अन्तिम खेलमा एम्बाप्पेको हृयाट्रिक

हिमालय टाइम्स
Read Time = 2 mins

पेरिस । फ्रेञ्च लिग वान फुटबलको अन्तिम खेलमा केलियन एमबाप्पेले हृयाट्रिक गरेपछि लिग वान च्याम्पियन बनिसकेको पिएसजीले मिट्जमाथि ५-० को फराकिलो जित हात पारेको छ । पिएसजीको जितमा एमबाप्पेले हृयाट्रिक गर्नुका साथै नेमार र एन्जल डि मारियाले समान एक/एक गोल थप्नुभएको थियो ।

खेलको २५औँ मिनेटमा एम्बाप्पेले गोल गर्दै पिएसजीलाई अग्रता दिलाउनुभएको थियो । उहाँले एन्जल डि मारियाको पासमा गोल गर्नुभएको थियो । २८औँ मिनेटमा एमबाप्पेले लियोनेल मेस्सीको पासमा दोस्रो गोल गर्नुभयो ।

३२औँ मिनेटमा नेमारले गोल गर्दै पिएसजीलाई पहिलो हाफमा ३-० ले अघि बढाउनुभयो । दोस्रो हाफको सुरुवातमै गोल गर्दै एम्बाप्पेले आफ्नो हृयाट्रिक पूरा गर्नुभयो । एन्जल डि मारियाले ६७औँ मिनेटमा गोल गर्दै पिएसजीलाई ५-० गोलअन्तरले जित दिलाउनुभयो । यो जितसँगै पिएसजीले ३८ खेलबाट ८६ अंक जोड्यो । पराजित मेट्ज ३१ अंक जोडेर १९औँ स्थानमा रहेर रेलिगेसनमा परेको छ ।

यता रियल म्याड्रिड जाने चर्चा चलिरहेका बेला एमबाप्पेले पिएसजीमै रहने निर्णय गर्नुभएको छ । रियल र पिएसजी दुवै क्लबले एमबाप्पेलाई नयाँ सम्झौता हस्ताक्षर गरेबापत १५० मिलियन युरो तिर्न राजी भइसकेका बेला एमबाप्पेले पिएसजीमै रहने निर्णय गर्नुभएको हो । एमबाप्पेले सन् २०२५ सम्मका लागि पिएसजीमा सम्झौता गर्नुभएको हो । एजेन्सी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?