६ वटा महानगरको नेतृत्वमा एमाले जितविहीन !

हिमालय टाइम्स
Read Time = 9 mins

डिबी शर्मा/हिटा
काठमाडौं । मुलुकका ६ वटा महानगरको नेतृत्वमा नेकपा एमाले जितविहीन बनेको छ । २०७४ को निर्वाचनमा दुई महानगरमा जित हात पारेको एमाले यसपालि भने शून्य हुने भएको हो । २०७४ को निर्वाचनमा कांग्रेस-एमालेले समान दुई/दुई महानगर जितेका थिए भने माओवादी र जसपाले समान एक/एक जितेका थिए । मंगलबार अबेरसम्मको मतगणना सम्पन्न भएकामा एमालेले कुनै पनि महानगरमा जित हात पार्न सकेको छैन । गणना बाँकी रहेका महानगरमा समेत एमालेले नजित्ने निश्चितप्राय भएको छ । मतगणना बाँकी रहेका काठमाडौंमा स्वतन्त्र उम्मेदवार अगाडि छन् भने पोखरामा एकीकृत समाजवादीको धनराज आचार्य जित निश्चित जस्तै छ ।

नतिजा सार्वजनिक भएकामध्ये विराटनगरमा कांग्रेस, वीरगञ्जमा जसपा, भरतपुरमा माओवादी र ललितपुरमा कांग्रेस विजयी भएका छन् ।
हालसम्म नतिजा सार्वजनिक भएका महानगरमध्ये कांग्रेस दुई, माओवादी र जसपाले एक/एक ठाउँमा जित हात पारेका छन् । कांग्रेसले विराटनगर र ललितपुर, माओवादीले भरतपुर र जसपाले वीरगञ्ज महानगरमा जित हात पारेको छ । अब बाँकी महानगरमध्ये एकमा नेकपा एकीकृत समाजवादीको जित निश्चितजस्तै छ भने काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवार विजयोन्मुख छन् । महानगरमा मेयर जित्न नसके पनि एमालेले उपमेयर र वडाध्यक्ष भने जितेको छ ।

वीरगञ्जमा राजेश, भरतपुरमा रेनु, ललितपुरमा चिरीबाबु र विराटनगरमा नागेश विजयी
वीरगञ्ज महानगरपालिकामा जनता समाजवादी पार्टीका राजेशमान सिंह विजयी हुनुभएको छ । ४६ हजार २१५ मत प्राप्त गर्दै सिंह मधेश प्रदेशको एक मात्र महानगरपालिकाको मेयरमा निर्वाचित हुनुभएको हो । उहाँका निकटतम् प्रतिद्वन्द्वी एमालेका विजय सरावगीले २३ हजार ६७१ मत मात्रै पाउनुभयो । निवर्तमान मेयरसमेत रहनुभएका सरावगी सिंहभन्दा २२ हजार ५४४ मत पछाडि रहनुभयो । मेयरका अर्का उम्मेदवार राप्रपाका गिरिश गिरीले तीन हजार ३१३ मत पाउनुभयो । सिंह पाँच दलीय गठबन्धनका उम्मेदवार हुनुहुन्थ्यो । वीरगञ्जमा एमालेले पनि लोसपासँग गठबन्धन गरेको थियो । उपमेयरमा कांग्रेसका इम्तियाज आलम विजयी हुनुभएको छ । आलमले ३० हजार ७८ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक लोसपाका पुरुषोत्तमलाल झाले नौ हजार ५६८ मत पाउनुभयो ।

यस्तै, भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेनु दाहाल विजयी हुनुभएको छ । दाहालले ५२ हजार ३० मत प्राप्त गर्नुभयो । उहाँका प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ३९ हजार ५८१ मत प्राप्त प्राप्त गर्नुभयो । अर्का स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १४ हजार ७२८ मत ल्याउनुभयो । उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारी निर्वाचित हुनुभएको छ । अधिकारीले ५२ हजार ८०३ मत प्राप्त गर्नुभएको हो । उपमेयर उम्मेदवार राप्रपाकी हिमला गुरुङले ३० हजार ६१२ मत ल्याउनुभयो ।

