मूल्यवृद्धिविरुद्ध विद्यार्थीले गरे आयल निगम घेराउ (तस्वीरसहित)

हिमालय टाइम्स
Read Time = 7 mins

काठमाडौं । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि खारेज गर्न माग गर्दै संयुक्त विद्यार्थी संगठनले नेपाल आयल निगमको कार्यालय घेराउ गरेका छन् ।

बुधवार नेपाल विद्यार्थी संघ, अनेरास्ववियू, अखिल क्रान्तिकारी संयुक्त विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि खारेज गर्न माग गर्दै निगमको कार्यालय घेराउ गरेका हुन् । उनीहरुले निगमको मुल गेटमा पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नाराबाजी गरेका थिए ।

उनीहरुले रुस र युक्रेनको युद्ध देखाएर नेपालमा मूल्यवृद्धि गर्नुको तात्विक कारण नरहेको बताए । रुस र युक्रेनमा भएको युद्धलाई लिएर जनतालाई अफवाह फैलाएर सरकारले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको उनीहरको आरोप छ । उनीहरुले जनतालाई खान, लाउन शंकट भएको बेलामा पनि नेपाल सरकार जनता चाहिँदैन भनेर आफ्ना अव्यवहारिक गतिविधिमा लिप्त रहेको बताए । कार्यक्रममा बोल्दै विद्यार्थी संगठनका नेताहरुले जनताको कर एसी गाडीमा झण्डा हालेर हिँड्नका लागि नभएको भन्दै राज्यले जनतामाथि परिरहेको संकटको बेलामा अविभावकत्व लिनुपर्ने बताए । पार्टीमा लाग्यो भन्दैमा जनता सेक्ने काम गर्ने सरकार र नेताहरुको शासन प्रणालीलाई लालसलाम, जिन्दावाद र जय नेपाल भन्न नसकिने जिकिर गरे । उनीहरुले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि कुनैपनि हिसावले ठिक नभएको बताए ।

सरकारले अविलम्व पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता नलिए आगामी दिन बिरोधका कार्यक्रमहरु थप सशक्त बनाउँदै जाने चेतावनीसमेत दिए । निगमका कर्मचारी, सरकारी कर्मचारी र मन्त्री तथा सांसदहरुलाई सेवा, सुविधा थप गर्न सरकार लागि परेको भन्दै उनीहरुले आयल निगम घाटामा नभएको र सरकारले मनलाग्दी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको बताए । उनीहरुले आयल निगमले ३३ अर्ब घाटा भनेको तर ५५ अर्ब नाफा भएको कुरा जनतालाई नभनेको आरोप लगाए ।

प्रदर्शनकारीहरुले गठबन्धनको उपहार महंगी र भ्रष्टाचार, अनियमितता र भ्रष्टाचार, देउवा सरकारको उपहार, आयाल निगमका भ्रष्ट कर्मचारी मुर्दावाद जस्ता नारा लगाएर बिरोध गरेका थिए । सरकारले गत आईतवार रातिबाट लागू हुने गरेर प्रतिलिटर १० रुपैयाँका दरले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको थियो ।

अहिले पेट्रोल प्रतिलिटर १८०, डिजेल र मट्टितेल १६३, आन्तरिक हवाईमा १६६, खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २०० रुपैयाँले बढाएर १८ सय रुपैयाँ पुर्याएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?