राजनीतिमा सुधारको प्रयास किन सधैं अलपत्र ?

Read Time = 15 mins

✍️ देवीभक्त ढकाल
हाम्रो राजनीतिको संस्कार, संस्कृति आकृति र चरित्र आजमात्र बिग्रेको होइन । हाम्रो राजनीतिमा विद्यमान अन्याय, अत्याचार, लुट खसौट, बेइमानी, भ्रष्टाचार, पदको दुरुपयोग, दूराचार, कुशासन र सदाचारको दुर्गति युगौंदेखिको नेपाली राजनीतिको विरासत नै हो । सबै विकृतिहरूको एकमुष्ट सुधार गर्छु भनेर सत्तामा पुग्ने कुनै नेताले सुधारको प्रारम्भ गर्ने कामको थालनी पनि गरेनन् । सत्तामा पुगेपछि उनीहरू आफ्नो र आफ्नाको हितमा मात्रै केन्द्रीकृत हुँदा जनताका समस्याका विषयमा सबै पार्टीका नेता बेखबर बने । अहिलेसम्म नेपाली राजनीतिको निष्कर्ष के हो भने सत्ताको प्रयोग खाली आफ्नो, परिवार, नातागोता, पार्टीका, गुटका र नजिककाको हित गर्ने बाहाना भएको विषय छर्लंग भएको छ ।

राजनीतिक प्रभाव र राज्यशक्तिको उपभोग गरेका र सरकारमा हालीमुहाली गरेका, गरिरहेका र यस्तै परिवेशमा अब आउने समेतबाट देश र जनताको हितमा निष्पक्ष काम हुन्न र हुन दिँदैनन् भन्ने विषयमा कुनै पार्टी र गुटका समर्थकमा र सामान्य नागरिकमा द्विविधा छैन । किनकि राजनीतिक परिवर्तनपछि धेरै सरकार बने सरकारमा हुने सबै पार्टीका नेताहरू व्यक्तिगत स्वार्थमा मात्रै चुर्लुम्म डुबे । सामाजिक स्वार्थलाई चटक्कै बिर्सने रोगको उपचार नै असम्भव बनेको छ । यो स्थिति र परिस्थिति नेपाल र नेपालीको दुर्भाग्य भन्नुपर्छ ।

यो क्षेत्र अर्थात् राजनीति सधैं बेवास्ता गरेर बस्ने विषय भएन । वास्ता गरेर सीमित घेराले सुधारको सम्भावना रहेन । फेरि हामी सबैको कल्याण र भलो यो नसुध्रँदासम्म सम्भव छैन भन्ने ज्ञान हामी सबैका लागि अभिशाप बनेको छ । त्यसैले राजनीतिमा उत्पन्न विकृतिले सधैं चिन्ता र पीडा दिन्छ । किनकि हामी यसको आवश्यकता, महत्व र भूमिका जान्दछौं । जान्नु नै दुःख र पीडा दिने विषय हो भनेर जान्दा थप जान्ने जिज्ञासा स्वतः वृद्धि हुने अवस्था आफैंमा दुःखद् र पीडादायी हुन्छ ।

निःस्वार्थ रूपमा सुधार चहानेहरू पनि राजनीतिमा नभएका होइनन् । तर, तिनीहरू जिम्मेवारीमा छैनन् । स्वार्थ प्रेरित राजनीतिले इमानदारलाई जिम्मेवारीमा पुग्न दिँदैनन् । जो जिम्मेवारीमा पुग्छन् तिनीहरूले इमानलाई यात बन्धकी राख्छन् या बिक्री गर्दछन् । इमान बिक्री हुने अवस्थामा राजनीतिको के दूर्दशा होला यो सहजै अनुमान गर्नुपर्ने र गर्न सकिने विषय हो । फेरि राजनीतिमा केही आश लाग्दाहरू झुक्किएर जिम्मेवारीमा पुगे पछि भास्सिएको देख्दा सुधारको कल्पनामा तुषारापात हुन्छ । यसले जनमानसलाई थप निराश बनाउँछ तर निराशा फेरि समाधान होइन । त्यसैले आशावादी हुनुको विकल्प छैन ।

राजनीतिमा अहिलेसम्म भए गरेका सुधारका प्रयास नै उपयुक्त नभएको निष्कर्षमा पुग्दा पनि पीडानुभूति हुन्छ । सुधारको विकल्प नभएकोले सुधारको चिन्तनलाई निरन्तरता दिनुबाहेक हामीसँग विकल्प पनि अर्को छँदैछैन । सुधारका हाम्रा प्रयास थुप्रैपटक भएका राजनीतिक परिवर्तनका बाबजुद असफल भएकाले अब सुधारका छुट्टै उपाय तथा रणनीति बनाउनुपर्ने अवस्था र परिस्थिति सिर्जना भएको छ ।

