स्थानीय तह निर्वाचन-२०७९ : कांग्रेस पहिलो दल, एमाले र माओवादी क्रमशः दोस्रो र तेस्रो

हिमालय टाइम्स
Read Time = 9 mins

डिबी शर्मा/हिटा
काठमाडौं । स्थानीय तहको निर्वाचनको मतगणना लगभग सकिएको छ । कुल ७५३ मध्ये ७५१ पालिकाको अन्तिम नतिजा सार्वजनिक भएको छ । बाजुराको बूढीगंगा नगरपालिका र उदयपुरको त्रियुगा नगरपालिकाको अन्तिम नतिजा आइसकेको छैन । बूढीगंगामा पुनः मतदान हुने भएको छ भने त्रियुगामा मतगणना जारी छ ।

वैशाख ३० गते एकैसाथ देशभर स्थानीय तहको निर्वाचन भएको थियो । केही छिटफुट घटनाबाहेक निर्वाचन पूर्णतः शान्तिपूर्ण रूपमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । वैशाख ३० गते भएको निर्वाचनको अन्तिम परिणाम आउन भने झण्डै दुई साता लाग्यो ।

दुईवटाबाहेक बाँकी पालिकाको अन्तिम नतिजा आउन जेठ १३ गते (शुक्रबार) सम्म कुर्नुप¥यो । शुक्रबार काठमाडौं महानगरपालिकाको अन्तिम परिणाम घोषणा गरिएको थियो । धेरै मतदाता र उम्मेदवार भएका पालिकामा गणना गर्न आयोगले झण्डै दुई साता लगाएको हो ।

कांग्रेसबाट १३ हजार ७३७ जनप्रतिनिधि निर्वाचित
हालसम्म प्राप्त मतपरिणामअनुसार सत्तारूढ नेपाली कांग्रेसले सबैभन्दा धेरै पालिका जितेको छ । कांग्रेसले कुल ३२८ पालिकाको प्रमुख जितेको छ । कांग्रेस अझै एक पालिकामा अगाडि छ । उपप्रमुख पनि सबैभन्दा धेरै कांग्रेसले जितेको छ । कांग्रेसले देशभरका ३०१ पालिकामा उपप्रमुख जितेको छ । प्रमुख र उपप्रमुख मात्रै होइन वडाध्यक्ष र सदस्यमा पनि सबैभन्दा बढी कांग्रेसबाटै विजयी भएका छन् । कांग्रेसबाट १३ हजार ७३७ जनप्रतिनिधि निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार कांग्रेसबाट १४० प्रमुख, ११० उपप्रमुख, १८८ अध्यक्ष, १९० उपाध्यक्ष, दुई हजार ६६१ वडाध्यक्ष, दुई हजार ६०० महिला सदस्य, दुई हजार ५४७ दलित महिला र वडा सदस्य पाँच हजार ३०१ निर्वाचित भएका छन् । २०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेसबाट ११ हजार ४५६ जनप्रतिनिधि निर्वाचित भएका थिए ।

एमालेबाट ११ हजार ८७२ जना जनप्रतिनिधि निर्वाचित
कांग्रेसपछि दोस्रोमा सबैभन्दा धेरै प्रमुख प्रतिपक्षी नेकपा एमालेबाट जनप्रतिनिधि निर्वाचित भएका छन् । एमालेले २०५ पालिका प्रमुखमा जितेको छ भने २३८ पालिकामा उपप्रमुख जितेको छ । एमालेबाट ८२ प्रमुख, ११३ उपप्रमुख, १२३ अध्यक्ष, १२६ उपाध्यक्ष, दुई हजार १२७ वडाध्यक्ष, दुई हजार ३४० महिला सदस्य, दुई हजार २८५ दलित महिला सदस्य र चार हजार ६७६ वडा सदस्य निर्वाचित भएका छन् । एमालेबाट कुल ११ हजार ८७२ जना जनप्रतिनिधि निर्वाचित भएका छन् । २०७४ सालको निर्वाचनमा एमालेबाट १४ हजार १०० जनप्रतिनिधि निर्वाचित भएका थिए ।

माओवादीबाट पाँच हजार ४४ जनप्रतिनिधि निर्वाचित
तेस्रोमा नेकपा (माओवादी केन्द्र) छ । माओवादीले देशभरका १२१ पालिका प्रमुख र १२६ पालिकामा उपप्रमुख जितेको छ । माओवादीबाट नगर प्रमुखमा २५, उपप्रमुखमा ३३, पालिका अध्यक्षमा ९६, उपाध्यक्षमा ९५, वडाध्यक्षमा एक हजार ५३, महिला सदस्यमा ९६३, दलित महिला सदस्य ९७३ र वडा सदस्यमा एक हजार ८०६ निर्वाचित भएका छन् । माओवादी केन्द्रबाट कुल पाँच हजार ४४ जनप्रतिनिधि निर्वाचित भएका छन् । २०७४ सालको निर्वाचनमा माओवादीबाट पाँच हजार ४४० जनप्रतिनिधि निर्वाचित भएका थिए ।

त्यस्तै, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्रबाट चार हजार ३४८ निर्वाचित भएका छन् । कुल ३५ हजार २२१ पदका लागि भएको निर्वाचनमा एक लाख ४५ हजारले उम्मेदवारी दिएका थिए । निर्वाचनमा २४ राजनीतिक दल सहभागी भएका थिए ।

३८५ स्वतन्त्र उम्मेदवार निर्वाचित
स्थानीय तहको निर्वाचनमा हालसम्म ३८५ जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । स्वतन्त्रबाट निर्वाचित हुनेमा २६६ पुरुष र ११९ महिला रहेको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार नगरपालिका प्रमुखमा सात र गाउँपालिका अध्यक्षमा ६ जना निर्वाचित भएका छन् । स्वतन्त्र उम्मेदवार उपप्रमुख दुई र उपाध्यक्ष दुई निर्वाचित भएको आयोगले जनाएको छ ।

स्वतन्त्र वडाध्यक्ष १३६ निर्वाचित भएका छन् । महिला सदस्यमा ६०, दलित महिला सदस्य ५५, पुरुष सदस्य ११७ निर्वाचित भएको आयोगले जनाएको छ । यसपालिका देशका महत्वपूर्ण ठाउँमा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । काठमाडौं महानगरपालिकासहित धरान उपमहानगरपालिका, धनगढी उपमहानगरपालिका र जनकपुर उपमहानगरको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् ।

बूढीगंगामा पुनः मतदान हुने, सिडियोदेखि अधिकृतमाथि छानबिनको निर्देशन
बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान हुने भएको छ । चुनाव निष्पक्ष नभएको ठहर गर्दै आयोगले वैशाख ३० को निर्वाचन कार्यक्रम रद्द गरी पुनः निर्वाचन गर्ने निर्णय गरेको हो । आयोगले बाजुराका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका जिल्ला प्रमुखलाई तीन दिनभित्र हटाई अरू कर्मचारी पठाएर निर्वाचनको वातावरण बनाउन सरकारलाई निर्देशन दिएको छ ।

उनीहरूलाई निर्वाचन कसुरअनुसार विभागीय कारबाही गर्न भनिएको छ । निर्वाचन कार्यक्रम केही दिनमै सार्वजनिक हुने आयोगले जनाएको छ । नगरपालिकाका १० वटा वडामध्ये ६ वटा वडामा विवाद थियो ।

बूढीगंगामा उत्पन्न विवादवारे अध्ययन गर्न निर्वाचन आयुक्त सगुन शमशेर जबरासहितको टोली नेपाली सेनाको हेलिकप्टरमा बाजुरा पुगेको थियो । कांग्रेसका उम्मेदवार रंगबहादुर खाती र अरू प्रतिनिधिले २, ३, ५ र ९ गरी चारवटा वडामा एमालेबाट बुथ कब्जा भएको आरोप लगाएका थिए । एमाले उम्मेदवार रामबहादुर बाँनियाले वडा नं ४ र ७ मा कांग्रेसले बुथ कब्जा गरेको भनी आरोप लगाएका थिए ।

दुवै पक्षले बुथ कब्जा भएका ठाउँमा आफ्ना समर्थकले मतदान गर्न नपाएको भनी आयोगको स्थलगत टोलीलाई लिखित उजुरी गरेका थिए । स्थलगत प्रतिवेदनमा मतदान केन्द्रहरूको सुरक्षा व्यवस्थामा गम्भीर त्रुटि र चरम लापरबाही भएको निष्कर्ष निकालिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?