तारा एयर विमान दुर्घटनाको कारण खराब मौसम भएको प्रारम्भिक निष्कर्ष

नारायण भण्डारी
Read Time = 14 mins

काठमाडौं । तारा एयरको विमान दुर्घटनामा मृत्यु भएकाहरूको शव काठमाडौं ल्याइएको छ । तारा एयरले विज्ञप्ति प्रकाशित गरी हालसम्म २२ मध्ये २१ जनाको शव फेला परेको जनाएको छ । सोमबार राति यो समाचार तयार पार्ने बेलासम्म मृतकमध्ये १० जनाको शव नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ । ‘शवहरू त्रिवि शिक्षण अस्पतालस्थित फरेन्सिक मेडिसिन विभागमा पोष्टमार्टमको लागि लगिएको छ’ तारा एयरका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा भनिएको छ । बाँकी ११ वटा शव प्रतिकूल मौसमका कारण आधार शिविरमा ल्याउन कठिन भइरहेको तारा एयरले जनाएको छ । उद्धार टोलीले एकजनाको शव खोजी गरिरहेको छ । त्यस्तै, संकलित शवको पोष्टमार्टम गरिसकेपछि परिवारलाई बुझाइने तारा एयरले जनाएको छ ।

आइतबार बिहान ९ः५५ मा पोखराबाट उडेको जहाज १०ः१५ मा मुस्ताङको जोमसोम विमानस्थलमा अवतरण गर्नुपर्ने थियो । तर, १०ः०७ बजेदेखि जहाज सम्पर्कविहीन भएको थियो । तारा एयरको ९ एन एइटी जहाज मुस्ताङको आकाशमा पुगिसकेपछि १० बजेर ७ मिनेटमा अन्तिमपटक जोमसोम विमानस्थलको टावरसँग सम्पर्कमा आएको थियो । थासाङ गाउँपालिका-२ सानुसरेमा आइतबार जहाज दुर्घटनामा परे पनि सोमबार बिहान फेला पारिएको थियो । जहाजमा इन्द्रबहादुर गोले, पुरुषोत्तम गोले, राजनकुमार गोले, मिक ग्र्याट, वसन्त लामा, गणेशनारायण श्रेष्ठ, रविना श्रेष्ठ, रश्मि श्रेष्ठ, रोजिना श्रेष्ठ, प्रकाश सुनुवार, मकरबहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुल्सादेवी तामाङ, अशोककुमार त्रिपाठी, धनुष त्रिपाठी, ऋतिका त्रिपाठी, युवी विल्नर र वैभवी बाण्डेकर रहेको तारा एयरलाइन्सको पोखरा कार्यालयले जनाएको छ । कार्यालयका अनुसार विमानमा क्याप्टेन प्रभाकर घिमिरे, सहपाइलट उत्सव पोखरेल र एयर होस्टेज किस्मी थापा हुनुहुन्थ्यो ।

प्रतिकूल मौसमका कारण तारा एयरको ट्वीनअटर विमान दुर्घटनाग्रस्त भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले खराब मौसमका कारण तारा एयरको विमान दुर्घटना भएको जानकारी दिनुभयो । संसद्को अन्तर्राष्ट्रिय समितिको सोमबारको बैठकमा दुर्घटनाग्रस्त जहाजका बारेमा समितिलाई जानकारी गराउँदै महानिर्देशक अधिकारीले खराब मौसमका कारण ‘राइट टर्न’ गर्नुपर्ने जहाजले ‘लेफ्ट टर्न’ गरेर भित्तामा ठोकिएको प्रारम्भिक अध्ययनले देखाएको बताउनुभयो ।

धनुषाका एकै परिवारका सातको मृत्यु
आइतबारको विमान दुर्घटनामा धनुषाका एकै परिवारका सातजना परेका छन् । उनीहरूको समेत मृत्यु भएको निश्चित भएपछि धनुषाको मिथिला विहारी वडा नं. ११ को लोटा गाउँ शोकमग्न भएको छ । जहाजमा सवार १३ नेपालीमध्ये धनुषाको एकै परिवारका सातजना परेपछि टोल नै पीडामा परेका छन् । मुक्तिनाथ दर्शनका लागि घरका वृद्ववृद्वा आफन्तहरूलाई लिएर जाने क्रममा मिथिला नगरपालिका-११ तुल्सी पाटो (लोटा) निवासी नेकपा एसका जिल्ला कमिटी सदस्यसमेत रहनुभएका राजनकुमार गोले उहाँका बुबा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजू सुकुमाया तामाङसहित सवार रहेको परिवारजनले पुष्टि गरेका छन् । परिवारजनका अनुसार उहाँहरू मुक्तिनाथ दर्शनका लागि विमानबाट जोमसोम जाँदै हुनुहुन्थ्यो ।

