वीरेन्द्र-ऐश्वर्य उद्यान अन्तिम चरणमा

हिमालय टाइम्स
Read Time = 3 mins

बागलुङ । बागलुङ बजारभित्र अवस्थित वीरेन्द्र-ऐश्वर्य उद्यान पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ । अहिले उद्यानमा फूलका विरुवा र दुबो रोप्ने, ढुंगा छाप्ने र विद्युतीकरणको काम भइरहेको छ ।

लामो समयदेखि अस्तव्यस्त बनेको उद्यानलाई नयाँ र आधुनिक शैलीमा पानीको फोहोरासहित पुनः निर्माण थालिएको थियो । उद्यान पुनः निर्माणको अहिले ६६ प्रतिशत काम पूरा भइसकेको छ भने एक महिना ठेक्का म्याद थपेर बाँकी काम सम्पन्नपश्चात नगरपालिकाले लिने गरी काम भइरहेको बागलुङ नगरपालिकाका इञ्जीनियर सोविन घर्तीले जानकारी दिनुभयो । “पूर्वाधार निर्माणको काम सबै सकिएको छ, अहिले विद्युतीकरण, फूल रोप्ने, दुबो लगाउने तयारीमा छौँ”, उहाँले भन्नुभयो, “असार मसान्तसम्म सबै काम सकिनेछ, उद्यान निकै पृथक र आधुनिक शैलीमा निर्माण भएको छ, बागलुङ आएका पर्यटकलाई समेत यसले आकर्षण गर्ने छ ।”

स्थानीय सुमन रानाले भन्नुभयो “बागलुङ बजारमा एकैछिन विश्राम गरौं भन्ने कुनै ठाउँ थिएन, उद्यान कुरुप बनेपछि झनै समस्या थियो, यो कोलाहल बिर्साउने ठाउँका रुपमा विकास भएको छ”, उहाँले भन्नुभयो । नगरपालिकाले एए कन्स्ट्रक्शनसँग ८४ लाखमा चार महिनामा उद्यान पुनःनिर्माण गर्ने गरी ठेक्का सम्झौता गरिएको थियो । गत वैशाख ३ गतेसम्म सक्नुपर्ने उद्यान अहिले असारसम्म म्याद थपेर काम सक्ने निर्माण कम्पनीको तयारी छ ।

तत्कालीन राजा वीरेन्द्र र रानी ऐश्वर्यको सालिकसहित उद्यानको सौन्दर्यकरण तथा स्थापना गरिएको थियो । विसं २०६२÷६३ को जनआन्दोलनको क्रममा उद्यानभित्रका वीरेन्द्र–ऐश्वर्यको सालिक फुटाइएपछि उद्यान क्रमशः कुरुप हुँदै आएको थियो ।

उद्यानको मुख्य भागमा पानीको फोहोरा र विद्युतीकरण हुनेछ भने पदमार्गमा ताराखोलाको स्लेटढुङ्गा छापिएको छ । उद्यान वरपर विभिन्न फूल र बिरुवा रोपिने छ । उद्यान पुनःनिर्माण अन्तिम चरणमा पुगेपछि बागलुङ बजारवासी खुसी भएका छन् । रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?