स्थानीय तह निर्वाचन-२०७९ : मतगणना अन्तिम चरणमा, आजसम्म सबै पालिकाको अन्तिम परिणाम आइसक्ने

हिमालय टाइम्स
Read Time = 5 mins

डिबी शर्मा/हिटा
काठमाडौं । स्थानीय तह निर्वाचनअन्तर्गत मतगणनाको काम अन्तिम चरणमा पुगेको छ । वैशाख ३० गते सम्पन्न निर्वाचनको अन्तिम परिणाम आउन अब केही पालिका मात्रै बाँकी छन् । मतगणना जारी भएकाले आज (बिहीबार)सम्म सबै पालिकाको अन्तिम परिणाम आइसक्ने निर्वाचन आयोगले जनाएको छ । मतगणनामा भएको ढिलाइले अन्तिम परिणाम आउन करिब दुई साता लाग्ने भएको हो ।

आयोगले एक सातामै सबै पालिकाको मतगणना गरिसक्ने दाबी गरेको थियो । प्राप्त मत परिणामअनुसार नेपाली कांग्रेसले सबैभन्दा धेरै पालिकामा जित हात पारेको छ । नेकपा एमाले दोस्रो पार्टी बनेको छ भने नेकपा माओवादी केन्द्र तेस्रो पार्टी बनेको हो ।

चौथो पार्टीका रूपमा जनता समाजवादी पार्टी देखिएको छ भने नेकपा (एकीकृत समाजवादी) पाँचौँ नम्बरमा देखिएको छ । माथि उल्लेखितबाहेक अन्य साना आठ पार्टीले विभिन्न पालिकामा जित हात पारेका छन् । स्थानीय तहको निर्वाचनमा ८० वटा दलले सहभागिता जनाएका थिए । ६ वटा राष्ट्रिय दलहरूसहित आठ साना दलले जित निकाल्न सफल भएका हुन् ।

तुलसीपुरमा एमाले विजयी, काठमाडौंमा बालेन
दाङको तुलसीपुर उपमहानगरपालिकाको मेयर र उपमेयर दुवैमा नेकपा एमाले विजयी भएको छ । एमालेबाट नगर प्रमुखका उम्मेदवार टीकाराम खड्का र उपप्रमुखकी उम्मेदवार स्यानी चौधरी भारी मतका साथ विजयी हुनुभएको हो । एमालेका खड्काले नेपाली कांग्रेसका गेहेन्द्र गिरीलाई तीन हजार ६९१ मतान्तरले पराजित गर्दै विजयी हुनुभयो ।

खड्काले ३१ हजार ४०८ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्द्वी गिरीले २७ हजार ७१७ मत प्राप्त गर्नुभयो । गठबन्धनबाट उम्मेदवार बनेका गिरी अघिल्लो चुनावमा पनि एमालेका घनश्याम पाण्डेसँग पराजित हुनुभएको थियो ।

उपमेयरमा चौधरीले गठबन्धनबाट एकीकृत समाजवादीका जोगबहादुर रानालाई ९ हजार ५३२ मतान्तरले पराजित गर्नुभयो । चौधरीले ३० हजार ५९७ मत प्राप्त गर्दा रानाले २१ हजार ६५ मत प्राप्त गर्नुभयो ।

यस्तै, काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) को विजय निश्चित भएको छ । गन्न बाँकी मतभन्दा बढीको अग्रता बनाएपछि उहाँको जित पक्का भएको हो । काठमाडौंमा कुल एक लाख ९१ हजार १८६ भोट खसेको थियो । त्यसमध्ये बालेनले करिब ४० प्रतिशत भोट ल्याउनुभएको छ ।

घोषणापत्रमा लेखिएका कुराहरू लागू गर्न सकेका दिन विजयोत्सव मनाउँला, अहिले जुलुस ननिकाल्नू : बालेन
काठमाडौं महानगरपालिकाका स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन)ले मतदातालाई धन्यवाद दिनुभएको छ । मतगणना नसकिँदै जित निश्चित भएपछि बुधबार दिउँसो फेसबुकमार्फत मतदाता, समर्थक र निर्वाचनमा सामेल भएका सबैलाई धन्यवाद दिनुभएको हो ।

उहाँले विश्वासमा कसैको जित वा हार नहुने बताउनुभएको छ । यस्तै, आफूहरूले विजय जुलुस निकालेर अरूलाई पराजित भन्ने संकेत नगर्न पनि अनुरोध गर्नुभएको छ । ‘ठाउँ-ठाउँबाट र्‍यालीका लागि काठमाडौं आउने कुराहरू एकदमै धेरै सुनिरहेका छौँ । हाम्रो अनुरोध के हुन्छ भने तपाईंहरू कोही पनि र्‍यालीका लागि काठमाडौं आउने दुःख गर्नु पर्दैन,’ उहाँले लेख्नुभएको छ, ‘यो अभियान सबैको हो । यसको स्वामित्व हरेक नेपालीले जहाँबाट जसरी पनि लिइदिए हामी खुसी हुनेछौँ ।’

साहले आफू विजय जुलुस निकाल्ने पक्षमा नरहेको बताउनुभएको छ । बालेनले घोषणापत्रमा लेखिएका कुराहरू लागू गर्न सकेका दिन सबै मिलेर विजय उत्सव मनाउनेसमेत बताउनुभएको छ । अहिले विजय जुलुस भनेर अरूलाई पराजित भन्ने संकेतसम्म पनि नगर्न समर्थकलाई आग्रह गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?