विज्ञान र पञ्चमहाभूत

प्रा. डा. कुलप्रसाद कोइराला
Read Time = 16 mins

पाठकवृन्द !
विगत केही सप्ताहदेखि म वैदिक विज्ञानका कुरा तपाईंहरू समक्ष सम्प्रेषित गर्दैआएको छु । हाम्रो पौरस्त्य वेदविज्ञानमा यो ब्रहृमाण्डमा हामी बसेको सौर्यपरिवारजस्ता एक सौर्य परिवारमा रहने अनन्त परिवार रहेका छन् । यसैकारण अनन्तकोटि ब्रहृमाण्डनायक भनेर आफ्ना आराध्यलाई हाम्रा विज्ञहरूले सम्बोधन गरेको देखिन्छ । यथा ब्रहृमाण्डे तथा पिण्डे भनेर पनि उदाहरण दिन्छन् । ब्रहृमाण्डको रचना पाँचमहाभूतबाट भएको छ भन्ने वेदको अटल कथन रहेको देखिन्छ । तर, भौतिक वैज्ञानिक चाहिँ यी पाँचै तत्वलाई भिन्न प्रकारले व्याख्याविश्लेषण गर्दारहेछन् । पौरस्त्य शास्त्रमा जुन पञ्चमहाभूतका सम्बन्धमा कुरा गरिएको छ ती कुनै पनि कुरा मौलिक होइनन् ।

ती त केबल योगज या कुनै तत्वको रूपान्तरणका क्रममा देखापर्ने अवस्था विशेषमात्रै हुन् । मौलिक तत्व त यिनलाई उत्पादन गर्ने हाइड्रोजन, अक्सिजन आदि नै हुन् । जसको संख्याको कुनै निश्चित छैन/हुँदैन । अध्ययनअनुसार पहिले ६५ मानियो पछि ९३ पु¥याइयो तर अहिले पनि स्थिर हुनसकेको छैन । नित्य वद्र्धितायन रहेको भेटिन्छ । (१) वेदले जसलाई पृथ्वीतत्व भनेको छ त्यो त १०० जति पदार्थको समष्टि हो । (२) यसैगरी जल पनि त हाइड्रोजन र अक्सिजनको योगज हो । हो, यसमा नियत मात्राका योगको आवश्यक्ता हुन्छ त्यो बेग्लै कुरा हो । (३) तेस्रो तेज महातत्व यदि उष्णता हो भने उष्णता एक योगज वस्तु हो, मौलिक होइन ।

यदि प्रकाश या ज्वालालाई तेज भनिएको हो भने पनि त्यो अँगार नामक कार्बन तत्वमा भूमिमा भएको वायु र अक्सिजनको संयोगबाट बनिन्छ । (४) यसैगरी वायु नामबाट प्रसिद्ध चौथो तत्व अक्सिजन र नाइट्रोजनको योगबाट बन्छ । (५) एवं प्रकारले पाँचौं तत्व जसलाई आकाश भनिन्छ त्यो त झन कुनै वस्तु नै होइन । आकाश त सारा वस्तु या पदार्थ रहने या बस्ने जुन एउटा स्पेस या शून्यको आवश्यकता थियो त्यो नै आकाश हो । आकाश शून्यको नाम पनि हो ।

यसरी आधुनिक या भौतिक विज्ञानले पञ्चमहाभूत सिद्धान्तलाई समूल खण्डन गरेर पौरस्त्य वेदविज्ञानका अवधारणालाई खण्डशः गरेको भेटिँदोरहेछ । अब म वैदिक विज्ञानको गहिराइ नबुझेर यस प्रकारको घुमाउरो अध्ययन अनुसन्धानतिर भौतिक वैज्ञानिक लागेका रहेछन् भन्ने कुरो गर्दैछु । पौरस्त्य शास्त्र या वेदले पनि यी पाँचैवटालाई मूलतत्व भनेर कतै भनेको भेटिँदैन । वैशेषिक दर्शनमा भने परमाणुवादलाई आश्रय बनाएर परमाणुका रूपमा वायु आदि चारै तत्वलाई नित्य मानेको देखिन्छ । आकाशलाई स्वरूपतः नित्य मानिएको छ परन्तु यो त शिक्षाको एउटा श्रेणी या अवस्था मात्रै हो ।

