जनता टेलिभिजन र ग्लोबल आइएमईबीच सम्झौता, आइपीओ जारी गर्ने

Read Time = 3 mins

काठमाडौं । जनता टेलिभिजनको प्रसारण कम्पनी जनता प्रसारण तथा प्रकाशन लिमिटेडले निकट भविष्यमा सार्वजनिक शेयर (आइपीओ) जारी गर्ने भएको छ ।

शेयर कारोबार र आइपीओ जारी गर्ने सम्बन्धमा बिहीवार जनता प्रसारण तथा प्रकाशन लिमिटेड र ग्लोबल आइएमइ क्यापिटल लिमिटेडबीच सम्झौता भएको छ । सम्झौतापत्रमा जनता तर्फबाट सञ्चालक समिति अध्यक्ष डा विजयकुमार पौडेल र ग्लोबल आइएमइ क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकालले हस्ताक्षर गर्नुभएको छ ।

सो अवसरमा बोल्दै अध्यक्ष पौडेलले जनता आइपीओमा गएसँगै नेपाली मिडियाको क्षेत्रमा नयाँ युगको शुरुवात हुने बताउनुभयो । यसले लगानीकर्ताहरुले व्यक्तिगत लाभ र उद्देश्य प्राप्तिका लागि मात्र मिडियामा लगानी गर्छन् भन्ने जनगुनासोको समेत अन्त्य हुने उहाँले बिश्वास व्यक्त गर्नुभयो ।

ग्लोबल आइएमइ क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकालले नेपालको शेयर बजारमा मिडिया क्षेत्रको आइपीओ पहिलोपटक जारी हुन लागेको जानकारी दिनुभयो । यसले नेपालको शेयरबजारमा नयाँ प्लेटफर्म भित्रिने र सर्वसाधारण शेयर लगानीकर्ताहरुले समेत नयाँपनको अनुभूति गर्न पाउने बताउनुभयो । साथै निश्चित प्रवृत्तिका कम्पनीहरुको शेयर कारोबार राष्ट्र बैंक वा अन्य निकायको एउटा निर्णयले सबै तरंगित हुने गरेको अवस्थामा पब्लिक मिडियामा गरिने शेयर लगानीले नयाँ मानक स्थापना गर्नसक्ने उहाँको बिश्वास छ । नेपाली शेयर बजारमा नयाँ काम थालनीमा साझेदार हुन पाउँदा उहाँले खुशी व्यक्त गर्नुभयो । जनता टेलिभिजनका समाचार प्रमुख टंक पन्तले दक्षिण एशियाकै सामुदायिक टेलिभिजन आइपियोमा जाने भएपछि धेरै क्षेत्रबाट सुभेक्षा प्रकट भएको भन्दै सो अनुसार आइपियोमा जाने प्रक्रिया छिट्टै व्यवहारिक रुपमा लागु हुने बिश्वास व्यक्त गर्नुभयो ।

झण्डै १२ सयभन्दा बढी सर्वसाधरण शेयरधनीहरुको संस्थापक शेयर लगानी रहेको जनता प्रसारण तथा प्रकाशन लिमिटेडले हाल जनता टेलिभिजन एचडी, रेडियो जनता ८९.१, जनता समाचार डटकम र जनता प्रकाशन सञ्चालन गर्दै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?