बर्दिबासका नगरप्रमुखले गरे आफू चढ्ने गाडीलाई एम्बुलेन्स बनाउने निर्णय

Read Time = 2 mins

महोत्तरी । बर्दिबास नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख प्रह्लाद क्षेत्रीले कार्यभार ग्रहण गर्दै गर्भवती महिला र नगरभित्रका विपन्न नागरिकहरूको लागी विशेष स्वास्थ्य उपचारको प्याकेज घोषणा गर्नुभएको छ ।

गर्भवती महिलाहरूलाई निस्शुल्क उपचार गर्नेदेखि विपन्न नागरिकहरूलाई निस्शुल्क स्वास्थ्य बिमा गरिने नगरप्रमुख क्षेत्रीले आज पदभार ग्रहण गर्दै घोषणा गर्नुभयो ।

हिमाल, पहाड र तराइका गर्भवती महिलाहरूलाई स्वास्थ्य सुरक्षालाई प्रभावकारी बनाउन सरकारले प्रदान गर्दै आएको यातायात खर्च बापतको क्रमशः १ हजार, २ हजार र ३ हजारमा यदि बर्दिबासका नागरिक भए १ हजार समेत थप्ने निर्णय गरिएको नगरप्रमुख प्रह्लाद क्षेत्रीले जानकारी दिनुभयो ।

नवनिर्वाचित नगरप्रमुख क्षेत्रीले नगरबाट पाउने सबै प्रकारका सुविधा नलिने पनि घोषणा गर्नुभयो । नगरबाट उपलब्ध भएको गाडीलाई एम्बुलेन्स बनाउने बताउँदै नगरप्रमुख क्षेत्रीले सधैँभरी नगरको समस्याबाट नजिक रहने पनि बताउनु भयो ।

बर्दिबासमा सबैभन्दा ठूलो समस्याकोरुपमा रहेको नदिजन्य वस्तुको उत्खनन‍्मा पनि तत्काल ध्यान दिने बताउनु भयो । प्राविधिक तथा अनुगमन समिति बनाई नगरभित्रका क्रसर उद्योगलाई समेत व्यवस्थित बनाउनेमा नगरप्रमुख क्षेत्रीले प्रतिबद्धता जनाउनु भयो ।
विशाल बस्नेत/न्युज कारखाना

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?