तर, सुधारका आकांक्षीमा सुधारको गहिरो अठोट, सोच नभएको हो कि भन्दा सुधारको प्रयत्नमा लाग्नेहरू र सुधारको आशामा बाँच्नेलाई पक्कै निराश बनाउँछ । हाम्रो दुर्भाग्य के हो भने सुधारको वकालत गर्नेसँग पनि स्वार्थ छ तर त्यसलाई हामी लुकाउन खोज्छौं तर लुकाउन खोज्नेहरूले लुकाउन सक्ने अवस्था छैन । यसलाई लुकाउने हाम्रो कोसिस र प्रयासभित्र नै राजनीतिमा विकृति र बेथिति चुलिएको छ ।
राजनीति र राजनीतिले सिर्जना गरेका विकार र विकृतिलाई निष्पक्ष र स्वतन्त्र भावले हेर्ने चरित्रको विकास नहुँदा सुधारका अभियन्तासँग पनि आमजनतामा पूर्णभरोसा नहुने परिस्थितिले सबैप्रति सबैको अविश्वास नै हाम्रो मुख्य समस्या हो । सत्यलाई प्रकट गर्न सबैलाई पार्टीको घेराले छेकेको अवस्थामा सबैका विचारप्रति आशंका र अविश्वासले विश्वसनीयता नेपाली राजनीतिको मुख्य समस्या हुँदै आएको छ ।

एउटा पार्टीको सदस्य हुनुभनेको विवेकलाई बन्धक बनाउने क्रियाकलापभन्दा पनि अत्युक्ति हुँदैन । यी परिवेश र परिस्थिति नै राजनीतिलाई अविश्वसनीय बनाउने कारण हुन् । एउटा पार्टीको झन्डामुनि बसेर अर्कों पार्टीको सरकारको काम कारबाहीलाई निष्पक्ष र निरपेक्ष हेर्ने संस्कार, आचरण, चरित्र र नैतिकताको विकास नै हामीले गर्न सकेका छैनौं । यो किन भयो त भन्दा हामी निष्पक्षताको पक्षधर नै हुन नसक्दा हाम्रा कुरा र विचार ओझिला अर्थात् गम्भीर हुन सकेनन् । यसले सबैको भनाइ, तर्क, विचार र प्रतिबद्धतालाई हलुका बनायो । हाम्रा विरोध स्वार्थसँग गाँसिएका कारण आफैं फितला र कमजोर बने । यो अवस्था कसरी आयो ?

हामी जान्दछौं तर भन्दैनौं किनकि हामी सबैसँग स्वार्थ छ । त्यो स्वार्थले देश लुट्ने तत्वलाई सधैं साथ दिने हुँदा हाम्रा थुप्रै आन्दोलनले स्थापित गरेका राजनीतिक परिवर्तन अर्थहीन बने । किन भन्ने कुरा हामी जान्दछौं ? तर, भन्दैनौं किनकि हामीसँग झिनो नै किन नहोस् स्वार्थ छ । अब कोसँग स्वार्थ छैन त भनेर खोज्दा त्यस्तो व्यक्ति नै नदेखिने, नपाइने र नचिनिने रोग वर्तमान विकृतिभन्दा अझ जटिल र भयावह छ । यो देश र समाजको अहितमा विद्यमान यथार्थको पक्षपोषण हो । किनभने अब हामी सबैले आफ्ना कमजोरीलाई आफैंले ईश्वर साक्षी राखेर केलाउनुपर्ने अवस्था र स्थित छ ।

फेरि यसो भन्न पाइन्न किनकि के हामीलाई ईश्वर नमान्ने स्वतन्त्रता छैन भनेर प्रश्न गर्ने जानकारको त कमी छैन । ईश्वररूपी भयले मानिस अनुशासित हुने परिस्थितिलाई भने हामीले आत्मसात गर्नु नै पर्ने हुन्छ । धार्मिक अनुशानमा जुन समाज बस्दैन त्यहाँ अन्याय, अत्याचार, दूराचार जस्ता तमाम विकृतिको उपस्थिति हुने विषय स्वाभाविकै भन्नुपर्छ ।

यहाँ डर र त्रास शून्य छ राजनीति र राजनीतिका जम्मिेवारसँग किनकि पार्टीको सरकार छ बहुमत छ भने उनीहरूमा संसारमै नभएको तानाशाहका गुण एकाएक प्रकट हुन्छन् । त्यो दम्भ एकमा होइन सबैमा र सधैं देखिन्छ । यो तीतो अनुभव हामी सबैको मन मस्तिष्कमा सुरक्षित छ । बहुमतका कुनै सरकारसँग नैतिकता, सदाचार र भोलिको पुस्ताको मूल्यांकनमा मेरो अवस्था के हुन्छ भनेर आत्म मूल्यांकन हुन सकेन । मृत्युपछि जीवित रहने वस्तु त सत्कर्म हो भनेर बुझ्ने नै बुझ पचाउने अवस्थाले झन् सुधार, विकास र समृद्धि धेरै टाढा भएको विषय र अवस्था वर्तमान विकृतिभन्दा पीडादायी विषय बन्दछ ।

