बेलायतमा नेपाली फिल्म फेस्टिभल हुने

Read Time = 4 mins

काठमाडौं । बेलायतको राजधानी लण्डनमा थर्ड आईको आयोजनामा पाँच दिने ‘नेपाली फिल्म फेस्टिभल इन लण्डन २०२२’ आयोजना हुनेभएको छ । शनिबार काठमाडौंमा आयोजना गरिएको पत्रकार सम्मेलनमा यो महोत्सवको नेपाल व्यवस्थापनको जिम्मा लिएको संगीक्षा फिल्मस् इन्टरटेनमेन्ट प्राइभेट लिमिटेडका अध्यक्ष मनोज केसीले पाँच दिनसम्म १० वटा फिल्म प्रदर्शन गरिने जानकारी दिनुभयो ।

उहाँले नेपाली परिवेशको, नेपाललाई चिनाउने फिल्मलाई लण्डनमा देखाउने बताउनुभएको छ । यसले नेपाली फिल्मको बजार विस्तारमा त टेवा पुग्ने र नेपाली कला, संस्कृतिलाई समेत प्रवद्र्धन गर्ने अध्यक्ष केसीले बताउनुभएको छ । उहाँका अनुसार महोत्सवको अन्तिम दिन फिल्मकर्मीलाई सम्मानितसमेत गरिनेछ ।

थर्ड आईका प्रमुख विकास देवकोटाको सक्रियतामा आयोजना हुन लागेको महोत्सवमा नेपालबाट करिब ४० जनाको हाराहारीमा फिल्मकर्मी, पत्रकार, विज्ञापनदाता तथा विभिन्न क्षेत्रका मानिस सहभागी हुनेछन् । महोत्सव सेप्टेम्बरमा हुने आयोजकले जानकारी दिएको छ । यसका लागि तयारी सुरु भइसकेको बताइएको छ । आयोजकले अब महोत्सवमा प्रदर्शन गरिने फिल्महरूको छनोट प्रक्रिया सुरु गरिएको बताएको छ ।

युट्युबमा नआएका, विभिन्न टेलिभिजन च्यानलबाट प्रसारण नभएका तर हलमा मात्र रिलिज भएका फिल्ममध्येबाट १० वटा फिल्मलाई महोत्सवमा सहभागी गराइनेछ । थर्ड आईका नेपाल च्याप्टर प्रतिनिधि हरि सिलवालले फेस्टिभललाई सभ्य र भव्य बनाउने गरी तयारी भइरहेको जानकारी गराउनुभयो । ‘विदेशमा हुने नेपाली कार्यक्रम अपेक्षानुरूप हुने नगरेको इतिहास छ । हामी यो कार्यक्रममा त्यो इतिहास बदल्ने प्रयास गर्छौँ,’ उहाँले भन्नुभयो, ‘यसैगरी देशबाहिर कार्यक्रम गर्दा आयोजकले मानिस अवैधानिक रूपमा छाड्ने गरेको गुनासो छ । हामीले त्यसो गरेको पाइएमा जे सजाय पनि भोग्न तयार छौं ।’

महोत्सव घोषणा कार्यक्रममा वरिष्ठ कलाकार नीर शाह, नायिका करिश्मा मानन्धर, निरुता सिंह, नायक सरोज खनाललगायतले शुभकामना दिनुभएको थियो । घोषणा कार्यक्रममा कलाकार नम्रता सापकोटा, गायक विक्रम जंग शाह, अभिनेता भुवन केसी, चलचित्र पत्रकार संघका निवर्तमान अध्यक्ष सन्दीप सापकोटा, फिल्म लेखक तथा समीक्षक सामिप्य तिमल्सेना, अभिनेता यशराज ग्राच, अभिनेत्री पुजना प्रधान, निर्देशक सम्झना उप्रेती रौनियार, वरिष्ठ फोटोग्राफर विकाश रौनियार, गायक यम बराल, कलाकार दमन रूपाखेती, कलाकार शुलेमान शंकर ‘इकु’लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?