स्थानीयका अनुसार राजन भर्खरै सम्पन्न निर्वाचनमा आफ्ना पार्टीका उम्मेदवारको प्रचार प्रसारका लागि श्रीमती र छोरा छोरीसहित गाउँ आउनुभएको थियो । सोही क्रममा बुवाआमा, काकाकाकी र मामा–माइजू सहितलाई लिएर तीर्थयात्रा गर्ने उहाँको योजना थियो । अधिकांश समय काठमाडौंमै बस्ने उहाँले निर्वाचनपछि श्रीमती र छोरा छोरीलाई काठमाडौं फर्कन लगाएर आफू भने वृद्ववृद्वा परिवारजनसँगको तीर्थयात्रा गर्न भन्दै पोखरातर्फ लाग्नुभएको थियो । गाउँमा पनि घर बनाइरहेको राजनको घर निर्माण अन्तिम चरणमा छ । उहाँका श्रीमती एक छोरा र एक छोरी हुनुहुन्छ ।

दुर्घटना छानबिन गर्न पाँच सदस्यीय समिति गठन
सरकारले आइतबार भएको तारा एयरको विमान दुर्घटनाको कारण पत्ता लगाउन पाँच सदस्यीय आयोग गठन गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वरिष्ठ एरोनटिकल इञ्जिनियर रतिशचन्द्र लाल सुमन अध्यक्ष तथा दुर्घटना जाँच इञ्चार्ज रहने गरी आयोग गठन गरेको हो । आयोगका सदस्यमा क्याप्टेन दीपु ज्वार्चन, वरिष्ठ मेन्टिनेन्स इञ्जिनियर उपेन्द्र लाल श्रेष्ठ, वरिष्ठ मौसमविद् मणिरत्न शाक्य र मन्त्रालयका प्राविधिक सहसचिव बुद्धिसागर लामिछाने रहनुभएको छ । यो समितिलाई दुर्घटनाको कारण पत्ता लगाई भविष्यमा यस्ता घटना दोहोरिन नदिने उपाय सिफारिस गर्ने कार्यादेश रहेको मन्त्रालयका सहसचिव होमप्रसाद लुइँटेलले जानकारी दिनुभयो ।

नेपालमा हवाई दुर्घटनाको डरलाग्दो इतिहास
नेपालको हवाई क्षेत्र असुरक्षित भएको विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्था तथा निकायहरूले बेला-बेलामा प्रतिवेदनहरू सार्वजनिक गरिरहेका छन् । यस्तैमा आइतबार पनि अर्को अकल्पनीय दुर्घटना हुन पुगेको थियो । नेपालमा हवाई सेवा सुरु भएको ७४ वर्ष पूरा भइसकेको छ । अहिलेसम्म झण्डै १०० वटा दुर्घटनामा ९०० जनाको हाराहारीमा मानवीय क्षति भएको छ ।

नेपालको भौगोलिक अवस्थाका कारण धेरैजसो हवाई दुर्घटनाहरू हुने गरेका भए पनि पछिल्ला दिनहरूमा यसका कारण खराब मौसम, विमान चरासँग ठोक्किनु, प्राविधिक कारण लगायतबाट एकपछि अर्को दुर्घटना थपिने गरेको विभिन्न अनुसन्धानले देखाएको छ । नेपालमा पहिलो विमान दुर्घटना विसं २०१२ मा भएको थियो । कालिंगा एयरको यो दुर्घटनामा दुई जनाको निधन भएको थियो । त्यस्तै, विसं २०१३ साल जेठ १३ मा अर्को दुर्घटना भयो । इण्डियन एयरलाइन्सको यस विमान दुर्घटनामा १४ जना यात्रीको दुःखद निधन भएको थियो । त्यसपछि साना–ठूला दुर्घटना थपिँदै गए । यस्तै, विसं २०४८ मा रसुवा जिल्लाको घ्याङफेदीमा थाई एयरवेजको विमान दुर्घटना हुँदा ११३ जनाको मृत्यु भएको थियो । यो पनि हवाई दुर्घटनाको इतिहासमा धेरै मानवीय क्षति हुन पुगेको दुर्घटनाका रूपमा रहेको छ । नेपालको विमान दुर्घटनाको इतिहास केलाउँदा सबैभन्दा ठूलो र बढी मानवीय क्षति भएको दुर्घटना आजभन्दा २९ वर्ष अगाडि विसं २०४९ साल असोज महिनाको १२ गते ललितपुरको भट्टेडाँडामा भएको दुर्घटनालाई लिन सकिन्छ । पाकिस्तानबाट नेपाल आउँदै गरेको पाकिस्तान इन्टरनेसनल एयरलाइन्सको उक्त विमान दुर्घटनामा ३६ जना नेपाली नागरिकसहित विमानमा सवार सबै १६७ जना यात्रीको दुःखद निधन भएको थियो ।