फेरि राजनीतिमा विशेषतः जम्मिेवारीमा हुनेहरूसँग मात्र होइन पछि लाग्नेसँग पनि स्वविवेक र चेतना छैन । सत्य र सदाचार भनेको पार्टी र नेताको गुणगान गर्ने हो भन्ने प्रशिक्षण भने अत्यन्तै प्रभावशाली हुँदा एउटा झुण्ड अपराधलाई नै धर्म भन्दै प्रशंसा गर्छ । उसलाई भित्र त चित्त बुझेको छैन तर पार्टी अनुशासन र अन्धभक्तिका कारण ऊ सजिलै र सहजै आफ्नो विवेक र चेतनालाई लिलामी गर्न र धरौटी राख्न कत्ति संकोच मान्दैन । विवेकलाई लिलाम गर्ने, खरिदबिक्री गर्ने समाजमा इमानदारी खोज्नु आफैंमा मूर्खता र लज्जास्पद विषय हो ।

तथापि राज्य सञ्चालनको विषयको अभेद्य सम्बन्ध सत्य प्रतिनिष्ठा, न्यायको निष्पक्ष सम्पादन, सेवा लिने र दिने दुवैको इमानदार चरित्र, नैतिकता, पारदर्शिता, निष्पक्षतासँग हुन्छ । हाम्रो समस्या भनेको विवेक, चेतना र इमानदारीको लिलामी फगत पार्टीको चौअन्नी सदस्यताका कारण किन हुन्छ ? त्यही जगमा राष्ट्रमा शोषण र लुटको खेती हुँदा विरोध गर्नुपर्ने उल्टो समर्थनमा उफ्रने हाम्रो पुस्तौनी रोगको उपचार हामीले नगरे कसले गर्ने ? के ठीक के बेठीक भन्ने विषयलाई स्वतन्त्र विचार र निष्पक्ष भावले हेर्ने र मूल्यांकन गर्ने स्वतन्त्र विवेक र मस्तिष्कको खडेरी नै आजको प्रमुख समस्या हो ।

आफ्नाले र आफ्नो पार्टीको नेताले जे गर्दा ठीक । अर्को पार्टीले र त्यसका नेताले जति नै राम्रो काम गर्दा पनि बेठीक भन्ने, त्यसको अन्ध प्रशंसा गर्ने र गलत व्याख्या गर्ने तत्व नै अहिले सतहमा देखिएका विकार विकृति र विसंगतिका मूल कारण हुन् । जनताप्रति र सत्यप्रति नेतृत्व जवाफदेही कहिले बन्ने ? हावादारी कुरा गर्ने अर्कोलाई हुँदो नहुँदो आरोप लगाउने संस्कार र संस्कृतिको पक्षपोषण गर्नेहरूबाट नै राजनीतिलाई प्रदूषित बनाउने काम भएको छ । अरू सबै बेठीक म मात्रै ठीकको सिद्धान्त नै अहिलेको राजनीतिक, आर्थिक र सामाजिक समस्याका कारण र परिणाम हुन् ।

यसको वस्तुनिष्ठ समीक्षा मूल्यांकन, विश्लेषणविना कसरी समाधान हुन्छ ? के हाम्रो सबै क्षेत्रमा नेतृत्वमा रहनेहरू इमानदारीपूर्वक स्वमूल्यांकन गर्न सक्छन् ? सत्तामा रहँदा जनता र देशका लागि सिन्कोसम्म नभाँच्ने सत्ता प्राप्तिका लागि निर्वाचनमा असम्भव आश्वासन बाँड्न अप्ठेरो नमान्ने र त्यस्तै असम्भव आश्वासनलाई विश्वास गरेर भोट दिने यो विकृतिका लागि कम जिम्मेवार छैनन् ।

अहिले राजनीतिलाई विकृतिको खेती बनाउनेलाई निर्वाचनले पाखा लगाउनुपर्ने अवस्थामा झन् स्थापित भएको अवस्थाले निराशाबाहेक आशाका किरण नेपाली राजनीतिले सम्प्रेषण गर्न सक्ने अवस्था छैन । यो मुख्य समस्यामा प्रवेश नगरिकन सुधार सम्भव छैन । सुधारलाई अलपत्र पार्ने राजनीतिक नेतृत्व र चरित्रलाई विस्थापित गर्ने सशक्त आन्दोलनविना परिस्थितिले सकारात्मक परिणाम दिँदैन । सकारात्मक परिणामवना जनता र देश लाभान्वित हुने कुरै हुँदैन ।

Subscribe
Notify of
guest
2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Cholendra kumar pandit
Cholendra kumar pandit
2022-05-31 3:02 pm

राजनीतिको नाम अराजनीति राख्दा कसो होला ? जनताका लागि राजनीति गर्छु भन्नेले जनताको होइन आफ्ना मान्छे र आफ्नो कार्यकर्ता बाहेकको हित हेर्नन्।अब छाड्ने कस्लाई समाउने कस्लाई ?

रिलेटेड न्युज

छुटाउनुभयो कि ?