किनभने दर्शनको सूक्ष्मतत्वमा सिधै प्रवेश गर्दा शिक्षार्थीले ग्रहण गर्न सकेन भने ? नसक्नेका निमित्त र हताशाबाट बचाउनका लागि यो श्रेणीको कुरो ल्याइएको हो । किनभने सारा जगत्को निर्माण नै परमाणुबाट भएको हो भनेर पनि एउटा श्रेणीको कल्पना गरिएको छ । यसैलाई पश्चिमाले अटोम्स् थ्यौरी भनेर धेरै समयसम्म चलेको पनि थियो ।

पूर्वमा न्यायदर्शनान्तर सांख्यदर्शन आउँछ । त्यसरी नै उनीहरूले पनि अटोम्स् थ्यौरीलाई काटेर इभोल्युसन थ्यौरी भन्ने थ्यौरीलाई स्वीकार गरे भने यता पौरस्त्येली वेद विज्ञानीले पनि सांख्यशास्त्रले परिणामवादलाई स्वीकार गर्दै परमाणुको अनित्यतालाई नै स्वीकार गरे र भूतका प्रत्येकमा पाँच पाँच अवस्थालाई स्थापन गरिदिए ।

जसलाई योगदर्शनको व्यास भाष्यमा यसरी उल्लेख गरिएको देखिन्छ-गुण, अणु, रेणु, स्कन्ध र सत्व । वास्तवमा महाभूतहरूको पहिलो शुद्धावस्था भनेको गुण हो । यसलाई सांख्य र योगदर्शनमा तन्मात्रा शब्दबाट बुझाइएको भेटिन्छ । अब फेरि यी तन्मात्रा पनि पाँचै छन् ।

शब्द, स्पर्श, रूप, रस र गन्ध । यिनीहरू महाभूतका शुद्ध रूप हुन् । यहाँ पनि हामीले यिनलाई शब्दतन्मात्रा, रूपतन्मात्रा आदिका रूपमा नै बोध गर्नु हुँदैन । किनभने यी तन्मात्रा होइनन् । यिनीहरू त महाभूत निर्माण गरिसकेपछि त यी इन्द्रिय संवेगबाट नै बोध भइहाल्छन् गीताले भनेको छ-
मात्रास्पर्शास्तु कौन्तेय शीतोष्णसुखदुःखदाः ।
ये च संस्पर्शजाभोगादुःखयोनय एव ते ।।
जुन शब्दस्पर्शादिलाई हाम्रा इन्द्रियले ग्रहण गर्दछन् त्यो त वास्तवमा इन्द्रिय र विषयको सम्बन्धका कारणले भएको हो । यी पनि सबै स्पर्शज या संयोग नै हुन् । तन्मात्राहरूलाई त इन्द्रियबाट ग्रहणै गर्न सकिँदैन भन्ने कुरो त सांख्य तथा योगदर्शनमा पनि स्पष्ट गरिएको भेटिन्छ नै । हो, यिनै तन्मात्रालाई सांख्य दर्शनका शब्दावलीमा गुण भनिएको छ । यिनीहरू भूतहरूका अधिमिश्रित शुद्ध रूप हुन् । यो कुरो स्वीकार गरेपछि भने अब भौतिक विज्ञान र वैदिक विज्ञानीका बीचमा नाम मात्रको विभेद रहेको देखिन्छ किनभने जसलाई हामी रसतन्मात्रा र रूपतन्मात्रा भन्छौं तिनलाई भौतिक विज्ञानीहरू आफ्ना भाषामा अक्सिजन र हाइड्रोजन भन्छन् ।

यी तन्मात्राका स्वरूपको परीक्षण न वैदिक विज्ञानीले कहिल्यै गरे न त सत्यासत्यको निर्णय नै गरियो । फेरि यी तन्मात्रा त परिणाममा पुग्दा आपसमा मिल्छन् । यसलाई पूर्वमा पञ्चीकरणको संज्ञा दिइएको देखिन्छ र यो सम्मिश्रणबाट भूतका अणुहरूको उत्पत्ति हुन्छ ।

