रियल म्याड्रिड च्याम्पियन

हिमालय टाइम्स
Read Time = 3 mins

म्याड्रिड । स्पेनिस क्लब रियल म्याड्रिडले युरोपको प्रतिष्ठित क्लब फुटबल च्याम्पियन्स लिगको उपाधि जितेको छ । इंग्लिस क्लब लिभरपुललाई १-० ले पराजित गर्दै रियलले कीर्तिमानी १४औँ पल्ट च्याम्पियन्स लिगको उपाधि जितेको हो । पेरिसमा शनिबार राती भएको खेलमा रियललाई च्याम्पियन बनाउन ब्राजिली विंगर फरवार्ड भिनिसियस जुनियरले निर्णायक गोल गर्नुभयो ।

उहाँले दोस्रो हाफको ५९औँ मिनेटमा फेडे भाल्भेर्डेको पासमा खेलको एकमात्रै गोल गर्नुभएको थियो । ५९औँ मिनेटमा काउन्टर अट्याकमा फेडे भाल्भेर्डेको पासमा एलेक्सान्डर आर्नाेल्डलाई बिट गर्दै भिनिसियस जुनियरले ६ यार्ड बक्सबाट निर्णायक गोल गर्नुभएको थियो ।

त्यसबाहेक दुवै टोलीका खेलाडीले खेलमा गरेका पटक-पटकका प्रयास सफल हुन सकेनन् । सन् २०१८ पछि च्याम्पियन रियलले चार वर्षपछि च्याम्पियन्स लिगको उपाधि उचालेको हो । यो रियलको कीर्तिमानी १४औँ उपाधिसमेत हो । पछिल्ला नौ सिजनमा मात्रै रियलले पाँचौँपटक च्याम्पियन्स लिग उपाधि जितेको छ ।

रियलसँगको हारसँगै लिभरपुलले यो सिजन तीन उपाधि जित्न सकेन । यो सिजन चार उपाधि जित्ने संघारमा रहेको लिभरपुल दुई उपाधिमा खुम्चियो । लिग कप र एफए कप जितेको लिभरपुल प्रिमियर लिग र च्याम्पियन्स लिगको उपाधिबाट वञ्चित बन्यो ।

लिभरपुलका प्रशिक्षक योर्गन क्लोपले आफूले बलियो गरी पुनरागमन गर्ने विश्वास लिएको बताउनुभयो । ‘हामी फेरि पुनरागमन गर्छौँ भन्नेमा मलाई एकदमै विश्वास छ । खेलाडीहरू प्रतिस्पर्धी छन् । अर्को सिजनमा हामीसँग एउटा उत्कृष्ट समूह हुनेछ,’ क्लोपले फाइनलपछि भन्नुभयो, ‘हामीले यस सिजनमा दुई उपाधि उचालिसके पनि ड्रेसिङ रुममा कसैले यो सिजन राम्रो भएको महसुस गर्न पाएको छैन । हामीले राम्रो खेल खेलेका हौँ । तर, पूर्ण खेल खेल्न सकेनौँ । तर, एक गोलले पछि परिसकेपछि भने हामीले सोचेको जस्तो खेल्न सकेनौँ ।’ एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?