१२ देशमा मंकिपक्सको केस पुष्टि, अझै फैलिन सक्ने डब्ल्युएचओको चेतावनी

Read Time = 3 mins

न्यूयोर्क । कम्तीमा १२ देशमा मंकिपक्सका ८० भन्दा बढी केस पुष्टि भएका छन् । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कुनै पनि देशको नाम नलिइकन थप ५० संदिग्ध केसहरू अनुसन्धान भइरहेको जनाएको छ । अझै बढी केसहरू बढ्ने चेतावनी पनि डब्ल्युएचओले दिएको छ ।
अमेरिका, क्यानडा र अष्ट्रेलियाबाहेक नौवटा युरोपेली देशहरूमा संक्रमण पुष्टि भइसकेको छ । मध्य तथा पश्चिम अफ्रिकाका दुर्गम क्षेत्रमा मंकिपक्स बढी मात्रामा देखिन थालेको छ । बेलायतको राष्ट्रिय स्वास्थ्य सेवाका अनुसार यो एक दुर्लभ भाइरल संक्रमण हो, जसको सामान्यतया हल्का असर हुन्छ र अधिकांश संक्रमित केही हप्तामा निको हुन्छन् ।

भाइरस मानिसमा सजिलै नसर्ने र जोखिम निकै कम रहेको बताइएको छ । मंकिपक्सका लागि कुनै विशेष खोप छैन । तर, बिफरको खोपले ८० प्रतिशत सुरक्षा प्रदान गर्दछ, किनकि दुई भाइरसहरू निकै समान छन् ।

हालसम्म युरोपका सार्वजनिक स्वास्थ्य एजेन्सीहरूले बेलायत, स्पेन, पोर्चुगल, जर्मनी, बेल्जियम, फ्रान्स, नेदरल्याण्ड्स, इटाली र स्विडेनमा केसहरू पुष्टि गरेका छन् । शुक्रबार एक विज्ञप्तिमा डब्ल्युएचओले हालैका प्रकोपहरू असामान्य रहेको र त्यो अन्य देशहरूमा फैलिएको जनाएको छ । यो भाइरस त्यति खतरनाक नदेखिए पनि भाइरसले उत्परिवर्तन गरिरहने र त्यसका नयाँ स्ट्रेनहरू निस्कने भएकाले यसलाई रोक्न व्यापक प्रयासको खाँचो रहेको विज्ञहरूको भनाइ छ ।

मंकिपक्सको पहिलो मानव केस सन् १९७० मा कंगो गणतन्त्रमा रिपोर्ट गरिएको थियो, र त्यसपछि यो संक्रमण मध्य र पश्चिम अफ्रिकाका धेरै देशमा आवधिक रूपमा फैलिएको छ । अफ्रिका बाहिर मंकिपक्सका केसहरू विरलै देखिए पनि हालैका वर्षमा अमेरिका, बेलायत, इजरायल र सिंगापुरमा घटनाहरू रिपोर्ट गरिएका छन् । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?