नेपालको पुनरागमन बराबरी

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले टिमोर लिस्टेको यु-२३ टोलीसँगको मैत्रीपूर्ण खेलमा पुनरागमन बराबरी गरेको छ । एएफसी एसियन कप छनोटको तयारीमा कतारमा टिमोर लिस्टेको टोलीसँग नेपाली टोलीले २-२ को बराबरी खेलेको हो ।

कतारको दोहास्थित ग्रान्ड हमाद स्टेडियममा शनिबार राती भएको खेलमा टिमोर लिस्टेको यु-२३ टोलीले २-० को अग्रता लिए पनि सानदान पुनरागमन गर्दै नेपाली टोलीले खेल बराबरीमा टुंग्याएको थियो । नेपाल पहिलो हाफमै दुई गोलले पछि परेको थियो । दोस्रो हाफमा टोलीले दुई गोल फर्कायो ।

खेलको ४४औँ मिनेटमा टिमोर लिस्टेले नेपालविरुद्ध अग्रता बनाएको थियो । पहिलो हाफमो इन्जुरी समयमा विपक्षी टोलीले दोस्रो गोल थप्यो । दोस्रो हाफमा भने नेपाल खेलमा हावी देखियो । ५१औँ मिनेटमा दर्शन गुरुङले गोल गर्दै खेललाई २-१ को स्थितिमा ल्याउनुभयो । ७२औँ मिनेटमा नेपालले दोस्रो गोल थप्दै खेललाई २-२ गोलको बराबरीमा टुंग्याउनुभयो ।

प्रशिक्षक अब्दुल्लाह अलमुताइरीसँगको मनमुटावपछि नियमित कप्तान तथा गोलरक्षक किरण चेम्जोङसहित ११ खेलाडीको अनुपस्थिति रहँदा टोलीमा युवा खेलाडीहरूको बाहुल्यता रहेको छ । टोलीको कप्तानी नवयुग श्रेष्ठले गर्दै हुनुहुन्छ ।

प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले २३ सदस्यीय टोली घोषणा गर्नुभएको हो । नेपाली टोलीको गोलरक्षकमा दीप कार्की, विशाल सुनार र टिकेन्द्र सिंह थापा, डिफेन्डरमा विकास खवास, विकास तामाङ, गौतम श्रेष्ठ, राजन गुरुङ, शिव गुरुङ र सुमन अर्याल, मिडफिल्डरमा आकाश बुढा मगर, एरिक विष्ट, निरकुमार राई, पुजन उपरकोटी, रोशन राना मगर, सन्तोष तामाङ, सेसेहाङ आङ्देम्बे, सुनिल बल र सुरज ज्यू ठकुरी र फरवार्ड आयुष घलान, दर्शन गुरुङ, जर्ज प्रिन्स कार्की, मनिष डाँगी र नवयुग श्रेष्ठ हुनुहुन्छ ।

मुख्य प्रशिक्षक अलमुताइरीको कार्यशैलीमा असन्तुष्टि जनाउँदै वैशाख १३ गते प्रशिक्षणमा रहेका १० खेलाडीले बन्द प्रशिक्षण छोड्नुभएको थियो । उक्त विरोध गर्ने रोहितसँगै बन्द प्रशिक्षणमा अनुपस्थित सिनियर खेलाडीहरू सुजल श्रेष्ठ, अनन्त तामाङ, विशाल राई, विमल घर्तीमगर, दिनेश राजवंशी, विशाल श्रेष्ठ, अञ्जन विष्ट, सुमन लामालाई टोलीबाट हटाइएको छ ।

एफसी छनोटमा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् । नेपालको समूहको छनोट खेलहरू कुवेतमा आयोजना हुनेछन् । छनोट खेलहरू जुन ८ देखि १४ सम्म हुनेछन् । नेपालले जुन ८ मा जोर्डनसँग खेल्दै छनोटको सुरुवात गर्नेछ । दोस्रो खेलमा नेपालले जुन ११ मा कुवेतको सामना गर्नेछ । नेपालले जुन १४ मा इन्डोनेसियाविरुद्ध खेल्नेछ । हरेक समूहका शीर्ष टोली र पाँच समूहको उत्कृष्ट दोस्रो टोली चीनमा आयोजना हुने एसियन कप २०२३ मा छनोट हुनेछन् ।

टिमोर लिस्टेपछि नेपालले जेठ २० मा ओमानसँग मैत्रीपूर्ण खेल्ने तालिका रहेको छ । यी दुवै खेललाई फिफाले अन्तर्राष्ट्रिय मैत्रीपूर्णको मान्यता दिएको छैन । नेपाली टोली कतारबाटै एसियन कप छनोटका लागि कुवेत जानेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?