आँखामा सरुको ‘रोशनी’ परेको प्रसंग

हिमालय टाइम्स
Read Time = 14 mins

✍️ तिलकप्रसाद लुइँटेल

दिनुपर्दा मानिसको मन अलिक चाम्रो भए पनि लिन पाउँदा राम्रो नै देखिन्छ अरे । पोहोर अर्थात् अठहत्तर सालको मंसिर चार गते बिहानै नचिनेका मोबाइलबाट फोन आयो । कुराकानी गर्दा फोन नम्बर नचिनेको भए पनि मानिस चिनेको नै लाग्यो । अझ नढाँटी भन्नुपर्दा नाम सुनेको सामु देखेको पनि हो तर धेरै जनाको बीचमा कुनै बेला देखेको हुनाले यही मानिस हो भन्न सक्नेगरी अनुहारको सम्झना भएन । ‘सरु बस्नेत बोल्दै छु सर, तपाईंलाई मेरो किताब दिन मन लागेको छ’ उताबाट भनेको सुनेपछि लिन पाउँदा रमाउने मेरो मन साँच्चै रमायो ।

बिहानको साढे सात बजे म हाम्रो घर नजिकैको मिलनचोकमा पुगेँ । मिलनचोकमै घर हुने साहित्यकार साथी दुर्गा अधिकारी भमरकोटे पनि उसरी नै बोलाइनुभएको रहेछ । हामी दुईजना भेट भएर हातका दस औंला जोडाजोड गर्दागर्दै भमरकोटेका मोबाइलमा फोन आयो उनै सरु बस्नेतको । काठमाण्डु आउँदा उनको बसाइ नजिकै नारायणचोकमा आफ्नै पारिवारिक घरमा हुँदोरहेछ भन्ने भेट भएपछि थाहा पाएँ । नाम याद थियो अब अनुहार पनि याद भयो । साथमा अरू एकजना साथी पनि हुनुहुन्थ्यो । उहाँको नाम मैले यस लेखमा नलेखेको देख्ता मसँग रिसाउनुहुन्छ होला । बिर्सिएपछि मेरो के चल्यो र ? यसै शब्दले उहाँसँग क्षमा पनि माग्दैछु ।

मिलनचोकमा लेखिका सरुकै आफन्तको चियापसल रहेछ । भेटघाटका लागि पसेपछि हामी पनि बोलाइयौं । इष्टमित्र चियापसलमा भेट भएपछि यसै पनि चिया खाइन्छ । यहाँ त पारिवारिक आफन्तको पनि सम्बन्ध भयो । अतिथि र आतिथेय दुवै पक्ष आफ्ना हुनाले त्यहीँ बसेर चिया पनि खायौं फोटो पनि खिच्यौं र किताब पनि लियौं । किताबको फोटो रचनाकारको सँगै राखिएको हुनाले शब्दमा त्यसको विवरण लेखिएन । किताबको नाम रोशनी, लेखिका सरु बस्नेत आवरणमा देखिएकै छ पुस्तक गजल संग्रह हो । लेखिका सरुकी छोरीको नामसँग मिलाएर पुस्तकको नाम रोशनी राखिएको रहेछ । पुस्तक सम्पूर्ण गजलप्रेमीहरूलाई समर्पित छ ।

हार्दिक शुभेच्छा सरुको रोशनीलाई शीर्षकमा चार पृष्ठ लामो शुभकामना चन्द्रप्रसाद न्यौपानेले लेख्नुभएको छ । त्यसैभित्र- ‘सरुका गजलका शेरहरूमा कतै खुसीका बहाव छन् भने कतै पीडाका आँधीबेहरी हुनहुनाएर आएको भेटिन्छ । आक्रोश, उद्वेग, कुण्ठा, पीडा, इष्र्या, द्वन्द्व, क्रान्ति हरेक पक्षले सर्जकलाई आक्रमण गरेका छन् ।’ लेखिएको छ र त्यस लेखका अरू सबै कुरा यस्तै पठनीय छन् । यसै उद्धरणले लेखिकाको लेखकीय स्वभाव र विषयवस्तुको झलक देखियो ।

दुई पृष्ठको शुभकामना डा.विदुर चालिसेको रहेको छ । त्यसमा- ‘जुनेली रातको रोशनी सिरसिरे बतासमा चल्छ । प्रेमिका प्रेमीको रोशनी अनुभव र आदर्शको सुमार्गमा सर्गमित बन्दछन् । भरिया रातको उज्यालोको रोशनीमा च्यातिएको बोरा सिलाएर बालुवा बोक्न बगर पुग्छ । श्रमिकको रोशनी आयमा गएर बज्रिन्छ ।’ लेखिएको छ र यस लेखबाट नेपाली जनजीवन, जीविका र वर्गीय आर्थिक अवस्थाका गजल लेखिए भन्ने पनि संकेत पाइयो ।

