कार्यालय सहयोगीदेखि वडाध्यक्षसम्म चन्द्रबहादुर

Read Time = 8 mins

- विवेक खड्का

दाङ । करिब दुई महिनाअघिसम्म चन्द्रबहादुर गुरुङ राप्ती गाउँपालिका–८ को कार्यालयमा कार्यालय सहयोगीका रूपमा हुनुहुन्थ्यो । बिहान ९ बजे कार्यालय जाने, कार्यालय सरसफाइ, जनप्रतिनिधि र कर्मचारीहरूलाई चिया–पानीको व्यवस्था गर्नेदेखि बचेको समयमा सेवाग्राहीलाई समेत सहयोगीका रूपमा सहजीकरणको काम गर्न भ्याउने गर्नुभएको थियो । तर, वैशाख ३० को चुनावपछि उहाँको भूमिका फेरिएको छ ।

वडा कार्यालय आउने सेवाग्राहीलाई कुन काममा आएको सोध्ने र त्यहीअनुसार कर्मचारीलाई काममा सहयोग गर्ने चन्द्रबहादुर गुरुङ त्यही वडामा वडाध्यक्षमा निर्वाचित भएपछि उहाँको भूमिका फेरिएको हो । वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनबाट अध्यक्षमा निर्वाचित हुनुभएका चन्द्रबहादुर जनताको चाहनाअनुसार वडाको विकासको काम गर्ने बताउनुहुन्छ । ‘वडाको विकासका लागि कुन आवश्यकता छ । त्यो पहिचान गरेर विकास निर्माणका काम गर्नेछु’, उहाँले भन्नुभयो, ‘पाँच वर्षको अवधिलाई गर्व गर्न लायक बनाउने प्रयास गर्नेछु ।’

उहाँले दोस्रो तलामा भएको वडाध्यक्षको कार्यकक्ष आफू निर्वाचित भएपछि पहिलो तलामा झारेको बताउनुभयो । ‘वडा जनताको घरदैलोको सरकार हो । यहाँ सबै प्रकारका सेवाग्राही आउनुहुन्छ,’ वडाध्यक्ष गुरुङले भन्नुभयो, ‘माथिल्लो तलामा कार्यकक्ष हुँदा अपांगता भएका व्यक्तिहरू र ज्येष्ठ नागरिक माथिल्लो तलासम्म जान सक्ने अवस्था थिएन । त्यसलाई हटाउनका लागि कार्यकक्ष तल्लो तलामा सारेको छु ।’ जसले गर्दा वडामा आउने सबै सेवाग्राहीले वडाध्यक्षलाई भेट्न सक्ने उहाँले बताउनुभयो ।

३२ वर्षीय गुरूङले वडाध्यक्ष जित्नुभन्दा अघि करिब पाँच वर्ष करार सेवामा कार्यालय सहयोगीका रूपमा काम गर्नुभएको थियो । राजनीतिदेखि परिवारसमेत टाढा रहेको बताउने गुरुङले कार्यालय सहयोगीका रूपमा काम गर्दागर्दै आफूलाई राजनीतिले तानेको बताउनुभयो । ‘समाज सेवामा सानैदेखि रूचि थियो । तर, राजनीति गर्ने मन थिएन,’ वडाध्यक्ष गुरुङले भन्नुभयो, ‘त्यही भएर अहिलेसम्म पार्टीमा लागेको पनि थिइनँ ।’ तर उहाँ एमाले निकट कर्मचारी संगठनमा आबद्ध हुनुहुन्थ्यो । जसले गर्दा उहाँलाई उम्मेदवार हुँदै वडाध्यक्ष बन्न मद्दत गर्यो।

स्थानीय तहको निर्वाचनको चर्चा सुरु भइसकेको थियो तर चुनाव लड्ने सोच थिएन । तर, कार्यालय आउने सेवाग्राहीदेखि घरदेखि वडा कार्यालयसम्म आउँदा–जाँदा धेरैले चुनाव लड्न सुझाव दिन थालेपछि मन बदलिँदै गयो । सबै काम जानेको र सबैले युवा उठ्नुपर्छ भनेर हौसला दिन थालेपछि चैत महिनामा कार्यालय सहयोगीबाट राजीनामा दिएर चुनावी तयारीमा लागेको गुरुङ बताउनुहुन्छ ।

