दक्षिण एसियाली विज्ञको ३१ बुँदे घोषणापत्र, बढ्दो बहुआयामिक संकट

Read Time = 8 mins

काठमाडौं । दक्षिण एसियामा बढ्दै गएको बहुआयामिक संकट र असमानताबारेमा गम्भीर बन्न दक्षिण एसियाका नागरिक संगठनका अभियन्ताले सचेत गराएका छन् । काठमाडौंमा सम्पन्न गरिबी उन्मूलनका लागि दक्षिण एसिया मञ्च अर्थात् साउथ एसिएन एलाइन्स फर प्रोपर्टी इराडिकेसनकोे छैटौँ वार्षिकसभा तथा जनसार्क भेलाले दक्षिण एसियाका उपरोक्त विषयमा ३१ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै दक्षिण एसियाको संकट समाधान गर्न जनसार्कलाई अझ मजबुत बनाउँदै सामाजिक अभियानलाई सुदृढ र गतिशील बनाउनुपर्नेमा जोड दिएको छ ।

दक्षिण एसियाका विभिन्न देशका सरकारले लागू गरेको नवउदारवादी नीतिका कारणले खाद्य संकट, इन्धन संकट, ऊर्जा संकट र जलवायु परिवर्तनमा संकट ल्याएको घोषणापत्रमा उल्लेख छ । दक्षिण एसियाका विभिन्न देशमा अवलम्बन गरिएको नवउदारवादी अर्थ राजनीतिक नीतिले श्रीलंका, अफगानिस्तानजस्ता मुलुकमा निम्त्याएको गम्भीर संकटको सम्बोधन गर्न अन्तर्राष्ट्रिय पहल गरिनुपर्ने, आतंकवादको अन्त्य गरिनुपर्ने, धार्मिक अतिवादको अन्त्य गरिनुपर्ने, बेरोजगारी, भोकमरी एवं गरिबीको अन्त्य गरिनुपर्ने, वैज्ञानिक भूमिसुधार र खाद्य सम्प्रभुता लागू गरिनुपर्ने, लैंगिक, जातीय एवं सबै प्रकारका विभेद समूल अन्त्य गरिनुपर्ने, दलित, आदिवासी, महिला, अल्पसंख्यक, बालबालिकालगायत सीमान्तकृत समुदायका सवाल सम्बोधन गरिनुपर्ने, कोरोनापछिको अर्थतन्त्रको पुनरुत्थान गरिनुपर्ने, कोरोनाका सबै प्रकारका खोपमा सहज र समान पहुँच स्थापित गरिनुपर्ने, दिगो विकास लक्ष्य हासिल, मानवअधिकार रक्षा र सम्बद्र्धन गर्दै लोकतान्त्रिक प्रणालीको सुदृढीकरण गरिनुपर्नेलगायत विषय घोषणापत्रमा समेटिएका छन् ।

भेलाले आगामी दिनमा किसान, महिला, दलित, मजदुर, युुवा, गरिब र सिमान्तकृत समुदायका हकहित र अधिकारलाई प्रवद्र्धन र सशक्तीकरण गर्दै न्याय, स्वतन्त्रता, सुशासन र लोकतन्त्रका पक्षमा निरन्तर लागिरहने प्रतिबद्धतासमेत व्यक्त गरेको छ ।

भेलामा सहभागी दक्षिण एसियाका सामाजिक अभियन्ता, अधिकारकर्मी तथा विज्ञले यस क्षेत्रमा बढ्दै गएको आर्थिक, राजनीतिक र सामाजिक संकट तथा कोरोनापछिको आर्थिक पुनरुत्थानका विषयमा गम्भीर बन्न सचेत गराएका हुन् ।

दक्षिण एसियाका महिला, दलित, अल्पसंख्यक तथा सीमान्तकृत समुदायले भोग्दै आएका विभेद र वञ्चितीकरणको अन्त्य नभएसम्म असमानता बढ्दै जाने भएकाले सामाजिक न्याय र समानता हासिल हुन नसक्नेतर्फ सचेत गराउँदै कार्यक्रमका सहभागीले सम्बन्धित देशका सरकारलाई उचित नीति तथा कार्यक्रम ल्याउन आग्रह गरेका छन् ।

