केसी यु-२० टोलीको प्रशिक्षकमा नियुक्त

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रशिक्षक मेघराज केसीलाई यु-२० राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । एन्फाको प्राविधिक समितिको सिफारिसमा केसीलाई बिहीबार मुख्य प्रशिक्षकको जिम्मेवारी प्रदान गरिएको हो । ‘ए’ डिभिजनको सातदोबाटो युथ क्लब र रुस्लान थ्रीस्टार क्लबको मुख्य प्रशिक्षक रहनुभएका केसीले यसअघि पनि उमेर समूहको टोलीलाई प्रशिक्षण दिइसक्नुभएको छ ।

भर्खरै सकिएको ‘ए’ डिभिजन लिगमा यसै सिजनमा नयाँ प्रवेशी सातदोबाटो टोलीलाई केसीले चौथो स्थानसम्म पुर्‍याउनुभएको थियो । केसीले प्रशिक्षक नियुक्त भएसँगै भारतमा जुलाई २५ देखि अगस्ट ३ सम्म हुने साफ यु-२० च्याम्पियनसिपमा ध्यान केन्द्रित गर्ने जनाउनुभएको छ ।

नेपालले साफ यु-२० च्याम्पियनसिपको आफ्नो पहिलो खेल जुलाई २५ मा माल्दिभ्ससँग खेल्नेछ भने दोस्रो खेल जुलाई २७ मा श्रीलंकासँग र त्यसपछि ३१ मा भारतसँग खेल्नेछ । नेपालले समूहको अन्तिम खेल अगस्ट २ मा बंगलादेशसँग खेल्नेछ । सेप्टेम्बर १० देखि १८ सम्म बहराइनमा हुने एएफसी यु-२० एसिया कप छनोटमा कतार, बहराइन, बंगलादेश र भुटानसँगै राष्ट्रिय यु-२० टोली पनि परेको छ ।

नेपालले आफ्नो पहिलो खेल सेप्टेम्बर १० मा भुटानसँग र दोस्रो खेल सेप्टेम्बर १२ मा कतारसँग खेल्नेछ भने तेस्रो खेल सेप्टेम्बर १४ मा बहराइनसँग र चौथो खेल सेप्टेम्बर १८ मा बंगलादेशसँग खेल्नेछ । यु-२० टोलीको छनोट जुन ४ देखि ७ गतेसम्म एन्फा कम्प्लेक्समा हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?