ललितपुर महानगरपालिकाको प्रमुखमा सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका चिरीबाबु महर्जन विजयी हुनुभएको छ । दोस्रो कार्यकालका लागि निर्वाचित महर्जनले ४२ हजार ९४८ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारले २३ हजार ९९३ मत मात्रै पाउनुभयो । उपप्रमुखमा भने सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका बाबुराज बज्राचार्यलाई फराकिलो मतान्तरले पराजित गर्दै एमाले उम्मेदवार मञ्जली शाक्य बज्राचार्य विजयी हुनुभएको छ । मञ्जलीले २४ हजार ५६१ मत प्राप्त गर्दा बाबुराजले १७ हजार ५३६ मत ल्याउनुभयो ।

यस्तै, मोरङको विराटनगर महानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका नागेश कोइराला विजयी हुनुभएको छ । नागेशले ३० हजार १७० मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सागर थापाले २१ हजार ४५५ मत प्राप्त गर्नुभएको थियो । उपमेयरमा नेकपा एमालेकी शिल्पा निरौला कार्की २५ हजार ६८० मत प्राप्त गरी विजयी हुनुभयो भने उहाँका प्रतिद्वन्द्वी गठबन्धन दलका तर्फबाट जनता समाजवादी पार्टी नेपालका अमरेन्द्र यादवले १४ हजार २१९ मत प्राप्त गर्नुभएको थियो ।

उपमेयरमा एमाले अगाडि
महानगरपालिकामा जितविहीन बनेको एमालेले उपमेयरमा भने थुप्रै ठाउँमा जित हात पारेको छ । मेयरमा अन्य पार्टीका उम्मेदवार विजयी हुँदासमेत एमालेले उपमेयर जितेको हो । विराटनगर र ललितपुर महानगरमा एमालेले उपमेयर जितेको छ । पोखरा र काठमाडौंमा पनि एमालेको जित निश्चित भएको छ । भरतपुर र वीरगञ्जमा भने एमालेले उपमेयर पनि गुमाएको छ । महानगर मात्रै होइन उपमहानगरमा पनि एमालेले धेरै स्थानमा उपमेयर जितेको छ । ०७४ को चुनावमा ११ मध्ये एमालेले सात उपमहानगर जितेको थियो । तर, यसपटक अधिकांश ठाउँ गुमाउँदै दुई जितेको छ भने गणना चलिरहेको तुलसीपुरमा प्रतिस्पर्धामा छ ।

०७४ मा चुनाव जितेको धरान, इटहरी, जितपुर सिमरा, हेटौँडा र बुटवल यसपटक एमालेले गुमाएको छ । घोराही जोगाएको छ भने कलैयामा यसपटक जितेको छ । एमालेले यसअघि जितेको तुलसीपुरको गणनामा अग्रता लिइरहेको छ ।

६ उपमहानगरको उपमेयरमा एमालेका उम्मेदवारले जितेका छन् । बुटवलको मेयरमा कांग्रेसका उम्मेदवार विजयी भए पनि उपमेयरमा एमालेले जित हात पारेको छ । इटहरीको मेयर हारे पनि उपमेयर एमालेले जितेको छ । धनगढी उपमहानगर पालिकामा मेयरमा स्वतन्त्र उम्मेदवार जिते पनि उपमेयरमा एमालेले जित हात पारेको छ । घोराही र कलैयामा भने दुवै पद एमालेले जितेको छ । जितपुर सिमराको मेयर पद यसपटक एमालेले गुमाए पनि उपमेयर भने सुरक्षित गरेको छ ।

आचारसंहिता हटाइयो
स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले जारी गरेको आचारसंहिता हटाएको छ । निर्वाचन सम्पन्न भई अन्तिम परिणाम आउनेक्रममा रहेको भन्दै आयोगले मंगलबारदेखि आचारसंहिता हटाएको जनाएको हो । ‘निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी जारी भएको निर्वाचन आचारसंहिता, २०७८ को दफा १ को उपदफा २ बमोजिम मिति २०७८ चैत २५ गतेदेखि मुलुकभर लागू आचारसंहिता मंगलबारदेखि लागू नरहने व्यहोरा आयोगको निर्णयअनुसार सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ,’ आयोगले जारी गरेको सूचनामा भनिएको छ । आयोगले गत वैशाख ३० गते सम्पन्न निर्वाचनका लागि गत चैत २५ गतेबाट आचारसंहिता लागू गरेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?