बैंग्लोर आइपिएलको प्लेअफमा

Read Time = 4 mins

बैंग्लोर । रोयल च्यालेन्जर्स बैंग्लोर इन्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफमा प्रवेश गरेको छ । मुम्बई इन्डियन्सले दिल्ली क्यापिटल्सलाई पाँच विकेटले पराजित गरेपछि बैंग्लोर प्लेअफमा प्रवेश गरेको हो । जितका लागि १६० रनको विजयी लक्ष्य पछ्याएको मुम्बईले १९.१ ओभरमा पाँच विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो । मुम्बईका ओपनर इशान किशनले ३५ बलमा तीन चौका र चार छक्कासहित सर्वाधिक ४८ रन बनाउनुभयो । यस्तै युवा ब्याटर डेवाल्ड ब्रेभिसले ३३ बलमा एक चौका र तीन छक्कासहित ३७ रन जोड्नुभयो ।

टिम डेविडले ११ बलमा दुई चौका र चार छक्कासहित ३४ रनको आक्रामक पारी खेल्नुभएको थियो । दिल्लीका शार्दुल ठाकुरले तीन ओभरमा ३२ रन खर्चेर दुई विकेट लिनुभयो । यस्तै एनरिच नोर्कियाले चार ओभरमा ३७ रन खर्चेर दुई विकेट लिनुभयो ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १५९ रन बनाएको थियो । दिल्लीका रोभम्यान पावेलले ३४ बलमा एक चौका र चार छक्कासहित सर्वाधिक ४३ रन तथा ऋषभ पन्तले ३४ बलमा चार चौका र एक छक्कासहित ३९ रन थप्नुभएको थियो ।
पाँचौँ विकेटका लागि पन्त र पावेलले ७५ रनको साझेदारी गरेसँगै दिल्ली अगाडि बढेको थियो । त्यसअघि दिल्लीका ओपनर पृथ्वी शा २३ बलमा दुई चौका र एक छक्कासहित २४ रन, डेभिड वार्नरले पाँच, शरफराज खानले १० र अक्षर पटेलले १० बलमा दुई छक्कासहित १९ रन जोड्नुभएको थियो ।

मुम्बईका जसप्रित बुमराहले चार ओभरमा २५ रन खर्चेर तीन तथा रमनदीप सिंहले दुई ओभरमा २९ रन खर्चेर दुई विकेट लिनुभयो । त्यसबाहेक मयंक मारकान्डे र ड्यानियल साम्सले एक/एक विकेट लिनुभयो ।

योसँगै प्लेअफको समीकरण पूरा भएको छ । अब पहिलो क्वालिफायरमा मंगलबार शीर्षस्थानको गुजरात टाइटन्स र दोस्रो स्थानको राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुनेछ । बुधबार एलिमिनेटरमा बैंग्लोर र लखनउ सुपर जायन्ट्सबीच प्रतिस्पर्धा हुनेछ ।

दिल्लीले खेल जितेको खण्डमा १६ अंकसहित नेटरनरेट पनि राम्रो भएकाले अगाडि बढ्ने अवस्था थियो । तर, आफू अनुकूल नतिजा निकाल्न नसकेपछि दिल्लीको यात्रा रोकिएको हो । आफूले चाहेजस्तै नतिजा आएपछि बैंग्लोरले १६ अंकका साथ एलिमिनेटरमा लखनउसँगको भेट पक्का गरेको हो ।

पहिलो क्वालिफायरको विजेता टोली सोझै फाइनलमा पुग्नेछ । पराजित हुने टोलीले एलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ । आइपिएलको दोस्रो क्वालिफायर २७ मे र फाइनल २९ मे मा अहमदाबादमा हुनेछ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?