काठमाडौंको फोहोरबारे अध्ययन गर्न कार्यदल गठन

हिमालय टाइम्स
Read Time = 7 mins

डिबी शर्मा/हिटा
काठमाडौं । काठमाडौं महानगरपालिका भित्रको फोहोर व्यवस्थापन गर्न कार्यदल बनाइएको छ । सोमबार बसेको पहिलो नगर कार्यपालिका बैठकले मेयर बालेन्द्र साहको नेतृत्वमा कार्यदल गठन गर्ने निर्णय गरेको हो । समितिमा उपप्रमुखसहित चारजना वडाध्यक्ष रहनेछन् । कार्यदलले महानगरको फोहोर व्यवस्थापन विकल्प खोज्नुका साथै उचित व्यवस्थापनका विषयमा अध्ययन गर्नेछ । समितिको बैठक आज (मंगलबार) बस्नेछ ।

काठमाडौं महानगरपालिकाले सडकका खाल्डाखुल्डी पुर्न भौतिक पूर्वाधार एम्बुलेन्स सञ्चालनमा ल्याउने भएको छ । सडकमा पर्ने खाल्डाखुल्डी पुर्ने, ढल निकास नियमित गर्ने जस्ता काम सात दिनभित्र सक्न दुईवटा भौतिक पूर्वाधार एम्बुलेन्स सुरु गर्ने निर्णय गरेको हो । नगरवासीको गुनासो सुन्न कल सेन्टर स्थापना गर्ने निर्णय पनि बैठकले गरेको छ । सडकमा खाल्डाखुल्डी परेको, पानी जमेको जस्ता गुनासो सुन्ने काम पनि यही कल सेन्टरले गर्नेछ ।

बैठकले निजी रेष्टुरेण्टहरूमा निःशुल्क शौचालय सञ्चालनमा ल्याउनेसमेत निर्णय गरेको छ । मेयर साहका अनुसार केही चेन रेष्टुरेण्टहरूसँग कुराकानी भएको छ । उनीहरू आफ्नो शौचालय सार्वजनिक शौचालयको रूपमा प्रयोग गर्न दिन तयार छन् । त्यस्ता रेष्टुरेण्टमा महानगरले संकेत चिन्ह राख्नेछ र सर्वसाधारणले निःशुल्क प्रयोग गर्न सक्नेछन् । केही रेष्टुरेण्ट व्यवसायीहरूसँग अनौपचारिक छलफलका क्रममा आफूले सकारात्मक प्रतिक्रिया पाएको मेयर साहले बताउनुभयो ।

मेयर साहको पहिलो निर्णय : नगर कार्यपालिका बैठकको प्रत्यक्ष प्रसारण
काठमाडौं महानगरपालिकाका नवनिर्वाचित नगर प्रमुख बालेन्द्र साहले नगर कार्यपालिकाको बैठक प्रत्यक्ष प्रसारण गर्ने पहिलो निर्णय गर्नुभएको छ । सुन्धारामा रहेको महानगरको कार्यालयमा पदभार ग्रहण गर्दै उहाँले नगर कार्यपालिकाको बैठकको प्रत्यक्ष प्रसारण गर्ने निर्णय गर्नुभएको थियो । पदभार ग्रहणपछि प्रतिक्रिया दिँदै उहाँले फोहोर व्यवस्थापनलाई प्राथमिकतामा राखेर काम सुरु गर्ने बताउनुभयो ।

फोहोर व्यवस्थापन नहुन्जेल खादा, माला र ‘सेलिब्रेसन’ नगर्ने उहाँले बताउनुभयो । यस्तै, उपमेयर सुनिता डंगोलले पनि सोमबार नै पदभार ग्रहण गर्नुभएको छ । सोमबार साँझ बसेको नगर कार्यपालिका बैठकको प्रत्यक्ष प्रसारण गरिएको थियो ।

म स्वतन्त्र भएकैले काम गर्न सहज हुन्छ भन्ने लागेको छ : मेयर साह
मेयर साहले आफू स्वतन्त्र भएकैले काम गर्न सहज हुने बताउनुभयो । पहिलो नगर कार्यपालिका बैठकमा उहाँले धेरैले स्वतन्त्र भएर काम गर्न अप्ठ्यारो हुने बताए पनि आफूलाई चाहिँ त्यही सहज हुने बताउनुभयो । ‘पार्टीको भए पो पार्टीलाई केही गर्नुपर्ने हुन्छ । कसैको पक्ष र विपक्ष भइन्थ्यो,’ उहाँले भन्नुभयो, ‘म स्वतन्त्र भएकाले नगरवासीप्रति उत्तरदायी भए पुग्छ । हामी केही गर्न सकिन्छ कि भनेर आएका हौँ । तपाईंहरू पनि त्यसरी नै आउनुभएको होला । त्यसैले मैले सहज हुने ठानेको छु ।’

मेयर साह र प्रधानसेनापति शर्माबीच भेटवार्ता
काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन साहले नेपाली सेनाका प्रधानसेनापति महारथी प्रभुराम शर्मासँग भेटवार्ता गर्नुभएको छ । मेयरको शपथ लिएर कार्यभार सम्हालेलगत्तै सैनिक मुख्यालय जंगी अड्डा पुगेर मेयर साहले प्रधानसेनापति शर्मासँग भेटवार्ता गर्नुभएको हो । भेटमा मेयर साहले विपद् व्यवस्थापनलगायत राष्ट्रिय सुरक्षामा नेपाली सेनाले पुर्‍याउने योगदानको प्रशंसा गर्नुभयो भने प्रधानसेनापति महारथी शर्माले मेयर साहलाई कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नुभयो । आगामी दिनमा महानगरपालिका र नेपाली सेनाबीच सहकार्यसमेत गरिने भएको छ ।

१६० जनप्रतिनिधिद्वारा शपथग्रहण
सोमबार महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूले शपथग्रहण गरेका थिए । सोमबार महानगरमा निर्वाचित १६० जनप्रतिनिधिले शपथग्रहण गरेका हुन् । राष्ट्रियसभा गृहमा मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले प्रमुखमा निर्वाचित बालेन्द्र साहलाई शपथ गराउनुभएको थियो ।

प्रमुख साहले मुख्य निर्वाचन अधिकृतबाट शपथ लिएपछि नेपाल भाषामा शपथको व्यहोरा पढ्नुभएको थियो । लगत्तै प्रमुख साहले उपप्रमुखमा निर्वाचित सुनिता डंगोल, ३२ वटै वडाका वडाध्यक्ष र वडा सदस्यलाई शपथ गराउनुभएको थियो । उपप्रमुख डंगोलले नेपाल भाषामा शपथ लिनुभएको थियो । समारोहमा नवनिर्वाचित १६० जनप्रतिनिधिलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?