सञ्चालकद्वय सिवाकोटी र आचार्यद्वारा शपथ

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाल राष्ट्र बैंक सञ्चालक समितिका नवनियुक्त सदस्यद्वय चिन्तामणि सिवाकोटी र डा. शंकरप्रसाद आचार्यले कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

बिहीबार सर्वोच्च अदालतमा आयोजित एक कार्यक्रमबीच कायमकुकायम प्रधानन्यायाधीश कार्कीले शथप गराउनुभएको नेपाल राष्ट्र बैंकले जनाएको छ । नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०८ (१) मा बैंकका सञ्चालकले सर्वोच्च अदालतको प्रधानन्यायाधीश वा निजले तोकेको न्यायाधीशसमक्ष शपथ लिनुपर्ने व्यवस्था छ ।

मन्त्रिपरिषद्को जेठ ६ गतेकोे निर्णयअनुसार सिवाकोटी र आचार्य बैंक सञ्चालक समितिको सदस्यमा नियुक्त हुनुभएको थियो । सिवाकोटी बैंकका पूर्वडेपुटी गभर्नर र आचार्य पूर्वकार्यकारी निर्देशक हुनुहुन्छ ।

सिवाकोटीले त्रिभुवन विश्वविद्यालय र संयुक्त राज्य अमेरिकास्थित साउथर्न न्यू हृयाम्सायर विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर र आचार्यले युनिभर्सिटी अफ नर्थ बंगाल भारतबाट अर्थशास्त्रमा विद्यावारिधि उपाधि हासिल गर्नुभएको छ । सो अवसरमा सर्वोच्च अदालतका रजिष्ट्रार निर्मला पौडेल, सह रजिष्ट्रारद्वय विमल पौडेल र नारायणप्रसाद रेग्मी, राष्ट्र बैंकका निर्देशक एवं सञ्चालक समितिका सचिव मुक्तिनाथ सापकोटा र निर्देशक थानेश्वर आचार्यलगायतको उपस्थिति रहेको बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?