विज्ञहरूले कार्यक्रममा आर्थिक, राजनीतिक र मानवीय संकट बेहोरिरहेका दक्षिण एसियाली देश श्रीलंका र अफगानिस्तानका बारेमा विशेष प्रस्तुति दिनुभएको थियो । अफगानिस्तानका एक सामाजिक अभियन्ताले तालिवान सत्तामा आएपछि आर्थिक, राजनीतिक र सामाजिक प्रणाली ध्वस्त भएको र धेरै नागरिकले विस्थापित जीवन बिताइरहेको बताउनुभयो । अफगानिस्तानी नागरिक आधारभूत मानवअधिकारबाट वञ्चित भएको जनाउँदै उहाँले महिला र बालबालिकाको अवस्था थप दर्दनाक रहेको भन्दै अवस्थामा सुधार गर्न अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउनुभयो ।

त्यसैगरी श्रीलंकाका निमल्का फर्नान्डोले श्रीलंकाको आर्थिक संकटबारे जानकारी गराउँदै त्यहाँका नागरिक चरम संकटमा रहेको बताउनुभयो । गलत राजनीतिक र आर्थिक नीतिका कारण अहिलेको समस्या उत्पन्न भएको भन्दै उहाँले आन्तरिक र बाहृय ऋणका कारण संकट गहिरिएको बताउनुभयो । श्रीलंकामा चरम मूल्यवृद्धि, औषधि अभाव र वैदेशिक मुद्रा अभाव भएको उहाँले जानकारी गराउनुभयो ।

सहभागीहरूले दक्षिण एसियामा बढ्दै गइरहेको बहुआयामिक संकट र असमानताबारेमा छलफल गरी दक्षिण एसियामा सामाजिक आन्दोलनलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् । सो अवसरमा कोरोनाका कारण कमजोर बन्दैै गएको आर्थिक प्रणाली, वित्तीय सुशासन, दक्षिण एसियाको गरिबी अवस्था, असमान ज्याला, सुशासन, ऋण, प्रगतिशील कर, लैंगिक न्याय, वातावरणीय संकट एवं कृषि र खाद्य प्रणाली, लोकतन्त्र र मानवअधिकार, स्वास्थ्य प्रणाली र कोरोनाविरुद्धको खोप तथा आर्थिक पुनरुत्थानजस्ता विषयमा छलफल भएको थियो ।

छलफलमा भारतका बाबु माथ्यु, जाकीया सोमन, बाबु पी रमेश, नीता, शोभा रघुराम, बंगलादेशका सहनाज सुमी, मनोवर मुस्तफा, श्रीलंकाकी लोगेश्वरी पुनि, नलिनी रतनराज, नेपालका हरि शर्मा, सुशिल प्याकुरेल, डा. नेत्र तिम्सिना, शर्मिला कार्की, उद्धव प्याकुरेल, कनकमणि दीक्षित, डा. अर्जुन कार्की, विमला राई (पौडेल), डा. प्रेम दंगाल, भुटानका गोविन्द रिजाल, पाकिस्तानका फारुक तारिकले दक्षिण एसियाको समग्र अवस्था र नयाँ सामाजिक आन्दोलन र जनसंघर्षबारे चर्चा गर्नुभएको थियो । भौतिक उपस्थिति र भर्चुअल गरी हाइब्रिड मोडलमा सम्पन्न भएको भेलामा अफगानिस्तान, बंगलादेश, भुटान, भारत, पाकिस्तान, श्रीलंका र नेपालका प्रतिनिधिको सहभागिता थियो । दुईदिने भेला शुक्रबार सम्पन्न भएको आयोजक संस्थाका क्षेत्रीय संयोजक नेत्रप्रसाद तिम्सिनाले जानकारी गराउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?