अणुको पारस्परिक सम्बन्धबाट रेणु बन्छ, रेणुका मिलनबाट त्रसरेणु र त्यसका मिलनबाट स्कन्ध बन्छ । यिनीहरूको शरीर आदिमा हुने परिणतिबाटै सत्व बन्दछ । आगमशास्त्रले यिनलाई नै कलातत्व या भुवन भनेको छ । कला विशुद्ध तत्व हुँदै हो । यही विशुद्ध तत्वका संयोगबाट उत्पन्न हुनेवाला अणुतत्व कहलिन्छन् र तिनको पनि परस्पर संयोगबाट बन्नेवाला रेणु या त्रसरेणुलाई नै भुवन भनेर वेदले नामकरण गरेको छ ।

एवं प्रकारले नै यिनीहरूबाट अगाडिका स्कन्धादिको निर्माण क्रमशः हुँदै जान्छ । यसरी स्वतः हुने त्यो प्रक्रियालाई वेदले ‘ऋत’ भनेर संज्ञीकरण गरेको देखिन्छ । यसरी आआफ्ना शास्त्रानुसार जे जे नाम राखे पनि बोधव्यतत्वमा खास फरक पर्ने देखिँदैन । अब हेरौं यो छलफलबाट जसलाई विज्ञानले योगज भन्यो त्यसलाई वैदिक विज्ञानले पञ्चीकरणअन्तर्गत पञ्चमहाभूत भने पनि कुरो त घुमाउरा पारामा एकै रहेछ किनभने वेदले पनि त यसलाई योगज नै मानेको रहेछ । हाम्रा इन्द्रियबाट गृहीत हुने पृथ्वी, जल, तेज आदि त पञ्चीकृत संज्ञात्मक रूप मात्रै रहेछन् । यिनमा सारा तन्मात्राको मेल भएको हुन्छ भन्नु भनेको नै यिनको योगजता सिद्ध गर्नु नै हो । यो माथिको छलफल त प्रसंगवशात् प्राप्त दार्शनिक कुरा गरेको मात्रै हो ।

अब वैदिक विज्ञानभित्र आऊँ, वैदिक विज्ञानले मूलतत्व त मात्रै ‘बल’ र ‘रस’ लाई मान्दछ । अरू त सबै योगज नै हुन् । यसै करालाई स्पष्ट गर्नका निमित्त अघि मैले दृष्टिभेदका स्वरूप र दिशाको कुरो गरेँ । जुन मूलतत्वको खोजी पौरस्त्य वेदविज्ञानले गरेको देखिन्छ । त्यसको सानो रौं जति पनि अहिलेसम्म भौतिक विज्ञानले गर्न सकेको देखिँदैन भन्ने कुरातिर अब म पाठकलाई डोहोर्‍याउँछु । वास्तवमा पञ्चमहाभूत सिद्धान्तको आधार त हाम्रा शरीरमा रहेको छ । ज्ञानेन्द्रिय पाँच छन् हाम्रा-श्रोत्र, त्वक्, चक्षु, रसना र घ्राण । यिनले ग्रहण गरेका जुन विषय छन्-शब्द, स्पर्श, रूप, रस र गन्ध पनि पाँचैवटा छन् । कर्मेन्द्रिय पनि पाँचै छन्-वाक्, पाद, पाणि, पायु र उपस्थ ।

यो जगत्को चक्र चलाउनेवाला शक्तितत्व पनि पाँचै छन् सूर्य, शक्ति, शिव, विष्णु, र गणेश (पृथ्वी, अप, तेज, वायु, आकाश) अब फेरि यिनको व्याप्ति पनि त पाँचैवटामा छ र तिनैलाई पञ्चमहाभूतका नामले वेदमा बताइएको देखिन्छ । यी प्रत्येक भूतको एक एक अवस्थाको वर्णन वेदमा पाइन्छ । जस्तो कि वेदकै कुरा वायुलाई पुराणले ४९ प्रकारले बताए । उनन्चास वायु यसै भनेको होइन । वायुका सम्बन्धबाट अग्निको पनि उनन्चास प्रभेद गरिएको छ । यिनै ४९ अग्नि र ४९ वायुका पृथक् पृथक् रूप र कार्यको पनि वर्णन पुराणमा गरिएको छ । यी सबै तिनै पञ्चमहाभूतका अवस्थाभेद हुन् ।

