निलम्बित वडाध्यक्षको शपथ रोकियो

Read Time = 3 mins

सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिकामा एक जना वडाध्यक्षको शपथ ग्रहण रोकिएको छ ।

ईश्वरपुर नगरपालिका ११ का नवनिर्वाचित वडाध्यक्ष राम दुलार साहविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएकाले उहाँलाई तत्काल शपथ नखुवाइएको हो । निर्वतमान वडाध्यक्ष समेत रहनुभएका साहविरुद्ध पहिलो कार्यकालमै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको थियो ।

भ्रष्टाचारको मुद्दा दर्ता भएपछि निलम्बनमा पर्नुभएका साह पुनः चुनावमा उठ्नुभयो र विजयी समेत हुनुभयो । लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० का उम्मेदवार साह प्रतिस्पर्धीको भन्दा २४ मत बढी ल्याएर दोस्रो कार्यकालका लागि वडाध्यक्षमा निर्वाचित हुनुभएको हो । साहले ४०६ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका महेन्द्र प्रसाद महतोले ३८२ मत मात्रै ल्याउनुभएको छ । ईश्वरपुरमा अन्य जनप्रतिनिधिहरुले भने गएको सोमबार नै शपथ लिइसक्नुभएको छ ।

ईश्वरपुरस्थित निर्वाचन अधिकृतको कार्यालयले नवनिर्वाचित वडाध्यक्ष साहविरुद्ध मुद्दा दायर भएको र त्यसको किनारा लाग्न बाँकी रहेकाले तत्कालका लागि शपथ नखुवाइएको जनाएको छ । शपथ ग्रहण नभएका कारण वडाध्यक्ष साहले पदभार ग्रहण गर्न पाउनुभएको छैन ।
तत्कालका लागि वडा सदस्यहरुमध्ये ज्येष्ठताका आधारमा शैलिया देवी कुम्हारलाई कार्यवाहक वडाध्यक्षको जिम्मेवारी दिइएको छ । ५२ वर्षीया कुम्हार यसअघि पनि वडा सदस्य हुनुहुन्थ्यो । अघिल्लो कार्यकालमा वडाध्यक्ष साह निलम्बनमा परेपछि कुम्हारले नै कार्यवाहक वडाध्यक्षको जिम्मेवारी निर्वाह गर्नुभएको थियो ।

ईश्वरपुर नगरपालिका वडा नं ११ को भलुवाहीमा सडक निर्माण कार्य सम्पन्न गरेपश्चात उपभोक्ता समितिसँग लिएको १ लाख ५० हजार रुपियाँ घुससहित अख्तियारको टोलीले गएको कात्तिक २९ गते तत्कालिन वडा सदस्य सोनेलाल साह रौनियार र उमेश रायलाई लालबन्दीबाट रङ्गेहात पक्राउ गरेको थियो । अनुसन्धानमा वडाध्यक्ष रामदुलार साहको निर्देशनमा वडा सदस्य उमेश रायले घुसरकम लिएको र अर्का वडा सदस्य सोनेलाल साह रौनियारलाई राख्न दिएको खुलेको अख्तियारले जनाएको छ ।
यो मुद्दाको पेशी यही जेठ १९ गतेलाई तोकिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?