पूर्ण शर्माको टिमलाई प्रो-एम उपाधि

हिमालय टाइम्स
Read Time = 4 mins
A A- A+

काठमाडौं । पार-७२ गोकर्ण गल्फ क्लबमा सम्पन्न सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप प्रो-एमको उपाधि पूर्ण शर्माको टिमले जितेको छ । यो खेलमा प्रोफेसनल पूर्णको टिममा एमेच्योर महेन्द्र फगामी, समीर आचार्य र कश्मिरा शाह हुनुहुन्थ्यो । यो टिमले जम्मा १५३ अंक बनाउनेक्रममा प्रोफेसनल पूर्णले ४४, महेन्द्रले ३८, समिरले ३६ र कश्मिराले ३५ अंक जोड्नुभएको थियो ।

दोस्रो स्थानका लागि सञ्जय लामा (३८) र एमेच्योर कर्नल विकास शाह (३५), बाबु शेर्पा (३५) र कर्णेल प्रताप बोहरा (३४) को टोलीले कुल १४२ अंक जोडेको छ । तेस्रो स्थानका लागि रवि खड्का (३८) र एमेच्योर आङटेन्डी शेर्पा (३४), चन्द्र लिम्बू (३४) र किशोर बस्नेत (३४) को टोलीले कुल १४० अंक जोड्यो ।

कश्मिरा शाहले महिलातर्फ उत्कृष्ट व्यक्तिगत स्कोरको ट्रफी जित्नेक्रममा ३५ अंक जोड्नुभयो । दावा जे शेर्पाले सबैभन्दा लामो ड्राइभ र आरती राज्यलक्ष्मी राणाले सबैभन्दा नजिकको पिन गर्नुभएको थियो । स्टेबलफोर्ड तीन/चार हृयान्डिक्याप ढाँचामा खेलिएको प्रो-एम प्रतियोगितामा २४ प्रोफेसनल खेलाडीसहित जम्मा ११३ खेलाडीले भाग लिएका थिए । विजेता टोलीका लागि शीर्ष प्रोसँग शीर्ष तीन एमेच्योरहरूको टोली बनाइएको थियो । त्यसैगरी चौथो, पाँचौँ र छैटौँ एमेच्योर स्कोररलाई दोस्रो उत्कृष्ट प्रोफेसनल र सातौँ, आठौँ र नवौँ हुने एमेच्योरलाई सेकेन्ड रनरअप प्रोफेसनलसँग टिमअप गरिएको थियो ।

सूर्य नेपाल प्रालिका प्रबन्ध निर्देशक डा. रविकुमार रायवरम, पूर्वप्रबन्ध निर्देशक अभिमन्यु पोद्दार, गोकर्ण गल्फ क्लबका अध्यक्ष सुहृद घिमिरे र एनजिएका अध्यक्ष टासी घलेले विजेताहरूलाई पुरस्कार वितरण गर्नुभएको थियो । सूर्य नेपाल गल्फ टुर २०२१-२२ को सिजनको अन्तिम कार्यक्रम सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपमा सोमबारदेखि ४३ प्रोफेसनल गल्फर र ११ जना एमेच्योरको भिडन्त सुरु भएको छ ।

यो प्रतियोगितामा १.४६१ मिलियन रुपैयाँ पुरस्कार रहेको छ । जसमध्ये विजेताले दुई लाख ५० हजार पाउनेछन् भने उपविजेताले एक लाख ५५ हजार र तेस्रो हुनेले एक लाख १० हजार पाउनेछन् । त्यस्तै शीर्ष २१ मा रहने अन्य खेलाडीले पनि पुरस्कारको आफ्नो अंश प्राप्ति गर्ने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?