दुर्गामानको राष्ट्रिय कीर्तिमान

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । दुर्गामान तामाङले पारा राष्ट्रिय खेलकुदअन्तर्गत राष्ट्रिय पारा भारोत्तोलन प्रतियोगितामा नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्नुभएको छ । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको पुरुष ७२ केजीमुनि तौलसमूहमा दुर्गामानले ९० केजी भार वहन गर्दै आफ्नै नाममा रहेको ८९ केजीको कीर्तिमान सुधार गर्नुभएको हो । राजाराम सिलवाल दोस्रो हुनुभयो ।

राष्ट्रिय पारा भारोत्तोलन खेलकुद संघको समन्वयमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगिताको पुरुष ५४ केजीमा अर्जुन दोङ पहिलो हुनुभयो । उहाँले ६० केजी तौल उठाउनुभयो । दीपक तिमल्सिना दोस्रो तथा सोमनाथ राई तेस्रो हुनुभयो ।

६५ केजीमा ठाकुर श्रेष्ठले शीर्षस्थान हात पार्नुभयो । उहाँले ९० केजी उचाल्नुभयो । निर्मल श्रेष्ठले रजत तथा विष्णुपुकार श्रेष्ठले कास्य जित्नुभयो । ७२ केजीमाथि किरणकिशोर सापकोटाले ९० केजी वजन उठाउँदै स्वर्ण जित्नुभयो । शरद पौडेल दोस्रो तथा भरत बिसी तेस्रो बन्नुभयो ।

महिला खुलामा सरिता थुलुङ पहिलो हुनुभयो । सरिताले ५२ केजी भार वहन गर्नुभयो । निर्मला भण्डारी दोस्रो तथा टिना महर्जन तेस्रो हुनुभयो । विजेतालाई राखेपका सदस्य-सचिव टंकलाल घिसिङ, नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ, काठमाडौं जिल्ला शारीरिक सुगठनका अध्यक्ष सुरेश सुवेदी, आयोजक संघका अध्यक्ष टेकबहादुर गुरुङलगायतले एक कार्यक्रमबीच पुरस्कृत गर्नुभयो ।

एकदिने प्रतियोगिताको पुरुषको चार स्पर्धामा ३२ खेलाडी तथा महिलाको एक स्पर्धामा पाँच खेलाडी सहभागी थिए । पारा राष्ट्रिय खेलकुदअन्तर्गत अब पाँच खेलको प्रतियोगिता हुन बाँकी छ । खेलकुदमा १२ खेल समावेश छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?