चन्दन र राजेन्द्र पहिलो

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । काठमाडौंका चन्दन शाही र ललितपुर जिल्ला टेबलटेनिस संघका राजेन्द्र बज्राचार्यले प्रथम मिलन स्मृति जुनियर राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा शनिबार स्वर्णपदक जित्नुभएको छ । भेट्रान पुरुष सिंगल्सको ४० वर्षमाथि चन्दन र ५० वर्षमाथि राजेन्द्र पहिलो हुनुभएको हो ।

स्पिन इभेन्ट्स प्रालिद्वारा आयोजित प्रतियोगिताको ४० वर्षमाथि फाइनलमा चन्दनले एमआईएसका नरेश रावललाई ७-११, ११-८, ११-३, ११-७ र ११-६ को सेटमा पराजित गर्नुभयो । ललितपुरका राजीव महर्जन र कीर्तिपुरका प्रशान्त महर्जनले तेस्रो स्थानमा चित्त बुझाउनुभयो ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको ५० वर्षमाथि फाइनलमा राजेन्द्रले एनसिसिएसका कपुर शर्मा पौडेललाई १२-१४, ७-११, ११-७, ११-८, ११-८ र १४-१२ को सेटमा हराउनुभयो । एपिएमका विश्वास गौचन र एएनएस १९८० का किरणमुनि बज्राचार्य तेस्रो बन्नुभयो ।

प्रतियोगितामा भेट्रान र विभिन्न उमेर समूह गरी आठ स्पर्धा रहेको आयोजक स्पिनका सचिव ज्याकी महर्जनले जनाउनुभएको छ । आठै स्पर्धामा नगद पुरस्कार राखिएको छ । सोमबारसम्म चल्ने प्रतियोगितामा करिब २ सय ५० खेलाडीको सहभागिता रहेको आयोजकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?