पेट्रोल, ग्याससहित सबैजसो पेट्रोलियम पदार्थको भाउ बढ्यो, अब एक लिटर पेट्रोलको १८० रुपैयाँ

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । सरकारले पेट्रोल, डिजेल, मट्टीतेल, खाना पकाउने एलपी ग्यास र हवाइ इन्धनको मूल्य बढाएको छ । आइतबार राति १२ बजेबाट लागू हुने गरी सरकारले पेट्रोल, डिजेल, मट्टीतेल र हवाइ इन्धन (आन्तरिक) लिटरमा १० रूपैयाँ र ग्यासमा प्रतिसिलिन्डर दुई सय रूपैयाँ बढाएको हो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यसँगै प्रशोधित तेलको मूल्य निरन्तर बढ्दै गएको भन्दै नेपाल आयल निगमले मूल्य बढाएको हो ।

यसअघि वैशाख ३१ गते मात्र सरकारले पेट्रोल र डिजेल लिटरमा १० रूपैयाँ बढाएको थियो । नयाँ मूल्यसँगै अब पेट्रोल १८० रूपैयाँ, डिजेल र मट्टीतेल १६३ रूपैयाँ लिटर पर्नेछ । त्यस्तै एलपी ग्यास १८०० (एक हजार ८ सय) रूपैयाँ पर्नेछ । हवाइ इन्धन (आन्तरिक) को मूल्य लिटरको १६६ रूपैयाँ पुगेको छ । भारतीय आयल कर्पोरेसन (आइओसीले) पठाएको पछिल्लो मूल्यका आधारमा आयल निगमले मूल्य समायोजन गरेको बताएको छ ।

समायोजनपछिको मूल्यमा पनि निगमलाई महिनामा ग्यासमा करिब तीन अर्ब, डिजेलमा करिब तीन अर्ब ४० करोड र पेट्रोलमा एक करोड रूपैयाँ घाटा हुने देखिएको निगमले जनाएको छ । निगमलाई मट्टीतेल, हवाई इन्धनमा भने नाफा छ । मट्टीतेलमा लिटरको २२.११ रूपैयाँ, हवाई इन्धन आन्तरिकतर्फ १३.९८ रूपैयाँ र बाह्यतर्फ ५९.८१ रूपैयाँ नाफा रहेको निगमले जनाएको छ । युक्रेनमाथि रूसी आक्रमणपछि अन्तर्राष्ट्रिय तेल बजारमा ठूलो प्रभाव परेको छ । कच्चा तेलको मूल्य उकालो लागेसँगै पेट्रोल लगायत इन्धनको भाउ बढेको हो । अर्कातर्फ आयल निगम पहिल्यैदेखि घाटामा चलिरहेको थियो । त्यसैले अहिले नेपाली बजारमा इन्धनको भाउ छोटो समयमै धेरै बढिरहेको छ ।

मूल्यवृद्धि फिर्ता नलिए आन्दोलन हुन्छ : विद्यार्थी संगठन
एक सातै दोस्रो पटक पेट्रोलियम पदार्थमा भएको भारी मूल्य बृद्धिप्रति प्रमुख विद्यार्थी संगठनले आपत्ति जनाएका छन् । सत्तारुढ दल नेकपा माओवादी केन्द्र, जनता समाजवादी र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसम्द्ध बिद्यार्थी संगठनले एक सातामा दुई पटक भएको मूल्य वृद्धि फिर्ता लिन सरकारलाई आग्रह समेत गरेका छन् । मूल्य वृद्धि फिर्ता नभए निर्णायक र सशक्त आन्दोलन गर्ने उनीहरूको चेतावनी छ । अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले सरकारले निर्वाचन लगत्तै जनतालाई झुक्याएर भारी मात्रामा गरिएको मूल्यबृद्धि अस्वीकार्य भएको बताउनुभयो । ‘जनताको जीवनयापनमा गम्भीर असर गर्ने गरी मूल्य बढाइएको छ, उहाँले भन्नुभयो, मूल्य वृद्धि तत्काल फिर्ता नभए सोमबारदेखि कडा आन्दोलन हुन्छ ।’

समाजवादी विद्यार्थी संगठनका अध्यक्ष रुपनारायण श्रेष्ठले गठबन्धनका नाममा जनतामाथि निर्मम ढंगबाट मूल्यवृद्धि थोपरिएको उल्लेख गर्नुभयो । सत्तारुढ नेकपा माओवादी केन्द्रको भातृ बिद्यार्थी संगठन अखिल क्रान्तिकारीले पनि पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धिको बिरोध जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?