युवाको हातमा महानगरको नेतृत्व

हिमालय टाइम्स
Read Time = 12 mins

डिबी शर्मा/हिटा
काठमाडौं । काठमाडौं महानगरपालिकाको नेतृत्व दुई युवाको हातमा पुगेको छ । मेयरमा बालेन्द्र साह (बालेन) र उपमेयरमा सुनिता डंगोल निर्वाचित हुनुभएको छ । साह स्वतन्त्रबाट निर्वाचित हुनुभएको हो भने डंगोल नेकपा एमालेबाट उपमेयरमा निर्वाचित हुनुभएको हो ।

दुवैजना प्रतिस्पर्धी उम्मेदवारभन्दा फराकिलो मतान्तरले विजयी हुनुभयो । बालेनले स्थापित ठूला दलका उम्मेदवारलाई चुनौती दिँदै विजय हासिल गर्नुभयो । मतदाताले पनि अधिकतम् विवेक प्रयोग गर्दै दुई युवालाई अत्यधिक मत दिए ।

मुलुकको राजधानीसमेत रहेको काठमाडौंमा अब ३५ वर्षमुनिका दुई युवाले नेतृत्व गर्नेछन् । महानगरमा उनीहरूका मतदाता मात्रै बस्दैनन् । मतदातासहित देशभरका लाखौँ मान्छे महानगरमा छन् । थरिथरिका मानिसहरू थरिथरिका आवश्यकता हुने नै भए ।

काठमाडौं महानगरपालिकाका नगरसभादेखि नगरकार्यपालिकामा दलहरूकै वर्चस्व हुनेछ । उनीहरू सबैलाई सहमत गराएर लैजाने पहिलो चुनौती बालेनलाई हुनेछ । तर, यहाँका केही साझा समस्या छन् । जुन सामान्य लागे पनि जटिल छन् । फोहोर व्यवस्थापन काठमाडौंको ठूलो समस्या हो । ट्राफिक जाम, खानेपानी र धुलोको समस्या उस्तै छ ।

हुन त बालेनले ठूला सपना बाँडेका छैनन् । यिनै सानातिना तर, जटिल बनेका समस्या समाधान गर्न सकेमा उनीहरूको ठूलो सफलता हुनेछ । स्थानीय सरकार डेलिभरीका लागि हो । यसमा पनि उनीहरूले ध्यान दिनुपर्नेछ । नेपाली समाजमा एउटा प्रवृत्ति छ, छिनमै भगवान् बनाउने र छिनमै खेदो खन्ने । उनीहरूका हरेक कदमको दलहरूले कडा निगरानी गर्नेछन् ।

सोमबार पदभार ग्रहण
काठमाडौं महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिको शपथग्रहण सोमबार हुने भएको छ । शनिबार र आइतबार सार्वजनिक बिदा भएकाले सोमबार मात्र शपथग्रहण हुने भएको हो । सोमबार महानगरपालिकामा शपथग्रहणपछि मेयर बालेन साह र उपमेयर सुनिता डंगोलले औपचारिक रूपमा पदभार ग्रहण गर्नुहुनेछ ।

काठमाडौंलाई देशकै उत्कृष्ट सहर बनाउन प्रयत्न गर्नेछु : मेयर साह
काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन)ले काठमाडौं महानगरपालिकालाई पूर्ण विकसित उत्कृष्ट सहर बनाउने प्रयत्न गर्ने बताउनुभएको छ । शुक्रबार मेयरमा निर्वाचित भएको औपचारिक घोषणापछि राष्ट्रिय सभागृहमा सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै उहाँले यसका लागि आफ्नो सम्पूर्ण क्षमता, योग्यता र कुशलतालाई प्रयोग गर्ने बताउनुभयो । ‘यो पाँच वर्ष काठमाडौं महानगरपालिकाबाहेक म अन्यत्र समय दिने छैन,’ उहाँले भन्नुभयो, ‘काठमाडौं महानगरपालिकालाई व्यवस्थित बनाउन, स्वच्छ बनाउन, देशकै उत्कृष्ट सहर बनाउन आफ्नो क्षमता, योग्यता र कुशलतालाई प्रयोग गर्नेछुु ।’

