बजेटमा अर्बपति चौधरीका सुझाव

Read Time = 5 mins

काठमाडौं । उद्योगपति तथा सांसद विनोदकुमार चौधरीले भन्सारमा हुने गरेको चुहावटमात्रै नियन्त्रण गरे राजस्व संकलन दोब्बरले बढ्ने बताउनुभएको छ । चौधरीले आगामी आर्थिक वर्षको बजेटका लागि सरकारलाई सुझाव दिँदै करका दर बढाउनेभन्दा पनि भन्सारमा भएका कमजोरीलाई सुधार गरेको खण्डमा भन्सार शुल्क दोब्बरले बढ्ने बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘भन्सार, अन्तःशुल्क तथा प्रोडक्सनमा लिकेज छ, मेन्टिनेन्स र एसेसमेन्टमा रहेका कमजोरी देखाइदिने हो भने पैसा खाने बाटो देखाइदिए जस्तो हुन्छ ।’

देशमा अहिले ठूलो समस्या भनेको न्यून निर्यात र उच्च आयात रहेको भन्दै चौधरीले हाल निर्यात भएका मुख्य दुई/चारवटा वस्तु पनि आयातित कच्चा पदार्थमा आधारित रहेको बताउनुभयो । स्थानीय कच्चा पदार्थमा आधारित निर्यातलाई अत्यधिकरूपले अन्तर्राष्ट्रिय बजारमा कसरी लैजाने र कसरी प्रतिस्पर्धा गर्ने भन्ने वातावरण बनाउनुपर्ने उहाँको भनाइ छ ।

कुनै मान्यता नभएको निर्यातमा सहुलियतभन्दा पनि निर्यात हुने वस्तु वर्गीकरण गर्नुपर्ने उहाँले बताउनुभयो । सरकारले हरेक वर्ष निर्यातलाई प्रोत्साहन गर्दै आएको भए पनि उत्पादन वृद्धितर्फ ध्यान नदिँदा निर्यातमा समस्या आएको चौधरीको भनाइ छ । उहाँले भन्नुभयो, ‘एक्साइज ड्युटी भनेको उत्पादनलाई निरुत्साहित गर्न लगाइने कर हो, एक्साइज ड्युटी लगाइएका वस्तुको सूची हेर्ने हो भने निकै लामो छ, कर नै लिनु छ भने अरू कर लगाउँदा भयो तर करका सिद्धान्तविपरीत काम भइरहेको छ । उत्पादनलाई नै निरुत्साहित गर्ने कर किन ? बरु भ्याट थप्नुस् न, भन्सार थप्नुस् न ।’

उद्योग टिक्ने तथा फस्टाउने वातावरण दिनुपर्ने उहाँले बताउनुभयो । भारत र चीनजस्ता देशका बीचमा बसेर उद्योग सञ्चालन गर्नुपरेको अवस्थामा आयात हुने कच्चा पदार्थ र तयारी वस्तुमा समान कर लगाएपछि स्वदेशी उद्योग चल्न नसक्ने भन्दै चौधरीले स्वदेशी र विदेशी वस्तुलाई समान करका दर कायम गरेर उत्पादन बढाउन नसकिने बताउनुभयो ।

पर्यटकीय क्षेत्रले प्रयोग गर्ने विद्युत् महसुलमा सहुलियत दिनुपर्ने पनि उहाँको सुझाव छ । उद्योगभन्दा बढी विद्युत् होटल सञ्चालनमा आवश्यक पर्ने गरेको जानकारी गराउँदै उहाँले सस्तो मूल्यमा भारतमा बेच्नुभन्दा रोजगारीको राम्रो अवसर सिर्जना गर्ने होटललाई सस्तो विद्युत् दिनुपर्ने बताउनुभयो । चौधरीले बेरोजगारी समस्या पनि जटिल बन्दै गएको बताउनुभयो । वार्षिक पाँच लाख विद्यार्थी पास भएर आउने तर नेपालको कर्पोरेट सेक्टरले ५० हजारलाई मात्र रोजगारी दिन सक्ने अवस्था रहेकाले बाँकी चार लाख ५० हजार युवा विदेशिन बाध्य भएको उहाँले बताउनुभयो ।

चौधरीले भन्नुभयो, ‘विदेशिने युवा शक्तिलाई कसरी रोजगारी सिर्जना गर्ने, कसरी उनीहरूको उद्यमशीलता विकास गर्ने, उनीहरूलाई आवश्यक पर्ने सिड क्यापिटल, स्टार्टअप, ऋण दिनुप¥यो भन्नेबारे कहिले सोच्ने, अहिले उद्यमशीलता विकास गर्ने सातभन्दा धेरै संस्था स्थापना भइसकेको अवस्थामा पनि पैसासमेत अड्केर बसेको छ ।’

त्यस्तै उहाँले कृषि उत्पादनलाई पनि सरकारले विशेष जोड दिनुपर्ने बताउनुभयो । कुनै न कुनै माध्यमबाट ३० प्रतिशत पैसा कृषिको खल्तीमा नपुग्दासम्म कृषि क्षेत्रको सुधार नहुने भन्दै कृषकलाई फर्टिलाइजर, मूल्य तथा ढुवानीको माध्यमबाट लागतको ३० प्रतिशत सहुलियत सरकारले कृषकको खल्तीमा नपार्दासम्म फलफूलदेखि खाद्यान्न आयात हुनेक्रम नरोकिने उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?