लिटल फ्लावर र महेन्द्रनगर फाइनलमा

हिमालय टाइम्स
Read Time = 4 mins

धनगढी । महेन्द्रनगर क्रिकेट क्लब धनगढी सुपर लिगको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार लिग चरणको अन्तिम खेलमा देउखुरी वारियर्स क्रिकेट क्लबलाई ७९ रनले पराजित गर्दै महेन्द्रनगर फाइनल प्रवेश गरेको हो ।

कैलालीको धनगढीस्थित प्रदेश प्रहरीको खेल मैदानमा टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको महेन्द्रनगर क्रिकेट क्लबले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १६३ रन बनाएको थियो । १६४ रनको विजयी लक्ष्य पछ्याएर मैदान उत्रिएको देउखुरीले १७.३ ओभरमा आफ्ना सबै विकेट गुमाएर ८४ रनमात्रै बनाउन सक्यो ।

उसका वसन्तसिंह कार्कीले १७, दिवान पुनले अविजित १५ र विशालविक्रम केसीले १५ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानको प्रदर्शन सम्झन लायक गर्न सक्नुभएन । बलिङतर्फ महेन्द्रनगरका विपिन धामीले ३, राहुल भण्डारी र सन्तोष भट्टले समान २/२ विकेट लिनुभयो ।

त्यसअघि महेन्द्रनगरका लागि सुशील खड्का र विशाल ऐरले समान ३९/३९ रन बनाउनुभयो । उसका दिलीप नाथले २१ र कप्तान सन्दीप जोराले १५ रन बनाउनुभयो । बलिङतर्फ देउखुरीका दिवान पुनले ३ तथा दिनेश अधिकारी र प्रतिस जिसीले समान २/२ तथा अनिल खरेलले १ विकेट लिनुभयो । खेलको प्लेयर अफ दि म्याच सुशील खड्का घोषित हुनुभयो ।

शुक्रबारको जितसँगै लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको महेन्द्रनगरले अब उपाधिका लागि लिटल फ्लावरको सामना गर्नेछ । लिटल फ्लावर यसअघि नै फाइनल प्रवेश गरिसकेको छ ।

फागुन ६ गतेबाट सुरु भएको टी-२० क्लब क्रिकेट प्रतियोगिताको फाइनल खेल शनिबार दिउँसो २ बजे हुने आयोजक लिटल फ्लावर स्पोर्ट्स एण्ड इभेन्ट्स प्रालि धनगढीका अध्यक्ष रामचन्द्र शाहीले जानकारी दिनुभयो । उक्त खेलको विजेताले नगद दुई लाख, उपविजेताले एक लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद १५ हजार, उत्कृष्ट बलर, ब्याट्सम्यान तथा उदीयमान खेलाडीले सात हजार पाँच सय नगद पुरस्कारका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

विद्यालयस्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिगसमेत आयोजना गर्दै आएको लिटल फ्लावर स्पोर्ट्स एण्ड इभेन्ट्सले यहाँको खेल क्षेत्रलाई थप चलायमान बनाउनुपर्छ भनेर राष्ट्रिय स्तरका खेलाडी समावेश हुने प्रतियोगिता सञ्चालन गरेको शाहीको भनाइ छ ।

प्रतियोगितामा देशका विभिन्न ६ वटा क्लब बुंगल क्रिकेट क्लब बझाङ, देउखुरी वारियर्स दाङ, धनगढी क्रिकेट एकेडेमी धनगढी कैलाली, महेन्द्रनगर क्रिकेट एकेडेमी, महेन्द्रनगर कञ्चनपुर, लिटल फ्लावर क्रिकेट क्लब धनगढी कैलाली र कैलाली जिल्ला क्रिकेट क्लब धनगढी कैलालीको सहभागिता रहको धनगढी सुपर लिगका संयोजक वीरेन्द्र वडले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?