कृषि कर्जामा दुई प्रतिशतमात्रै प्रिमियम

Read Time = 4 mins

काठमाडौं । नेपाल राष्ट्र बैंकले कृषि क्षेत्रलाई प्रवद्र्धन गर्न आधार दरपछिको प्रिमियम सीमा तोकेको छ । केन्द्रीय बैंक तथा वित्तीय संस्थाले फलफूल तथा जडीबुटी प्रशोधन परियोजनामा कर्जा दिँदा आधार दरमा दुई प्रतिशतमात्र प्रिमियम लिन पाउने व्यवस्था छ । राष्ट्र बैंकले बिहीबार एकीकृत निर्देशन जारी गर्दै फलफूल एवं जडीबुटी उत्पादनका लागि पूर्णतया स्वदेशमा उत्पादित फलफूल एवं जडीबुटी प्रशोधन गर्ने परियोजनाका लागि बैंक तथा वित्तीय संस्थाले आधार दरमा अधिकतम दुई प्रतिशतसम्म मात्र प्रिमियम थप गरी आवधिक कर्जा प्रवाह गर्न भनेको छ । तर, त्यस्तो व्याजदर जग्गा खरिद गर्न प्रवाह हुने/भएका कर्जामा भने लागू हुने छैन ।

यसभन्दा अघि बैंक तथा वित्तीय संस्थाले आधार दरमा वा त्यसमा केहीमात्र प्रिमियम थप गरी व्याज लिन पाउने क्षेत्रहरू छवटामात्र थिए । बैंकले एकीकृत निर्देशनलाई संशोधन गर्दै एक बुँदा थप गरेर सात पु¥याएको छ । निर्देशनअनुसार व्यावसायिक कृषि तथा पशुपालन, साना तथा मझौला व्यवसाय एवं भूकम्पबाट प्रभावित क्षेत्रमा आयमूलक क्रियाकलापलाई प्रोत्साहित गर्न ऋणीको ऋण तिर्न सक्ने क्षमताका आधारमा बढीमा २० लाखसम्मको कर्जा प्रवाह गर्दा मोटरबाटो नभएको खेतीयोग्य जमिनलाई पनि बैंक तथा वित्तीय संस्थाले धितोका रूपमा स्वीकार गर्न सक्नेछन् । त्यसैगरी बैंक तथा वित्तीय संस्थाले एक करोडसम्मको कृषि, हस्तकला तथा सीपमूलक व्यवसाय एवं उद्यम व्यवसाय सञ्चालनका लागि कर्जा प्रवाह गर्दा आधार दरमा दुई प्रतिशतसम्म मात्र थप गरी ऋणको व्याज तोक्नुपर्नेछ ।

२० लाखसम्मको कर्जा प्रवाहमा मोटरबाटो नभएको खेतीयोग्य जमिनलाई पनि बैंक तथा वित्तीय संस्थाले धितोका रूपमा स्वीकार गर्न सक्ने व्यवस्था छ । प्रत्येक शाखाले सो कर्जासम्बन्धी निवेदन प्राप्त भएको सात कार्य दिनभित्र स्वीकृत गर्नुपर्ने तथा स्वीकृत हुन नसक्ने भएमा सोको स्पष्ट कारणसमेत उल्लेख गरी सम्बन्धित ग्राहकलाई लिखितरूपमा दिनुपर्ने व्यवस्था छ ।

विद्युत् आयोजना निर्माण गरी विद्युत् निर्यात गर्न सुरु गरेका परियोजनामा प्रवाहित कर्जालाई निर्यात सुरु गरेको पाँच वर्षसम्म र जलाशययुक्त जलविद्युत् आयोजनामा प्रवाहित कर्जालाई कर्जा अवधिभर आधार दरमा एक प्रतिशतसम्म मात्र थप गरी कर्जा प्रदान गर्नुपर्नेछ । हाल सञ्चालनमा रहेका स्वास्थ्य सेवा प्रदायक संस्था, अस्पताल वा उद्योगलाई लिक्विड अक्सिजन प्लान्ट वा अक्सिजन प्लान्ट स्थापना गर्ने प्रयोजनका लागि कर्जा माग भएमा आधार दरमा कर्जा उपलब्ध गराउनुपर्ने व्यवस्था रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?