सडक बालकदेखि लोकप्रिय संगीत संयोजक राजु

Read Time = 6 mins

काठमाडौं । जिन्दगीमा अनेकन दुःख, कष्ट र हण्डर खाएर आजको दिन चुम्न सफल हुनुभएको छ संगीत संयोजक राजु खड्का । काठमाडौंको हाँडीगाउँमा जन्मिनुभएका उहाँले आफ्नो बुबाआमालाई कहिल्यै देख्नुभएन । उहाँका बुबाआमाको पहिचान न भएन र उहाँले कहिल्यै पनि देख्नु भएन । सानैदेखि अनाथ भए पनि राजुमा भएको प्रतिभाका कारण आज उहाँको एउटा छुट्टै पहिचान कायम भएको छ संगीत संयोजक रूपमा । श्रद्धेय राष्ट्रकवि माधवप्रसाद घिमिरेले लेख्नुभए झैँ ‘ढुंगाको काप फोरेर पनि उम्रन्छ पिपल । सिर्जनाशक्ति संसारमा कहिल्यै हुँदैन विफल ।’ यो राजुमा लागुहुन्छ ।

अनाथ हुनुका कारण, ठमेल, दरबारमार्ग आसपास का क्षेत्र मा, बाटोमा पसलमा वा नेपाली या विदेशी जो जहाँ भेट्यो उसैसँग मागेर, भोक मेटेको र सडक पेटीमै वा आकाशे पुलमुनी कयौं बिताउनुभएका धेरै दुःखद् क्षणहरू छन् राजसँग । विसं. ३०४३ सालमा एकजना क्यानडियन नागरिक (मोनिका योङ) नामकी महिलाको साथ सहयोगमा राजुले सूर्योदय इंग्लिस बोर्डिङ स्कुलमा प्रधानाध्यापक लक्ष्यबहादुर केसीको संरक्षणमा अध्यानको सुरुवात गर्नुभयो । स्कुलमा सुरुवाती क्षणदेखि नै पढाइमा अती ट्यालेन्ट (निपूर्ण) रहनुभएका उहाँको सुरुदेखि कक्षा दुईसम्म क्यानडियन नागरिक मोनिका योङले पढाइको सम्पूर्ण खर्चको जिम्मेबारी लिनुभएको थियो । दुई कक्षापछि क्यानडियन नागरीक सम्पर्कविहीन हुनुभएका कारण स्कुलको सम्पूर्ण खर्च सोही स्कुलका प्रिन्सिपल लक्ष्यबाहाहुर केसीले व्यहोर्नुभयो ।

केही समपछि स्विस नागरिक सम्र्पकमा आउनुभयो । दुर्भाग्यबस सम्पर्कमा आएको केही समयमा उहाँको गाडी दुर्घटनामा परेर निधन भयो । धेरै प्रयास गर्दा पनि स्कुलमा अध्यान को निरन्तरता दिन उहाँले अन्य माध्यम भेटाउनुभएन ।

राजुको सानैदेखि गीतसंगीतमा विशेष लगाव रहेको थियो । स्कूलमा पनि उहाँ गीतसंगीतमा साधनारत रहने, यसैमा तल्लिन भइरहने उहाँको स्वभाव थियो । कक्षमा पढ्दै गर्दा उहाँ पूर्णरूपमा संगीत क्षेत्रमा समर्पित भइसक्नु भएको थियो । स्कुलमै हुँदा नै उहाँको स्वरमा समेत रहेका बाल गीत ‘लेकाका हामी केटाकेटी...’, ‘हिउखोलाको पानी...’ आज पनि त्यतिकै लोकप्रिय रहेका छन् ।

उहाँले विभिन्न स्टुडियो, म्युजिक इन्स्टिच्युटमा धाइरहेर आफ्नो अवस्थाको जानकारी गराएर संगीत सिकाइदिन आग्रह गर्नुहुन्थ्यो र सिक्दै जानुभयो विभिन्न ठाउँमा । यस क्षेत्रमा उहाँको अतिनै रुचि भएका कारण उहाँले छिट्टै सिक्न सफल हुनुभयो । यसै क्रममा उहाँले संगीत संयोजन गर्न थाल्नुभयो । राजुले ‘छैन निद रातमा...’ बोलको गीतमा संगीत संयोजकको भूमिका निभाएर सांगीतिक क्षेत्रमा औपचारिक सुरुवात गर्नुभयो । पहिलो गीतको संगीत संयोजन अध्यधिक मनपराइएकाले क्रमशः उहाँलाई अन्य गीतको संगीत संयोजन गर्ने अवसर पनि मिल्दै गयो । यसले उहाँको जीवन यापनका लागि सहज बनाउँदै गयो भने कामको प्रशंसा हुन थाल्यो ।

उहाँले आफूलाई यस क्षेत्रमा सफलता पाइरहँदा यसको श्रेय वरिष्ठ संगीतकार राजु सिंह, डिका गुरुङलगायतलाई दिनुहुन्छ । यस्तै उहाँलाई गोपल रसाइलीले गीतार सिकाउनुभएको थियो । लोक, आधुनिक, पप, स्वदेश गीत, भजन, तामाङसेलो, मेहेन्दोमाया, चलचित्रलगायत विभिन्न धारका गीतहरू गरेर लगभग २६, २७ सय गीतमा संगीत संयोजन गरेको उहाँ बताउनुहुन्छ । संगीत संयोजनमात्र नभएर गीतमा संगीत भर्ने काम पनि उहाँले गर्दै आउनुभएको छ ।

उहाँले ६० वटाजति गीतमा संगीत गरेको बताउनुहुन्छ । संगीत भर्ने र संगीत संयोजन गर्नेमा नै ख्याति कमाउनुभएको उहाँको स्वरमा केही गीत पनि सार्वजनिक भएका छन् । उहाँकै स्वरमा रहेका गीत २० वटा जति रहेका छन् भने ग्रुप स्वरमा उहाँका गीत रहेका छन् । एउटा समान्य सडक बालकदेखि लोकप्रिय संगीत संयोजनमा उहाँको सफलता धेरैका लागि अनुकरणीय रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?