२०६५ साल असोज २२ गते सोलुखुम्बु जिल्लाको लुक्लामा यति एयरलाइन्सको विमान दुर्घटना भयो । यसमा १८ जना यात्रीको मृत्यु भएको थियो । २०६७ सालको भदौ ८ गते मकवानपुर जिल्लाको शिखरपुरस्थित तोरीबारीमा अग्नि एयरको विमान दुर्घटना हुँदा १४ जना यात्रीको निधन भयो । ०६७ कै मंसिर २९ गते ओखलढुंगामा तारा एयरको विमान दुर्घटना भयो । यसमा २२ जना यात्रीले ज्यान गुमाउनुप¥यो । यस्तै, विमान दुर्घटनाको शृंखला ०६८ असोज ८ गते पनि दोहोरियो । ललितपुरको कोटडाँडामा भएको यस दुर्घटनामा १९ जनाको मृत्यु भएको थियो ।

त्यस्तै, ०६८ सालकै कात्तिक १ गते नेपालगन्जबाट काठमाडौं आउँदै गरेको नेपाली सेनाको विमान दुर्घटना हुँदा ६ जनाको मृत्यु भयो । २०६९ जेठ १ गते अग्नि एयरको विमान जोमसोममा दुर्घटना भयो । १५ जनाले यसमा ज्यान गुमाए । ०६९ असोज १२ गते सीता एयरको विमान दुर्घटना काठमाडौं उपत्यकाभित्रै मनोहरा खोला किनारमा भएको र यसमा १९ जनाको निधन भएको थियो । भक्तपुरको मनोहरा फाँटमा भएको सीता एयरलाइन्सको विमान पनि ०६९ असोज १२ गते नै दुर्घटना भयो । यस अर्थमा त्यो दिनलाई विमान दुर्घटनाको इतिहासमै कालो दिनका रूपमा लिन सकिन्छ ।

यस्तै ०७० फागुन ४ मा भएको नेपाल वायु सेवा निगमको विमान दुर्घटनाले नेपालको हवाई यातायातमा अर्को ठूलै चुनौती थपिदियो । अर्घाखाँची जिल्लामा भएको यस दुर्घटनामा १८ जनाले ज्यान गुमाएका थिए । ०७२ फागुन १२ गते पनि विमान दुर्घटना भयो । तारा एयरको यो विमान पोखराबाट जोमसोमका लागि उडेको थियो । म्याग्दीमा दुर्घटना भएको यस विमानमा २३ जना यात्रीहरूको निधन भएको थियो । ०७४ फागुन २८ गते नेपाली विमान इतिहासमा सबैभन्दा दुःखद दिनका रूपमा लेखिएको छ । बंगलादेशको ढाकाबाट नेपालका लागि आएको युएस बंगला ७३८ एयर क्राफ्ट विमान अवतरणको क्रममा रनवेमा नै दुर्घटनाग्रस्त भयो ।

विमानमा चालक दलका चार सदस्यसहित ७१ जना यात्री सवार रहेका थिए । जसमध्ये केहीलाई घटनास्थलबाट जीवित नै उद्धार गरिए पनि ५१ जना यात्रीको दुःखद निधन भएको थियो । २०७५ फागुन १५ गते डाइनेष्टीको हेलिकोप्टर ताप्लेजुङको फुङलिङ नगरपालिका १० को तारेढुंगा भिरमा भएको हेलिकोप्टर दुर्घटनामा संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको दुःखद निधन भएको थियो । त्यसयताको सबैभन्दा ठूलो हवाई दुर्घटना आइतबार भएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?