यिनमा पनि आद्यावस्था, मध्यावस्था र वर्तमानमा प्राप्त हुनेवाला अवस्था सबैमा हुन्छ नै । मैले अघिल्ला दिनमा अग्निलाई प्राणतत्व हो भनेर बताएको छु । यसमा त रूप, रस, गन्धादि केही पनि हुँदैनन् । रूप, रसादि अगाडि गएर यिनैका अवस्थामा रूपान्तरण हुन्छन् । जलको त चार अवस्था वेदमा वर्णन गरेको भेटिन्छ । ऐत्तरेय ब्राहृमणमा अप् तत्वलाई उत्पन्न गर्नेलाई चार अवस्थामा चारै लोकमा व्याप्त बताइएको छ । अम्भ, मरीचि, भर् तथा आप् । अम्भ यो सूर्यलोकभन्दा पनि माथिल्लो लोकमा मह, जन आदिलोकमा व्याप्त हुन्छ । अन्तरिक्षमा जुन जल व्याप्त छ त्यो मरीचि रूप हो ।

यसैगरी पृथ्वीको उत्पादनमा जुन जल अग्रसर हुन्छ त्यो भर् हो । फेरि पृथ्वीमा बहनेवाला जल हो भने पृथ्वीलाई खन्दा उत्पन्न हुने चाहिँ आप हो । यसमा सबैभन्दा पहिले जुन अम्भः भनिएको छ त्यो नै मौलिक जलतत्व हो र यही नै पञ्चीकृत भएर अन्यतत्वमा सम्मिश्रित भई स्थूलावस्थामा आएर जलका रूपमा परिणत भएको हुन्छ जसलाई हामी देख्न, छाम्न, पिउन, नुहाउन, धुन र यस्तै आदि अनेकानेक काममा लाउन सक्छौं ।

आत्मावाइयमेक एवाग्र आसीन्नान्यत्किञ्चनमिषत् । स ईक्षतलोकान्नु सृजाइति । स इमांल्लोकानसृजतअम्भो मरीचिर्भरः या अधस्तात्ताआपः । अदोद्रम्भः परेण दिवं द्यौः प्रतिष्ठा अन्तरिक्षं मरीचय पृथ्वी भरःस्तात्ताआपः। स ईक्षतेमे नु लोकालोकपालान्नु सृजाइति सोद्रद्भ्यएवपुरुषं समुद्धृत्यामूच्र्छयत् (ऐत्तरेय, उ, ४।१) । जललाई अनेकौं प्रकारले वेदका मन्त्रमा उल्लेख गरिएको भेटिन्छ जस्तो कि-‘अप्सु मे सोमो अव्रवीदन्तर्विश्वानि भेषजाअग्निं च विश्वशंभुवम्’ । अर्थात् जलभित्र विराजमान् जुन सोमतत्व छ त्यसैमा अग्नितत्व पनि सिम्मलित छन् । त्यसले नै हामीलाई संकेत गर्दछ सोममा नै सूक्ष्मरूपबाट अनेकौं औषधीय तत्व रहेका हुन्छन् ।

यसमा सोम भएकै कारणले अग्नि पनि भएको संकेत पाइन्छ किनभने विनाअग्नि सोम रहनै सक्दैन । सोमका सम्बन्धले अग्नि शान्त एवं शाम्यावस्थामा रहन सक्छ । यसरी वैदिक विज्ञानले हामीलाई जलविद्युत्को र औषधं जाहृनवीतोयं वैद्य नारायणेहरिः को रहस्य पनि बताउँछ । अहिले वेदको यसरी रहस्य खोतलेर अनुसन्धानात्मक विधि अपनाएर पढाउने प्रथालाई हामीले पोलीपकाई खायौं । अतः संस्कृत विश्वविद्यालयले यस प्रकारका कामको सुरुवात गर्ने र सरकारले त्यसका लागि यथेष्ट (आवश्यकतानुसार) बजेट दिनुपर्छ भन्ने मेरो प्रस्ताव छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *