लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि हो भन्नेमा सरकार स्पष्ट छ : प्रधानमन्त्री देउवा

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूमि भएकोमा नेपाल सरकार स्पष्ट रहेको बताउनुभएको छ । शनिबार सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उहाँले भूमि फिर्ता ल्याउनका लागि कूटनीतिक पहलसमेत भइरहेको बताउनुभएको हो ।

प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘नेपालले असंलग्न परराष्ट्र नीति अवलम्बन गर्दै आएको छ । नेपाल सरकार राष्ट्रिय हितलाई ध्यानमा राखी सार्वभौम समानतामा परराष्ट्र सम्बन्ध सबै छिमेकीसँग थप प्रगाढ बनाउनेछ । नेपाल सरकार नेपाली भूमिको रक्षा गर्न प्रतिबद्ध छ,’ उहाँले भन्नुभयो, ‘लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि हो भन्नेमा नेपाल सरकार स्पष्ट छ । सीमा सम्बन्धि विषय संवेदनशील हो । वार्ता र कूटनीतिक माध्यमबाट समाधान हुनुपर्छ भन्ने हाम्रो मान्यता रहेको छ ।’

यस्तै प्रधानमन्त्री देउवाले कूटनीति सम्बन्धमा पर्याप्त सावधानी अपनाउनुपर्ने बताउनुभयो । उहाँले सरकार एक चीन नीतिप्रति स्पष्ट रहेको पनि बताउनुभयो । प्रधानमन्त्री देउवाले छिमेकीविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिन सरकार प्रतिबद्ध रहेको जनाउनुभयो । उहाँले विगतमा चीन विरोधीलाई आफ्नै सरकारको पालामा प्रतिबन्ध लगाएको स्मरण गराउनुभएको थियो ।

प्रधानमन्त्री देउवाले बीआरआईलगायतका विकास सहायता लिने विषयमा पनि सरकारले बुद्धिमतपूर्ण निर्णय लिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेपाल एक चीन नीतिप्रति दृढ छ । छिमेकी मित्र राष्ट्रविरुद्ध नेपालको भूमि प्रयोग हुन नदिन नेपाल सरकार सचेत छ । विगतमा चीनविरुद्ध नेपालमा सक्रिय संस्थालाई मैले रोक लगाएको कुरा स्मरण गराउन चाहन्छु । बीआरआईलगायतका अन्य विकास सहायता प्राप्त गर्ने विषयमा राष्ट्रिय आवश्यक्ता, क्षमता र उपादेयताको आधारमा निर्धारण हुने भएकाले नेपाल सरकार मुद्धिमतापूर्ण ढंगले यस्ता विषय उचित निर्णय गर्नेछ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?