र्‍यापरको पहिचान बनाउनुभएका प्रमुख साहले ह्वाइट हाउस इन्ष्टिच्युड अफ टेक्नोलोजीबाट सिभिल इञ्जिनियरिङमामा स्नातक र भारतको कर्नाटक विश्वेश्वरैया राष्ट्रिय प्रौद्योगिक संस्थानबाट स्ट्रक्चरल इञ्जिनियरिङमा स्नातकोत्तर गरेका छन् ।
शिक्षा र स्वास्थ्यमा सुधार आफ्नो पहिलो प्राथमिकता हुने उहाँले बताउनुभयो । महानगर क्षेत्रमा रहेका ९२ सामुदायिक विद्यालयलाई स्तरोन्नति गरी गुणस्तरीय शिक्षा प्रदान गर्ने उहाँको योजना छ । महानगरका ३२ वटा वडामा वडा क्लिनिकको व्यवस्था गर्ने, वडा क्लिनिकमा चिकित्सक, नर्स र प्रयोगशाला राख्ने र वडा क्लिनिकमा मुटु, मिर्गौला तथा कलेजो एवं रगत, रक्तचाप, मधुमेहको सामान्य परीक्षण गर्न सक्ने पूर्वाधार निर्माण गर्ने उहाँले बताउनुभयो ।

उहाँले फोहोर व्यवस्थापनमा पनि देखिने गरी काम गर्ने बताउनुभयो । ‘स्रोतमा नै कुहिने र नकुहिने गरी फोहोरलाई छुट्याउन सकिन्छ । फोहोर लिनका लागि हामी दुई प्रकारका गाडीको व्यवस्था गर्छौँ,’ उहाँले भन्नुभयो, ‘सातामा दुई दिन फोहोर लिन आउँदा फरक-फरक दिन कुहिने र नकुहिने फोहोर बोक्ने गाडी पठाउँछौँ । स्रोतमा नै फोहोरलाई छुट्याउन सकियो भने कुहिनेलाई जैविक मलका रुपमा प्रयोग गर्न सक्छौँ । नकुहिने फोहोरको त्यहीअनुसार व्यवस्थापन गर्न सकिन्छ ।’

विकास र राम्रो काममा बाधक बन्ने छैन : उपमेयर डंगोल
नेकपा एमालेबाट उपमेयरमा निर्वाचित हुनुभएकी सुनिता डंगोलले आफू विकास र राम्रो कामका लागि बाधक नबन्ने बताउनुभएको छ । नतिजा घोषणापछि राष्ट्रिय सभागृहबाट बाहिरिँदै उहाँले मतदाताले युवालाई विश्वास गरेर मत दिएको बताउँदै खुट्टा तान्ने प्रवृत्तिमा लाग्न नहुने बताउनुभयो । ‘युवाहरूले हामीमा आशा देख्नुभएको छ । हामी खुट्टा तान्ने प्रवृत्तिमा लाग्नहुँदैन,’ उहाँले भन्नुभयो, ‘म विकास र राम्रो काममा बाधक बन्ने छैन । हामी सबैजना एक ढिक्का भएर काममा लाग्नुपर्छ ।’

