हाइड्रोजन ऊर्जाका लागि केयु र प्राधिकरणबीच सहकार्य

Read Time = 7 mins
A A- A+

काठमाडौं । पछिल्लो समय नेपाल सरकारले पनि ग्रिन हाइड्रोजन इनर्जीको प्रवद्र्धनमा चासो देखाउन थालेको छ । सोहीक्रममा नेपाल विद्युत् प्राधिकरणले हाइड्रोजन इनर्जीको अध्ययन अनुसन्धानसँग सम्बन्धिन स्वदेशी तथा विदेशी संस्थासँग सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर गरेको छ । प्राधिकरणले केही दिनअघि संसारभर हरित हाइड्रोजनलगायतका क्षेत्रमा काम गर्दै आएको ग्लोबल ग्रिन ग्रोथ इन्स्टिच्युट कोरियासँग सम्झौतापत्रमा हस्ताक्षर गरेकोमा शुक्रबार काठमाडौं विश्वविद्यालय (केयु) सँग पनि सहकार्यका लागि सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।

सम्झौतापत्रमा केयुका उपकुलपति प्राडा भोला थापा र प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले ग्रिन हाइड्रोजन ल्याबका प्रमुख सहप्राध्यापक विराज सिंह थापा र प्राधिकरणका उपप्रबन्धक हरराज न्यौपानेको उपस्थितिमा हस्ताक्षर गर्नुभएको छ । उक्त सहकार्य सम्झौता भएको मितिदेखि पाँच वर्षसम्म रहने केयु ग्रिन हाइड्रोजन ल्याबका प्रमुख विराज सिंह थापाले जानकारी दिनुभएको छ ।

सम्झौताले मुख्यतया नेपालमा हरित हाइड्रोजन प्रविधिको उत्थान गर्न प्राधिकरण र सरकारको चासोसँग सम्बन्धित ज्ञान, विशेषज्ञता र जनशक्ति विकास गरी नेपालमा हरित हाइड्रोजन प्रविधिको प्रवद्र्धन गर्ने थापाले बताउनुभयो । प्राधिकरणको वैशाख ७ गते बसेको ९०७औँ बोर्ड बैठकले स्वीकृत गरेको ‘घरेलु अर्थतन्त्रमा योगदान र जलविद्युत्को राम्रो उपयोगका लागि नेपालमा पाइलट हरित अमोनिया उत्पादन’ सम्बन्धी केयुबाट प्रस्तावित परियोजना प्रस्तावलाई पनि दुवै पक्षले औपचारिकता दिएका छन् ।

दुवै पक्षले हरित हाइड्रोजन प्रविधिको पाइलट–स्केलमा अनुसन्धान गर्न, ग्रिडको गुणस्तर र विश्वसनीयता सुधार गर्न हाइड्रोजन प्रविधिको प्रयोग, हिउँद मौसममा ऊर्जा भण्डारणका साथै नेपालमा जलविद्युत्को उचित सदुपयोग गर्न क्षमता विकासलगायतमा सहकार्य गर्ने थापाले बताउनुभयो । सम्झौताले नेपालमा हरित हाइड्रोजन प्रविधिको प्रयोगमा तीनवटा स्नातकोत्तर तह र विद्यावारिधि तहका कार्यक्रमसमेत प्रदान गर्नेछ । शुक्रबार केयुमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै स्कुल अफ इन्जिनियरिङका डिन प्रा. मनिष पोखरेलले ग्रिन हाइड्रोजनको क्षेत्रमा प्राधिकरणको संलग्नताले नेपालमा हरित हाइड्रोजन प्रविधि प्रवद्र्धन गर्ने आत्मविश्वास बढेको बताउनुभयो ।

ल्याब प्रमुख थापाले सन् २०३५ सम्ममा नेपालले विश्वकै सस्तो हरित हाइड्रोजन उत्पादन गर्न सक्ने बताउनुभयो । केयु पहिले नै नेपालमा हरित हाइड्रोजन प्रविधिको अनुसन्धान र कार्यान्वयनमा संलग्न छ । हाइड्रोजन ऊर्जा यातायात, औद्योगिक क्षेत्र, रासायनिक उद्योग र ऊर्जा उद्योगमा उपयोग गर्न सकिन्छ भने अमोनिया र युरिया जस्ता वस्तु उत्पादनमा पनि गर्न प्रयोग गर्न सकिन्छ ।

प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङले ग्रिन हाइड्रोजन ल्याब र केयुले गरेका सबै प्रयासको स्वागत गर्दै विश्व हरित ऊर्जातर्फ उन्मुख रहेको र नेपालले पनि त्यसलाई अघि बढाउनुपर्ने बताउनुभयो । सुक्खायाममा पनि अतिरिक्त विद्युत् दिने योजना बनाएमा हिउँदमा ५० देखि ६० प्रतिशत विद्युत् बढी हुने भन्दै उहाँले हाइड्रोजनले नेपालको पेट्रोलियम आयातसमेत घटाउन सक्ने सम्भावना रहेको बताउनुभयो । भारत आफैं ९० प्रतिशत पेट्रोलियममा अन्य देशमा निर्भर रहेकाले नेपालको ऊर्जा सुरक्षाको मुद्दा गम्भीर रहेको भन्दै घिसिङले अनुसन्धान र विकासमा केयुसँग थप शैक्षिक सहकार्य गरिने बताउनुभयो ।

केही दिनअघि प्राधिकरणले संसारभर हरित हाइड्रोजनलगायतका क्षेत्रमा काम गर्दै आएको ग्लोबल ग्रिन ग्रोथ इन्स्टिच्युट कोरियासँग पनि समझदारीपत्रमा हस्ताक्षर गरेको थियो । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको उपस्थितिमा प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ र इन्स्टिच्युटका महानिर्देशक फ्र्याङ्क रिज्सवरम्यानले समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको हो ।

दुई संस्थाले हरित ऊर्जामार्फत् हाइड्रोजन, एमोनियाको उत्पादन र युरिया मल उत्पादनका लागि मल कारखाना स्थापनाको सम्भाव्यता अध्ययन गर्ने बताइएको छ । नेपालको जलविद्युत् आयोजनाबाट उत्पादित हरित ऊर्जाको प्रयोग गरी हाइड्रोजन, एमोनिया उत्पादन गर्ने र मल कारखाना स्थापनाका लागि एउटा नमुना परियोजनाको डिजाइन, विकासका लागि सम्भाव्यता अध्ययन गरिने प्राधिकरणले जनाएको छ । ऊर्जामन्त्री भुसालले नेपालका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् देशभित्रै खपतका लागि हाइड्रोजनको उत्पादन नयाँ क्षेत्र र प्रविधि हुने बताउनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?