एमालेले सांसदहरुलाई आफ्नो विचार राख्न संसद अवरोध गरेर गल्ती गर्‍याे : मन्त्री झाँक्री

Read Time = 2 mins

काठमाडौं । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले प्रमुख प्रतिपक्ष दल एमालेले सरकारको नीति तथा कार्यक्रमबारे सांसदहरुलाई आफ्नो विचार राख्न अवरोध गरेर गल्ती गरेको टिप्पणी गर्नु भएको छ ।

मन्त्री झाँक्रीले एमाले अध्यक्ष केपी ओलीलाई संसदमा प्रश्न गर्दा संसद अवरुद्ध पारेर सांसदहरुले सरकारको नीति तथा कार्यक्रमबारे आफ्नो विचार राख्न एमालेले नदिएको आरोप लगाउनु भएको हो ।

शुक्रबार एमाले अध्यक्ष ओलीले सरकारको नीति तथा कार्यक्रमबारे दिएको कतिपय अभिव्यक्ति निराधार र झुटो रहेको भन्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुले आपत्ति जनाएपछि त्यसको विरोधमा एमालेले प्रतिनिधिसभा अवरुद्ध पारेको थियो ।

सोही प्रसंग उल्लेख गर्दै मन्त्री झाँक्रीले सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै ओलीलाई प्रश्ननै गर्न नमिल्ने हो र भनि प्रश्न समेत गर्नु भयो । उहाँले भन्नु भयो, ‘के डमोक्रेसीमा उहाँले भनेको कुरा यो गलत हो भन्न नपाउने त होइन होला । फेरि संसदका आफ्ना मर्यादाहरु पनि छन् । मर्यादा भित्र त सबै बस्नुपर्छ । तर उहाँलाई प्रश्न गर्न नहुने प्रश्नरहीत व्यक्ति हो र ? प्रश्नरहीत व्यक्ति होइन । त्यसो भएको हुनाले त्यसको जवाफ अरु ढंगले पनि दिन सकिन्थ्यो । नेताहरुले लामोलामो वक्तव्य दिँदा सांसदहरुले आफ्नो विचार राख्ने काम बाँकि नै छ । त्यसैले यसरी अवरोध गर्नु राम्रो होईन ।’

मन्त्री झाँक्रीले संसदमा मर्यादा भित्र सबै रहनुपर्ने पनि स्पष्ट पार्नु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?