यसपछि एक पृष्ठको शुभकामना दिलु थापामगरको छ । त्यसमा- ‘इतिहासको आँखाबाट हेर्ने हो भने गीत महिला पात्रले आफ्नो भावना व्यक्त गर्ने माध्यम र गजल पुरुष पात्रले आफ्नो अनुभूति बाँड्ने साधन हो भनिन्छ’, भनेर लेखिएको छ र यस लेखनले स्रष्टालाई परम्परागत मान्यताभन्दा अलिक पृथक देखाइयो । लेखिकाको आफ्नै कुरा शीर्षकमा तीन पृष्ठको लेख छ । त्यस लेखको अन्तिम अनुच्छेद-‘मेरो पहिलो गजलसंग्र्रह रोशनी यति बेला तपाईंहरूको हातमा छ । आजसम्म यी भावनाहरू मेरा थिए । अब तपाईं पाठकहरूका भए ।’ भन्दै सुरु भएको छ र यहीँबाट लेखिकाको लेखन र विनयी बानीलाई पनि अनुमान गर्ने ठाउँ पाइन्छ ।

अबको पालो गजलहरू पढ्ने हो । म आफूले गजल लेख्न जानेको छैन । लेख्न नजानेपछि गजलका प्राविधिक शब्द पनि आउँदैनन् । पुस्तकमा संकलित गजलको संख्या एकसय एक रहेछ । सबै गजलहरू अक्षरशः पढियो । सबैका विषयमा लेख्न साध्य छैन । हरेकले एक-एक नयाँ विषय लिएर आएका छन् । गजलमा शीर्षक राख्ने सायद नियम छैन । हरेक गजल एक एक शीर्षकमा हुने थिए । सबै गजल राम्रा र अर्थपूर्ण छन् ।

मान्छे आशावादी हुन्छ र एक अर्कासँग स्नेहको सम्बन्ध अपेक्षा गर्छ । त्यसो भएमा जीवन उत्साही हुन्छ र उत्साहले सफलता दिन्छ भन्ने भाव बोकेको गजल संख्या एकको तेस्रो जोडी हरफको तल्लो पंक्तिमा- ‘लाग्छ कसरी मेरो जीवन सजिन्छ होला’ लेखिएको छ । गजल एकपछि दसवटा गजल बिराएर एघारमा आउँदा मानिसको अपमान गर्ने मानिसले अरूलाई दुःखी बनाउँछ । त्यतिमात्रै होइन, ऊ आफू पनि सुखी हुन सक्तैन भन्ने भाव बोकेको गजल छ । त्यसको तेस्रो जोडी पंक्तिको तल्लो हरफमा- ‘मेरो माया अगाध थियो लत्याएर तिमी गयौ’ भनेर लेखिएको छ । यी हरफ मननीय छन् ।

मानिसमात्रै होइन पशु पनि एक्लो जीवनमा रमाउन सक्तैन भन्ने भावना दसौँ गजलपछि अर्थात् एक्काईसौंमा देखिन्छ । यसमा लेखिकाले तेस्रो जोडी हरफका तल्लो हरफमा- ‘बिछोडिएको वेदनाले नराम्ररी रुवायो’ लेखेर जीवनमा भोग्नुपरेको वियोग कसैलाई पनि मञ्जुर छैन भन्ने भाव देखाइएको छ । जति नजिक रहेको हुन्छ उति नै उसले सुख वा दुःख जे दिए पनि धेरै दिन्छ भन्ने भाव एकतीसौं गजलले बोकेको छ । यो पनि जीवनसँग भएका मायाप्रीतिकै सम्बन्धको कुरा गर्ने गजल हो । यसका तेस्रो जोडी हरफका तल्लो पंक्तिमा ‘नजिकै सोच्थेँ अझै पर सयौं मेरा लागि’ लेखिएको छ । वास्तवमा नजिकबाट हानेका प्रहारको चोट कडा नै हुन्छ ।

समाजको अवस्था बदलिएको होस् अथवा मानिसको सोच बदलिएको होस् । मानिस स्वार्थी भएको पनि छ र अभावका बाध्यताले स्वभाव नष्ट गराएको पनि छ । यसै भावलाई देखाउँदै आमाबुबाप्रति अन्याय गर्ने छोराछोरीसँग असन्तुष्टि व्यक्त गर्ने गजल एकचालीसौं हो । त्यसका तेस्रो जोडीको तल्लो हरफमा ‘छोराबुहारी मिली ज्युँदै घाटमा जलाउँछौ भने’ लेखिएको छ । मानिस अचम्मको प्राणी हो । समय नहोउन्जेल इमानदार र सज्जन पनि हुन्छ तर मौका परेका बेलामा उसले आफ्नो रंग देखाउँछ । त्यसमा पनि यौन र धनमा विश्वास गर्न सकिने सम्भावना साह्रै न्यून हुन्छ भन्ने कुरा गजल एकाउन्नले देखाएको छ र त्यसको तेस्रो पद्यको दोस्रो पंक्तिले ‘निर्णय यो गर्छ कि प्रेमिकालाई साली बनाउने’ भनेको छ ।

