प्रदेश र संघको निर्वाचनमा जुट्न पार्टीका नेता, कार्यकर्तालाई राजेन्द्र लिङदेनको निर्देशन

Read Time = 3 mins

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले प्रदेश र संघको निर्वाचनमा जुट्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनु भएको छ ।

अध्यक्ष लिङदेनले प्रदेश र संघको निर्वाचन सम्मुखमा रहेको उल्लेख गर्दै त्यसको तयारीमा जुटन पार्टीका नेता, कार्यकर्तालाई सचेत गराउनु भएको हो ।

पार्टी स्थापना दिवसको अवसर पारेर आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले स्थानीय तहको निर्वाचन सकियो भनेर थकाई मार्ने छुट पार्टीका कुनै पनि नेता, कार्यकर्तालाई नरहेको पनि स्पष्ट पार्नु भयो । स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टी नयाँ शक्तिको रुपमा उदाएको सन्देश दिन सफल भएको दावी गर्दै अध्यक्ष लिङदेनले अव प्रदेश र संघको निर्वाचनको परिणामलाई आफ्नो पक्षमा पार्न सिंगो पार्टी पंक्ति एकतावद्ध भएर अघि बढनुपर्ने बताउनु भयो ।

उहाँले भन्नु भयो, ‘आगामी प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन हाम्रो सम्मुखमा छ । हाम्रा कुनै पनि नेता, कुनै पनि कार्यकर्ता साथीहरुलाई निर्वाचन सकियो भनेर थकाई मार्ने सुविधा र छुट छैन । भोली नै निर्वाचन छ भन्ने ठानेर आफ्नो मेहनत बढाउन सबै नेता, कार्यकर्ता साथीहरुलाई आह्वान गर्न चाहन्छु । स्थानीय तहको निर्वाचनमा गणितको हिसावले राष्ट्रिय प्रजातन्त्र पार्टीले उल्लेख्य संख्यामा जित्न नसकेपनि नेपालको राजनीतिमा हाम्रो पार्टी नयाँ शक्तिको रुपमा उदय र विकास भईराखेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाली राजनीतिमा नयाँ शक्तिको रुपमा अगाडि आईराखेको छ भन्ने सन्देश दिन सफल भएको छ ।’

अध्यक्ष लिङदेनले सत्तारुढ र प्रतिपक्ष दल आवद्ध दुई छुट्टाछुट्टै गठबन्धनको चपेटाको बीचमा पनि पार्टीको तर्फबाट विजयी हुन सफल जनप्रतिनिधिहरु बधाईको पात्र भएको भन्दै उनीहरुको कार्यकालको सफलताको पनि शुभकामना व्यक्त गर्नु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?