एमसिसीलाई क्लब क्रिकेटको उपाधि

हिमालय टाइम्स
Read Time = 4 mins

धनगढी । महेन्द्रनगर क्रिकेट क्लब (एमसिसी) ले क्लबस्तरीय टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिता धनगढी सुपर लिगको उपाधि जितेको छ । धनगढीको लिटल फ्लावर क्रिकेट क्लबलाई २२ रनले पराजित गर्दै महेन्द्रनगरले उपाधिमाथि कब्जा गरेको हो । विजेता बनेको महेन्द्रनगरले नगद दुई लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता बनेको लिटल फ्लावरले एक लाखमा चित्त बुझायो ।

कैलालीको धनगढीस्थित प्रदेश प्रहरीको खेल मैदानमा भएको फाइनल खेलमा टस जितेर ब्याटिङ थालेको महेन्द्रनगर क्रिकेट एकेडेमीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४० रन बनाएको थियो । १४१ रनको विजयी लक्ष्य पछ्याएको लिटल फ्लावरले १८.३ ओभरमा ११८ रनमात्रै बनाउन सक्यो ।

उसका लागि दीपक बोहराले सर्वाधिक ४१ रन बनाउनुभयो । नरेन भट्टले १८, अभिषेक पालले टिमलाई १३ र सन्दीप खत्रीले १२ रनको योगदान दिनुभयो । बलिङतर्फ महेन्द्रनगरका सन्तोष भट्टले महत्वपूर्ण ४ विकेट लिनुभयो । हेमन्त धामी र विपिन धामीले समान २/२ तथा राहुल भण्डारी र विकास आग्रीले समान १/१ विकेट लिनुभयो ।

त्यसअघि महेन्द्रनगरका लागि विशाल ऐरले ३३ र सन्तोष भट्टले २१ रन बनाउनुभयो । उसका राहुल भण्डारी, हेमन्त धामी र विकास आग्रीले समान १३/१३ रन बनाउनुभयो । बलिङतर्फ लिटल फ्लावरका कृष्ण कार्कीले ३, दीपक बोहरा र कुशल रुपाखेतीले २/२ तथा प्रकाश जैसी र सन्दीप खत्रीले समान १/१ विकेट लिनुभयो । फाइनल खेलको प्लेयर अफ दी म्याच सन्तोष भट्ट घोषित हुनुभयो ।

प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी लिटल फ्लावरका दीपक बोहरा घोषित हुनुभयो । उहाँले नगद १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नुभयो । त्यस्तै उत्कृष्ट ब्याट्सम्यान धनगढी क्रिकेट एकेडेमीका राजु रिजाल, उत्कृष्ट बलर घोषित हुनुभएका धनगढी क्रिकेट एकेडेमीका हिक्मत महरा प्रतियोगिताका उदीयमान खेलाडीसमेत बन्न सफल हुनुभयो । उहाँहरूले जनही सात हजार पाँच सय नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नुभयो ।

फागुन ६ गतेबाट सुरु भएको टी-२० क्लब क्रिकेट प्रतियोगितामा देशका विभिन्न ६ वटा क्लबहरू बुंगल क्रिकेट क्लब बझाङ, देउखुरी वारियर्स दाङ, धनगढी क्रिकेट एकेडेमी धनगढी कैलाली, महेन्द्रनगर क्रिकेट एकेडेमी महेन्द्रनगर कञ्चनपुर, लिटल फ्लावर क्रिकेट क्लब धनगढी कैलाली र कैलाली जिल्ला क्रिकेट क्लब धनगढीले सहभागिता जनाएका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?