मानिस संसारको सिक्ने रुचि र बाध्यता भएको प्राणी हो । नसिके सास फेर्न वा खान पनि जान्दैन, सिकेपछि जान्न बाँकी रहँदैन तर त्यति हुँदाहुँदै पनि मानिसको मन मानिसले जान्न सक्तैन । यही सबै भावनालाई विषयगत रूपमा समेटेको गजल ८१औं हो । यसको तेस्रो जोडी हरफको दोस्रो पंक्तिमा हेर्दा ‘सदैव यस्ता कुकुरदेखि सावधान हुनुपर्छ’ लेखिएको छ । मानिसले नीचता देखाउन लाग्यो भने मानिस अन्य प्राणीलाई उदाहरण दिन्छ । जब कि त्यस प्राणीले मानिसबाट सिकेको होइन, न त उसले कसैलाई धोका दिन केही काम गरेको हो । अरू प्राणी स्वभावतः प्राकृतिक हुन्छ ।

नाना प्रकारका दिवस र अनेकौं चिराका आरक्षण मानिसले नै बनाएको हो । ती दिवसहरूले लक्ष्यमा रहेका समूहलाई कति हित गरेको छ र आरक्षणले लक्षित र आवश्यक परेका व्यक्तिलाई हित गरेको छ त भन्न प्रश्न उठाउँदै एकहत्तरौं गजलमा छ । त्यसका तेस्रो जोडी हरफका दोस्रो पंक्तिमा ‘नारी, बालदिवस उल्लासमयका दिवस’ भनिएको छ । नीति र नेता बदलेरमात्रै होइन, नियत बदलेर चाहिँ नियति बदलिन्छ भन्ने आशय हो ।

विदेशीसँग नेताले माग्छन्, उहिलेदेखि मागेकै छन् र विविध नाम एवं बहानामा मागेका छन् । मागेर पनि सर्वसाधारणलाई विदेशी ऋणमा डुबाएकै छन् । विदेशलाई बौद्धिक र शारीरिक शक्तिले पोसेकै छन् । देश गरिब छ भन्न कसैलाई लाज हुँदैन तर जनतामध्ये कसैलाई आफू गरिब छु भन्न मुख लाग्दैन । देशको गरिबी नलुकेको भए पनि व्यक्तिगत गरिबीलाई डोकाले छोप्ने प्रयास गरिन्छ भन्ने भाव गजल एकासीमा छ ।

त्यसको तेस्रो जोडी हरफको पछिल्लो पंक्तिमा ‘गरिबको बाध्यतामै बिकाइन्छ यहाँ’ लेखिएको छ । मानिसको स्वभाव स्वार्थी मात्रै होइन, त्यागी पनि छ र यसै स्वभावमा गौरव पनि छ । स्नेहमा समर्पण हुँदै आफूलाई मेटाउनेहरु गुनासो गर्दैनन्, गौरव मान्छन् भन्ने भाव बोकेको एकानब्बेऔँ गजलको तेस्रो पद्यको तल्लो हरफ यसो भन्छ ‘झर्नेछ आँसु हर्षको पानी बनेर’ बाँकी कुरा किताबमै पढ्न अनुरोध ।

देशका धार्मिक, सांस्कृतिक, पारम्परिक आस्थाका सामग्री हाम्रा पुर्खाको लामो समयको कमाइ हो । यिनै उपलब्धिले हाम्रो गौरवमय इतिहास बोकेका छन् । यिनीहरूको संरक्षण होउन्जेल हाम्रो कुनै ठूलो नोक्सान हुँदैन, यिनीहरू ध्वस्त भएका बेला हामीसँग केही बाँकी रहँदैन भन्ने एकसय एकौं गजल छ र यसका तेस्रो जोडी कथनको पछिल्लो हरफले ‘जता जाऊँ बिहानमा भई खुशी महालिंग गान गाऊँ हामी’ भनेको छ । यही नै यस गजलसंग्रहको अन्तिम गजल हो ।

जुँघा चल्दा कुरो बुझिन्छ भनेझैँ दस दसको अन्तरालमा रहेका गजलको तेस्रो पद्यको तल्लो हरफमा जे भने जस्तो लाग्यो यहाँ त्यही उल्लेख गर्ने प्रयास गरियो । पुस्तकको पछिल्लो आवरणका भित्रपटि सरु बस्नेतको आकर्षक फोटो र साहित्ययात्रालाई संकेत गर्ने सानो कथन छ । आवरणको बाहिरी भागमा अर्थात् अन्तिम पृष्ठमा गजलहरूका विषयमा दुई अनुच्छेद पोष्टराज चापागाईंको विचार छ भने बाँकी आधा पृष्ठमा नारी स्रष्टाको सम्मानमा सावित्रा लुइटेल घिमिरेको छोटो अभिव्यक्ति छ ।

साहित्यिक चौतारी नेपाल प्रकाशक रहेको पुस्तक सर्वतोभावले सुहाउँदो छ र आइएसबिएन नम्बरको बारका अघि प्रकाशक संस्थाको लोगो र पछाडि १ सय ५० रुपैयाँ मूल्य देखाएर पुस्तक समाप्त भएको छ । यो सानो मूल्य तिरेर पाठकले पढ्दा भरपूर मूल्य असुल भएको अनुभव हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?