महानगरवासीले खसालेका हरेक मतपत्रको सम्मान गर्नुहुनेछ भन्ने अपेक्षा छ : स्थापित
नेकपा एमालेबाट काठमाडौं महानगरपालिकामा मेयर पदमा उम्मेदवार भई पराजित हुनुभएका केशव स्थापितले मेयरमा निर्वाचित हुनुभएका बालेन साह र उपमेयर सुनिता डंगोललाई बधाई दिनुभएको छ । शुक्रबार धन्यवाद वक्तव्य जारी गर्दै स्थापितले जनताको सेवक भएर काम गर्ने आफ्नो आकांक्षा भए पनि निर्वाचनको परिणामले त्यो प्राप्त हुन नसकेको बताउनुभयो । ‘म पटक-पटक लडेर पनि फेरि धुलो टक्टक्याएर उठेको व्यक्ति हुँ । त्यसैले मैले यो लोकतान्त्रिक अभ्यासमा हार-जितलाई सामान्य रूपमा लिएको छु,’ वक्तव्यमा भनिएको छ, ‘यहाँको विकास र यहाँको समृद्धिप्रतिको मेरो आकाङ्क्षा अलिकति पनि धरमराएको छैन । काठमाडौं महानगरपालिकामा मेयर पदमा निर्वाचित साहलाई म शुभकामना भन्न चाहन्छु । महानगरवासीले तपाईंमाथि भरोसा गर्दै मतपेटिकामा खसालेका हरेक मतपत्रको तपाईँले सम्मान गर्नुहुनेछ भन्ने मैले अपेक्षा लिएका छु ।’ उहाँले एमालेबाट उम्मेदवार भई उपमेयर निर्वाचित सुनिता डंगोललाई पनि बधाई दिनुभएको छ ।

‘विजयी हुने गरी मत जित्न सकिनँ तर नगरवासीको मन जित्न सकेँ : सिंह
यस्तै, काठमाडौं महानगरपालिकाको मेयरमा पराजित नेपाली कांग्रेसकी सिर्जना सिंहले आफूले मतदाताको मत जित्न नसके पनि मन भने जितेको बताउनुभएको छ । उहाँले नगरवासीले दिएको अपार माया, हौसला र समर्थनप्रति आभार प्रकट गर्नुभएको छ । ‘विजयी हुने गरी निश्चय नै मत जित्न सकिनँ तर नगरवासीको मन जित्न सकेँ,’ उहाँले भन्नुभएको छ, ‘लोकतान्त्रिक अभ्यासको यो परिणामलाई म हार्दिकतापूर्वक स्वीकार र आत्मसात गर्दछु ।’ उहाँले काठमाडौं महानगरको प्रमुखमा निर्वाचित बालेन्द्र साह र उपप्रमुखमा निर्वाचित सुनिता डंगोललाई बधाई र शुभकामना दिनुभएको छ । पूर्ण कार्यकालभरि आफ्नो रचनात्मक सहयोग र साथ रहने उहाँको प्रतिबद्धता छ ।

बालेनको जित मेरो पनि जित हो : सायमी
महानगरको मेयरमा निर्वाचित बालेन्द्र साह (बालेन)ले मतदातालाई धन्यवाद दिनुभएको छ । औपचारिक रूपमा विजयी घोषणा भएपछि शुक्रबार उहाँले मतदातालाई धन्यवाद दिनुभएको हो । समर्थकहरूले काठमाडौं महानगरका विभिन्न ठाउँमा धन्यवाद र्‍यालीसमेत गरेका थिए । बालेन समर्थकले आयोजना गरेको धन्यवाद र्‍यालीमा मेयरका एकजना प्रत्यासी सुमन सायमी पनि सहभागी हुनुभयो । चुनावी प्रतिस्पर्धामा चौथो स्थानमा रहनुभएका सायमी शुक्रबार बालेनको धन्यवाद र्‍यालीमा सहभागी हुनुभयो । उहाँले बालेन र आफ्नो विचारधारा एउटै रहेको बताउनुभयो । ‘चुनावअघि हामी प्रतिस्पर्धी थियौँ, तर चुनाव सकिएपछि कुनै प्रतिस्पर्धाको भावना छैन,’ उहाँले भन्नुभयो, ‘म पनि स्वतन्त्र उहाँ पनि स्वतन्त्र । आज स्वतन्त्र उम्मेदवारको जित भएको छ । बालेनको जित मेरो पनि जित हो । हामी दुवै एउटै उद्देश्यमा हिँडेका छौँ ।’ उपमेयरमा निर्वाचित सुनिता डंगोलसहित काठमाडौंमा एमालेबाट निर्वाचितहरूको औपचारिक धन्यवाद र्‍याली शनिबार निकाल्ने तयारी छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?