तर, वडाध्यक्षका लागि चन्द्रबहादुरलगायत पाँचजनाको नाम सिफारिस भएको थियो । निवर्तमान अध्यक्ष गोकर्णबहादुर रानामगरसहितको नाम थियो । जसले गर्दा टिकट पाउनै मुस्किल थियो । तर, अन्तिममा पार्टीले विश्वास गरेर उहाँलाई नै उम्मेदवार बनाउने निर्णय गर्यो । पाँच वर्ष कार्यालय सहयोगीका रूपमा काम गर्नुभएका गुरुङको नाम वडावासीको मनमा थियो । त्यसैको परिणाम वडाध्यक्षमा गुरुङले ९५० मत प्राप्त गरेर विजयी हुनुभयो ।

२०६२ सालमा एसएलसी उत्तीर्ण गर्नुभएका गुरुङ गरिबीका कारण तीन वर्ष वैदेशिक रोजगारीका क्रममा साउदी अरब र मलेसिया बस्नुभएको हो । ‘पढ्न मन थियो । तर, सानैमा बुबा बितेपछि आर्थिक अभावका कारण पढ्न सकिनँ,’ उहाँले भन्नुभयो, ‘पढ्न छोडेपछि कामका लागि विदेश गएर घर फर्किएको थिएँ ।’ घर फर्किएर पुनः विदेश जाने तयारीमा रहेका बेला निवर्तमान वडाध्यक्ष गोकर्णले वडामा करार सेवामा कार्यालय सहयोगीका रूपमा काममा चन्द्रबहादुरलाई राखेपछि विदेश जाने योजना त्यागेर वडाको काममा लाग्नुभएको थियो । ‘घरमा काम नभएर फेरि विदेश जाने तयारीमा थिएँ । त्यही समयमा निवर्तमान वडाध्यक्षले कार्यालय सहयोगीका रूपमा मलाई राख्नुभएको थियो,’ उहाँले भन्नुभयो, ‘म बिहान ९ बजेतिर कार्यालय खोल्न पुगिसक्थे र बेलुका कार्यालय समयपछि मात्रै घर फर्किन्थेँ ।’ उहाँले कार्यालयको सरसफाइदेखि चिया, पानी पुर्याउनु, हाकिमको आदेशमा मागेको फाइल पुर्याएर सहयोग गर्नु, कार्यालय सरसफाइदेखि सबै कर्मचारीलाई सहयोग गर्दै आउनुभएको थियो ।

जनप्रतिनिधिदेखि कर्मचारीहरूले कार्यालयको हितभन्दा पनि व्यक्तिगत लाभ लिन चाहने हुँदा त्यो रोक्न कदम चाल्ने गुरुङको अठोट छ । कार्यालयहरूमा तल्लो तहका कर्मचारीलाई गरिने व्यवहार थप सम्मानजनक बनाउन पहल गर्ने, हरेक नागरिकलाई समान व्यवहार गर्ने योजना उहाँको छ । ‘ठूलो होस् वा सानो सेवाग्राही सबैलाई समान र सम्मानजनक व्यवहार गर्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘कसैलाई कार्यालयमा विभेद गर्नुहुँदैन,’ उहाँले भन्नुभयो । उहाँले वडाको विकासका लागि जनताको आवश्यकताअनुसार काम गर्ने र त्यसका लागि निवर्तमान वडाध्यक्षले गरेका राम्रा कामलाई निरन्तरता दिने बताउनुभयो ।

‘पहिला कार्यालय सहयोगीका रूपमा जहाँ काम गरेँ, आज म त्यही कार्यालयको प्रमुख पदमा पुगेको छु,’ वडाध्यक्ष गुरुङले भन्नुभयो, ‘मैले हिजोका दिनहरूमा तल्लो तहबाट काम गर्दा धेरै कुरा महसुस गरेको छु । अबको कार्यकाल त्यही तथ्यलाई आत्मसात् गरी जनताको काम गर्नेछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?