा निर्वाचित हुनुभएको छ । धनुषाधाम नगरपालिको प्रमुखमा कांग्रेसका बालेश्वर मण्डल र उपप्रमुखमा कांग्रेसकै विद्यादेवी भुजेल निर्वाचित हुनुभएको छ ।

कमला नगरपालिकाको नगरप्रमुखमा कांग्रेसका उम्मेदवार विशेश्वर यादव र उपप्रमुखमा कांग्रेसकै शिलादेवी मण्डल निर्वाचित हुनुभएको छ । सहिदनगर नगरपालिकामा भने नगरप्रमुखमा जसपाका उम्मेदवार दिनेशप्रसाद यादव र उपप्रमुखमा कांग्रेसका सुनिताकुमारी सिंह विजयी हुनुभएको छ ।

मुखियापट्टी मुसहरनिया गाउँपालिकाको अध्यक्षमा जसपा उम्मेदवार जयकुमार यादव र उपाध्यक्षमा जसपाकै सैदा खातुन निर्वाचित हुनुभएको छ । बटेश्वर गाउँपालिकाको अध्यक्षमा कांग्रेसका उम्मेदवार रामअशिष महतो र उपाध्यक्षमा सोही पार्टीकै फूलकुमारी सिंह निर्वाचित हुनुभएको छ ।

मिथिला नगरपालिकाको प्रमुखमा कांग्रेसका महेन्द्र महतो र उपप्रमुखमा एमालेका सुनितासिंह बुढाथो निर्वाचित हुनुभएको छ । त्यस्तै नगराइन नगरपालिकाको प्रमुखमा कांग्रेसका उम्मेदवार विनयकुमार यादव र उपप्रमुखमा एमालेका राधादेवी यादव विजयी हुनुभएको छ ।

गणेशमान चारनाथ नगरपालिका प्रमुखमा जितनारायण यादव र उपप्रमुखमा तुलसाकुमारी पाण्डेय निर्वाचित भएका छन् । त्यस्तै सबैला नगरपालिकाको प्रमुख पदमा माओवादीका केन्द्रका उम्मेदवार कारीराम यादव र उपप्रमुख रहिमा खातुन निर्वाचित हुनुभएको छ ।

हंसपुर नगरपालिकाको प्रमुखमा कांग्रेसका उम्मेदवार प्रदीप यादव र उपप्रमुखमा कांग्रेसकै दुर्गा देवी निर्वाचित हुनुभएको छ । त्यस्तै मिथिला बिहारी नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस उम्मेदवार राजेन्द्रप्रसाद यादव र उपप्रमुखमा माओवादी केन्द्रका उम्मेदवार शोभादेवी साह निर्वाचित हुनुभएको छ ।

धनुषाको क्षीरेश्वरनाथमा अहिलेसम्मको मतगणनामा एमालेले र जनकपुर धाममा स्वतन्त्र उम्मेदवार मनोज साहले निरन्तर अग्रता कायम राख्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?